४० दिन बित्यो, अध्ययन टोली अझै नाम खोज्दै
४० दिन बित्यो, अध्ययन टोली अझै नाम खोज्दै
अध्ययन टोली अझै नाम खोज्दै
काठमाडौं — रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा बाढी आएको ४० दिन नाघिसक्दा पनि कारण पहिचान गर्न गठित सरकारी विज्ञ समिति भने घटनाको नामकरणमै अल्झिएको छ।
चीनले बाढी आएको भोलिपल्टै अध्ययन टोली प्रभावित क्षेत्रमा पठाएर काम थालेको थियो। नेपालतर्फ भने घटनाको उद्गमविन्दुसम्म पुगेर अध्ययन गर्ने कामसमेत हुन सकेको छैन। गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अझै नामलाई अन्तिम रूप दिएको छैन।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढीको वैज्ञानिक अध्ययन तथा नामकरणका लागि जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको थियो, जसमा उत्तमबाबु श्रेष्ठ, भूगर्भविद् डा. मेघराज धिताल, जलविद्युत् पूर्वाधार विज्ञ डा. हरि पण्डित, विपद् जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरेल लगायत सदस्य रहेका छन्। समितिले बाढीको उद्गमस्थलदेखि सम्पूर्ण तटीय क्षेत्रसम्म पुगेर स्थलगत अध्ययन गर्नुपर्ने भए पनि यो कार्य हालसम्म सुरुसमेत हुन सकेको छैन।
जल तथा ऊर्जा आयोग सचिवालयका सहसचिव टिका बरालका अनुसार हालसम्मको छलफलमा 'ग्लेसियर रक एभलान्स', '२०८३ सालको लाङटाङ महाविपत्ति', 'हिमबाढी', 'आइस रक एभलान्च/ल्यान्डस्लाइड' र 'रसुवा भोटेकोशी महाविपद्' लगायतका नाम चर्चामा छन्। "यो विश्वमै दुर्लभ घटना हो। यसको विस्तृत अध्ययन नगरी निचोडमा पुग्न सकिँदैन। जलवायु विपद्को सबै वैज्ञानिक आधार र प्रमाणहरू संकलन गरिसकेपछि मात्र उपयुक्त नामकरण गरिनेछ," बरालले भने।
मन्त्रालयले यस बाढीलाई सामान्य प्राकृतिक बाढी नभई सम्भावित 'शृंखलाबद्ध विपद्'का रूपमा अध्ययन गर्नुपर्ने जल तथा ऊर्जा आयोगको सचिवालयको प्रस्तावका आधारमा वैज्ञानिक अध्ययन अगाडि बढाउने निर्णय गरेको थियो, जसमा विनाशकारी बाढीको उत्पत्ति, यससँग जोडिएका हिमाली भू–जोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे समेत अध्ययन गरिनेछ।
बाढी आएको ४० दिन नाघिसक्दा पनि अध्ययन टोली उद्गमस्थलसम्म पुगेर स्थलगत अध्ययन गर्न नसक्नु र नामकरणमै अल्झिरहनुले सरकारको वैज्ञानिक अनुसन्धान प्रक्रियाको गतिप्रति प्रश्न उठेको छ।
