देशको जेठो उद्योग जुट मिल पुनः सञ्चालनतर्फ
देशको जेठो उद्योग जुट मिल पुनः सञ्चालनतर्फ
विराटनगर, ९ मंसिर — लामो समयदेखि बन्द रहेको देशको जेठो उद्योग विराटनगर जुट मिल पुनः सञ्चालनमा ल्याउन सरकारले पहल थालेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री ई. दीपककुमार साहले कार्यभार सम्हालेको तीन महिनाभित्रै मन्त्रालयको समन्वयमा विराटनगर जुट मिल लिमिटेडले आज (२०८३ मंसिर ९ गते) रणनीतिक लगानीकर्ताका लागि आशयपत्र (ईओआई) आह्वान गरेको छ।
मन्त्रालयको नीतिगत सहजीकरणमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत मिल सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको हो। जारी सूचनाअनुसार मिलको पुनरुत्थान, आधुनिकीकरण र दीर्घकालीन सञ्चालनका लागि अनुभवी तथा आर्थिक रूपमा सबल स्वदेशी तथा विदेशी लगानीकर्ताले ३५ दिनभित्र आशयपत्र पेस गर्नुपर्नेछ।
मुख्य योजना
- उत्पादन र रोजगारी: मिल सञ्चालनमा आएपछि दैनिक कम्तीमा १२५ मेट्रिक टन जुटजन्य सामग्री उत्पादन गर्ने लक्ष्य छ। पूर्ण क्षमतामा चल्दा ५,००० भन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाउने प्रक्षेपण गरिएको छ।
- दीर्घकालीन लिज र जग्गा: विराटनगर र दमकमा रहेको मिलको ६७ बिघा औद्योगिक जग्गा ३५ वर्षसम्मको दीर्घकालीन लिज वा साझेदारी अवधारणामा उपलब्ध गराइनेछ।
- लगानीकर्ताको सुरक्षा: मिलका पुराना वित्तीय, प्रशासनिक र श्रम दायित्वको जिम्मेवारी सरकारको सहयोगमा मिल व्यवस्थापनले नै लिने ('रिङ–फेन्सिङ') व्यवस्था गरिएको छ, जसले नयाँ लगानीकर्तालाई विगतको ऋण वा दायित्वको भार पर्ने छैन।
- सरकारी सहुलियत: औद्योगिक व्यवसाय ऐन २०७६ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ बमोजिम मेसिनरी आयातमा भन्सार सहुलियत, लाभांश फिर्ता लैजाने सुविधा र सुरुका वर्षमा लिज भाडामा सहुलियत पाइनेछ।

वि.सं. १९९३ (सन् १९३६) मा स्थापित नेपालको पहिलो आधुनिक उद्योग विराटनगर जुट मिल राजनीतिक अस्थिरता र व्यवस्थापकीय कमजोरीका कारण पटक–पटक बन्द हुँदै आएको थियो। आशयपत्र पेस गर्ने म्याद सकिएको एक महिनाभित्रै छनोट भएका योग्य रणनीतिक लगानीकर्तासँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरी मिल सञ्चालनको काम अघि बढाउने योजना रहेको छ।
