नौ दिन, नौ स्वरूप, नौ शक्तिको यात्रा
नौ दिन, नौ स्वरूप, नौ शक्तिको यात्रा
नवरात्रका नौ दिन, नवदुर्गाका नौ स्वरूप: जानिराखौँ कुन दिन कुन देवीको पूजा
आज घटस्थापना। घर–घरमा कलश बसेको छ, जमरा राखिएको छ। तर यो नौ दिनको यात्रा केवल कलश र जमराको मात्र हो र?
नवरात्रमा हामीले पूजा गर्ने नौ देवी को–को हुन्? कुन दिन कुन स्वरूपको आराधना गरिन्छ? किन नौ दिनसम्म नै शक्तिको उपासना गरिन्छ?
आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म आदिशक्ति दुर्गा भवानीका नौ स्वरूप नवदुर्गाको क्रमैसँग पूजा हुन्छ, र दसौँ दिन विजया दशमीमा टीका र जमरासँगै आशीर्वाद थापिन्छ।
हरेक दिन एक देवी, हरेक देवीमा एक शक्ति। आउनुहोस्, म सुनाउँछु यसको पछाडिको कथा।
पहिलो दिन प्रतिपदामा घटस्थापना गरी कलश र जमरा स्थापना गरिन्छ। यही दिन हिमालयकी पुत्री मानिने माता शैलपुत्रीको पूजा हुन्छ। उनलाई शक्ति, स्थिरता र दृढताकी प्रतीक मानिन्छ।
दोस्रो दिन द्वितीयामा माता ब्रह्मचारिणीको आराधना गरिन्छ। तपस्या र संयमकी देवी मानिने उनको पूजाले धैर्य, ज्ञान र आत्मबल बढ्ने विश्वास छ।
तेस्रो दिन तृतीयामा माता चन्द्रघण्टाको पूजा हुन्छ। मस्तकमा अर्धचन्द्र र घण्टाको आकार धारण गरेकी उनी साहस, शान्ति र कल्याणकी प्रतीक मानिन्छिन्।
चौथो दिन चतुर्थीमा माता कुष्माण्डाको पूजा गरिन्छ। मन्द मुस्कानले ब्रह्माण्डको सृष्टि गरेको विश्वास गरिने उनलाई स्वास्थ्य, ऊर्जा र समृद्धि दिने देवी मानिन्छ।
पाँचौँ दिन पञ्चमीमा कार्तिकेय अर्थात् स्कन्दकी माता स्कन्दमाताको आराधना हुन्छ, जसलाई मातृत्व, ममता र सन्तानको रक्षा गर्ने शक्तिका रूपमा श्रद्धापूर्वक सम्झिन्छन्।
छैटौँ दिन षष्ठीमा माता कात्यायनीको पूजा हुन्छ। महर्षि कात्यायनकी पुत्रीका रूपमा प्रकट भएकी उनलाई शत्रुमाथि विजय दिलाउने योद्धा देवी मानिन्छ।
सातौँ दिन सप्तमीमा माता कालरात्रिको पूजा गरिन्छ। अन्धकार र भयको नाश गर्ने उनको रूप उग्र भए पनि भक्तका लागि सदैव शुभ फल दिने मानिन्छ। नेपालमा यही दिन फूलपातीको भव्य परम्परा निर्वाह गरिन्छ, जसमा गोरखाको दरबारबाट नौ प्रकारका वनस्पतिसहित फूलपाती काठमाडौंको हनुमानढोका दरबारसम्म ल्याइन्छ।
आठौँ दिन अष्टमीमा माता महागौरीको आराधना हुन्छ। शुद्धता र शान्तिकी प्रतीक मानिने उनले भक्तका पाप धुने विश्वास गरिन्छ। महाअष्टमीका दिन देवीमन्दिरमा विशेष पूजा र कोतपर्व मनाइन्छ।
नवौँ दिन नवमीमा माता सिद्धिदात्रीको पूजा गरिन्छ। उनले भक्तलाई सबै प्रकारका सिद्धि र पूर्णता प्रदान गर्ने विश्वास छ। महानवमीका दिन देवीमन्दिर, शक्तिपीठ र सरकारी कार्यालयमा विशेष पूजा हुने र शस्त्र, औजार तथा सवारीसाधनको पनि पूजा गर्ने चलन छ।
त्यसपछि दसौँ दिन विजया दशमीमा घरका ज्येष्ठ सदस्यले अक्षता, दही र रातो अबिरको टीका लगाई जमरा थाप्दै आशीर्वाद दिन्छन्। यही दिनदेखि पूर्णिमासम्म आफन्त र इष्टमित्रकहाँ टीका थाप्न जाने चलन छ।
नौ दिनसम्म चल्ने यो आराधनाले असत्यमाथि सत्यको विजय र शक्तिप्रतिको आस्थालाई सबैतिर फैलाउने विश्वास गरिन्छ। यस पावन अवसरमा सबैमा बडादशैंको हार्दिक मंगलमय शुभकामना।
