ग्यास अभाव हुन नदिन आयल निगमको निर्देशन, आयात र भण्डारण पूर्ण क्षमतामा सञ्चालन गर्न आदेश
ग्यास अभाव हुन नदिन आयल निगमको निर्देशन, आयात र भण्डारण पूर्ण क्षमतामा सञ्चालन गर्न आदेश
आयातदेखि बजार वितरणसम्मका तीनवटै चरण एकीकृत रूपमा परिचालन गरिने, उपभोक्तालाई अनावश्यक सञ्चिति नगर्न आग्रह
काठमाडौं, मंसिर ९ । आम उपभोक्तालाई खाना पकाउने एलपी ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न नेपाल आयल निगमले आयातदेखि बजार वितरणसम्मका सबै चरण पूर्ण क्षमतामा सञ्चालन गर्न एलपी ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ ।
निगमको एलपी ग्यास तथा एभिएसन विभागले मिति २०८३/०८/०८ मा जारी गरेको पत्रमार्फत देशभर ग्यासको आपूर्ति व्यवस्था थप सहज, नियमित र प्रभावकारी बनाउन उद्योगहरूलाई विभिन्न निर्देशन दिएको हो ।
निर्देशनअनुसार सबै उद्योगले बजारको मागअनुसार ग्यासको आयात अधिकतम रूपमा बढाउनुपर्नेछ । साथै, भन्सारमा रहेका ग्यास बुलेटहरू समयमै छुटाएर आपूर्ति प्रणालीमा ल्याउन पनि निगमले भनेको छ ।
भण्डारणतर्फ उद्योगहरूले आफ्नो भण्डारण क्षमता पूर्ण रूपमा उपयोग गरी पर्याप्त ग्यास मौज्दात राख्नुपर्ने निर्देशन छ । त्यसैगरी, ग्यास विक्रेता तथा बजारमा रहेका सिलिन्डरहरू पूर्ण क्षमतामा भरेर उपभोक्तासम्म नियमित आपूर्ति सुनिश्चित गर्न पनि उद्योगहरूलाई भनिएको छ ।
यस पहलअन्तर्गत ग्यास आपूर्ति व्यवस्थाका तीनवटै महत्त्वपूर्ण पक्ष एकीकृत रूपमा परिचालन गरिनेछन्:
- आयात वृद्धि: बजारको मागअनुसार आयात बढाउने र भन्सारमा रहेका ग्यास बुलेट समयमै छुटाउने
- भण्डारण व्यवस्थापन: भण्डारण क्षमता पूर्ण रूपमा उपयोग गरी पर्याप्त मौज्दात राख्ने
- बजार वितरण: विक्रेतामार्फत सिलिन्डर पूर्ण क्षमतामा भरी उपभोक्तालाई सहज रूपमा उपलब्ध गराउने

सरकारको प्राथमिकता आपूर्ति शृङ्खलामा कुनै अवरोध नआओस् र आम नागरिकले नियमित रूपमा ग्यास पाऊन् भन्ने रहेको निगमले जनाएको छ । आयात, भण्डारण र वितरणबीच प्रभावकारी समन्वय भएमा बजारमा आपूर्ति व्यवस्थापन थप व्यवस्थित हुने अपेक्षा गरिएको छ
निगमले आम उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न, अनावश्यक रूपमा सिलिन्डर सञ्चिति नगर्न र ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ । सहज आपूर्ति, व्यवस्थित वितरण र उपभोक्ताको हित संरक्षण सरकारको प्राथमिकता भएको निगमले जनाएको छ ।
