Sep 19 2024 | २०८१, असोज ३ गते

किन अस्वभाविक बढ्याे चामलकाे भाउ ?

किन अस्वभाविक बढ्याे चामलकाे भाउ ?

बिहीबार , साउन १८ २०८०
बिहीबार , साउन १८ २०८०
  • किन अस्वभाविक बढ्याे चामलकाे भाउ ?

    काठमाडाै‌ं । नेपालमा चामलकाे मुल्य एकाएक बढेकाे छ । चामलकाे बाेरामै २/३ सय रुपैयाँ बढ्दा नागरिकलाई दैनिकी चलाउन झन् समस्या हुन थालेकाे छ ।

    images
    images

    ५ साउनदेखि भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको मौका छोपेर नेपाली बजारमा व्यापारीले कालोबजारी सुरु गरेका छन् । प्रमुख अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनले भारतले निर्यात प्रतिबन्ध गर्नासाथ नेपाली बजारमा चामलको मूल्य प्रतिबोरा एक सय ८५ रुपैयाँसम्म महँगिएको देखाएको छ । व्यापारीहरूले गोदाममा मौजदात रहेको चामलमा नै कृत्रिम मूल्य बढाएको विभागको निष्कर्ष छ ।

    विभागका निर्देशक होमनाथ भट्टराईका अनुसार केही दिनअघि कालीमाटी क्षेत्रको एक खुद्रा पसलमा अनुगमन गर्दा १९ सय ५० रुपैयाँ प्रतिबोरा रहेको चामल ठोस कारणविनै बढाएर दुई हजार एक सय पुर्‍याइएको पाइएको थियो । ‘त्यस्तै, टोखा क्षेत्रको एउटा किराना पसलमा अनुगमन गर्दा दुई हजार ११ रुपैयाँ रहेको चामलको मूल्य बढाएर दुई हजार एक सय एक रुपैयाँमा बिक्री गरिरहेको अवस्थामा भेटिएको थियो,’ उनले भने ।

    मूल्य बढ्नुको कारणबारे सोधीखोजी गर्दा खुद्रा व्यापारीले ठोस उत्तर नदिएको उनको भनाइ छ । ‘खुद्रा व्यापारीले थोकबाट किन्दा नै बढी मूल्य तिर्नुपरेको बताउने गरेका छन्,’ उनले भने, ‘केही थोक व्यापारीकहाँ अनुगमन गर्दा ढुवानी खर्च बढेको र भारतबाट धान खरिद गर्दाको लागत बढेको तर्क गरेका छन् ।’

    यसरी विनाकारण चामलको मूल्य प्रतिबोरा एक सय ८५ रुपैयाँसम्म बढेको सूचना संकलन गरेको उनले बताए । मौजदात चामलमा कृत्रिम मूल्यवृद्धि भएपछि विभागले १५ साउनमा उद्योग वाणिज्य महासंघका सम्बन्धित व्यवसायीलाई डाकेर छलफल गरेको थियो । सो छलफलपछि विभागले मौजदात चामलमा मूल्य बढाएको भेटिए कारबाही गर्ने चेतावनी दिएको उनले बताए ।

    भारतको चामल निर्यात बन्देजको बहानामा यहाँको बजार मूल्य बढेपछि यसबारे स‌ंसदीय समितिमा समेत कुरा उठेकाे छ । चामलमा कालोबजारी सुरु भएको बताउँदै सांसदहरूले अनुगमनलाई तीव्र बनाउनुपर्ने बताए छन् ।

    उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसद रमा कोइराला पौड्यालले बजारमा कालोबजारी सुरु भइरहँदा सरकारले अनुगमनमा ध्यान नदिएको बताइन् । ‘चामलमा अस्वाभाविक मूल्य बढाइएको छ । भाउ प्रतिबोरा २/३ सय रुपैयाँ बढ्दा सरकारले अनुगमनमा ध्यान दिएन । बजार अनुगमन भए पनि फितलो छ,’ उनले भनिन् ।

    सांसद असिम शाहले बजार अनुगमन मौसमी हुने गरेको बताए । निरन्तर र दैनिक अनुगमन भए व्यापारीहरू स्वतः सुधार हुने उनको भनाइ छ । भने, ‘दैनिक बजार अनुगमन भए बजारमा सहज र स्वच्छ हुन्थ्यो ।’ अर्का सांसद महेन्द्रबहादुर शाहीले पनि बजारमा म्याद नाघेका दैनिक उपभोग्य वस्तु छ्यापछ्याप्ती भेटिएको बताए । ‘सर्वसाधारणको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने यी वस्तुमा अनुगमन नै हुन सकेन ।’

    सांसद गणेश पराजुलीले खाद्य वस्तुमा प्रभावकारी नियमन नभएको जिकिर गर्दै भने, ‘धेरैजसो खाद्यान्न आयात नै गर्नुपर्छ । बजारमा खाद्य वस्तु आउँदा गुणस्तर कायम गर्न सकिँदैन ?’

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार