Sep 22 2026 | २०८३, असोज ६ गते

दिल्लीबाट फर्किए अर्थमन्त्री वाग्ले: भारतसँग व्यापार, लगानी र ऊर्जा सहकार्यमा कुराकानी

दिल्लीबाट फर्किए अर्थमन्त्री वाग्ले: भारतसँग व्यापार, लगानी र ऊर्जा सहकार्यमा कुराकानी

सीतारमण र जयशंकरसँग भेट, उद्योगी तथा प्राज्ञिक मञ्चमा पनि सहभागी

आइतबार, असोज ४ २०८३
आइतबार, असोज ४ २०८३
  • दिल्लीबाट फर्किए अर्थमन्त्री वाग्ले: भारतसँग व्यापार, लगानी र ऊर्जा सहकार्यमा कुराकानी

    काठमाडौँ, असोज ४ – भारत सरकारको निमन्त्रणामा तीन दिनको औपचारिक भ्रमणमा नयाँ दिल्ली पुगेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भ्रमण सकेर स्वदेश फर्किएका छन्। शनिबार दिल्लीबाट प्रस्थान गर्दा विमानस्थलमा नेपाली दूतावासका प्रभारी राजदूत सुरेन्द्र थापा र भारतीय परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले उनलाई बिदाइ गरेका थिए।

    बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले भ्रमणलाई स्वीकृति दिएको थियो। अर्थ तथा परराष्ट्र मन्त्रालयका अधिकारीसहित छ जनाको टोलीसँग मन्त्री वाग्ले बिहीबार बिहान काठमाडौँबाट दिल्ली उडेका थिए। मन्त्रीको जिम्मेवारी सम्हालेपछि यो उनको पहिलो विदेश भ्रमण हो।

    भ्रमणको केन्द्रमा भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँगको भेटवार्ता रह्यो। बिहीबार दिउँसो दिल्लीस्थित भारतीय अर्थ मन्त्रालयको कर्तव्य भवन परिसरमा भएको भेटमा दुवै पक्षका प्रतिनिधिमण्डलका सदस्य पनि उपस्थित थिए। दुई देशबीच सीमापार सम्पर्क, व्यापार विस्तार, लगानी र ऊर्जा क्षेत्रको सहकार्यका साथै बाढीपछिको पुनर्स्थापनामा लक्षित आर्थिक सहयोगका विषयमा छलफल भएको जनाइएको छ।

    भ्रमणकै क्रममा वाग्लाले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग पनि भेटवार्ता गरे। शुक्रबार बिहान उनी पूर्वविदेश सचिव श्याम शरणले आयोजना गरेको उच्चस्तरीय कूटनीतिक संवादमा प्रमुख अतिथि थिए भने साँझ भारत व्यापार प्रवर्द्धन संगठनका अध्यक्ष जावेद अशरफले राखेको कार्यक्रममा सहभागी भए। शनिबार उनले भारतीय उद्योग महासंघ (सीआईआई) को व्यावसायिक मञ्चमा मुख्य वक्ताका रूपमा विचार राखे, जबकि दिल्ली स्कुल अफ इकोनोमिक्समा विकास अर्थशास्त्रबारे आयोजित गोष्ठीलाई पनि सम्बोधन गरे। दूतावासमा आयोजित संविधान दिवसको कार्यक्रम र प्रवासी नेपालीसँगको भेटघाटमा पनि उनी सहभागी भए।

    भ्रमणका क्रममा भएका छलफल उपलब्धिमूलक रहेको उनको भनाइ छ। दीर्घकालीन पूर्वाधार लगानी र भविष्यमा जलवायुजन्य जोखिमबाट जोगाउन सक्ने पुनर्निर्माणका योजनामा उनले विशेष जोड दिएका थिए। नेपालमा आएको विपद्को समयमा भारतले उद्धार, राहत र प्राविधिक सहयोगमा देखाएको तत्परताका लागि उनले औपचारिक रूपमा धन्यवाद पनि दिएका थिए।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट