images

Oct 23 2024 | २०८१, कात्तिक ७ गते

पुरुषमा प्रजनन क्षमता कमजाेर हुँदै

पुरुषमा प्रजनन क्षमता कमजाेर हुँदै

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
  • पुरुषमा प्रजनन क्षमता कमजाेर हुँदै

    काठमाडौं । अहिले पुरुषमा शुक्रकीटको संख्या घट्दो छ र त्यसको गुणस्तरमा पनि ह्रास आइरहेको पाइएकाे छ । विशेषगरी, अव्यावहारिक र अस्वस्थ जीवनशैलीका कारण प्रजनन क्षमतामा कमी आइरहेको हो । युरोपका विभिन्न देश तथा अमेरिकामा भएका अध्ययनअनुसार विश्वमा प्रत्येक वर्ष २ प्रतिशत पुरुषमा प्रजनन क्षमतामा ह्रास आइरहेको पाइएको छ ।

    images
    images
    images

    यसरी पुरुषमा प्रजनन क्षमता घट्दै जानुमा विभिन्न तनाव, रेडिएसनको प्रभाव, धूम्रपान–मद्यपान, अनिद्रा, अस्वस्थ खानपान, अप्रत्यक्ष रूपमा रासायनिक पदार्थको सेवन, मोबाइल तथा कम्प्युटरको अत्यधिक प्रयोग आदिलाई प्रमुख कारण मानिन्छ । सामान्यतया प्रजनन क्षमतामा कमी आउने क्रमका दुई चरण हुन्छन्, ओलिगोस्पर्मिया र एजोस्पर्मिया । ओलिगोस्पर्मिया शुक्रकीट उत्पादनमा कमी हुनु हो भने एजोस्पर्मिया शुक्रकीट नै उत्पादन नहुनु हो ।

    विगतमा महिलामा प्रजनन् क्षमता कमजोर भएकाे र डिम्बासयमा अण्डा कम हुँदै आएकाे बताउने गरिन्थ्याे । तर अहिले भने पुरुषमा पनि शुक्रकिटकाे उपस्थिति कम हुन थालेकाे विभिन्न अध्ययनहरुले देखाएकाे छ ।

    प्रजनन क्षमतामा कमी आउनुमा अहिले जीवनशैली, प्रदूषण र जलवायु परिवर्तनलाई कारण मान्न थालिएको छ । डा. उमा श्रीवास्तव भन्छन्, ‘अहिले बाँझोपनको समस्या धेरै देखिनुमा जीवनशैली परिवर्तन पनि एउटा प्रमुख हो भन्ने लाग्न थालेको छ । शहरी जीवनमा हिँडडुल कम भएको छ । मद्यपान, धूमपान बढेको छ ।'

    शरीरको तौल बढी हुँदा पुरुषमा मात्र नभई महिलामा पनि प्रजनन क्षमता ह्रास हुने गर्दछ। महिलाकाे ताैल वढ्नुकाे कारण भनेकाे केही किसिमको हर्मोनको गडबडीले फ्याटको मात्रा बढ्नाले हाे । शारीरिक गतिविधि कम गर्ने, बढी चिल्लो भएका पाकेटबन्द खानाहरु खाने, माछामासु, गुलियोको बढी प्रयोग गर्नाले तौल अझ बढ्छ । 

     पुरुष बाँझोपन विशेषज्ञ डा. सुनील जिन्दल भन्छन्, ‘सामान्यतया पुरुषहरु कुनै पनि उमेरको होस् शुक्रकीट, यौन इच्छा र यौन क्षमतामा कुनै कमी आउँदैन भन्ने सोच्छन् । तर त्यस्तो हुँदैन, यस्तो भ्रम नपाले हुन्छ, किनभने पुरुषको उमेरसँगै यौन इच्छा, यौन क्षमता र शुक्रकीटको संख्यामा पनि कमी आउँदै जान्छ । यदि बच्चा चाहिने हो भने ठीक उमेरमै पहल गर्नुपर्छ ।'

    एक अध्ययन अनुसार ४० वर्षको उमेरमा सामान्यतषाः महिनाकाे ६ देखि ७ पटक यौनसम्पर्क हुने गर्छ । ५० भएपछि यो चारपटकमा झर्छ । ६० को उमेरमा १ देखि २ पटकसम्म मात्र गर्छ । यौनसम्पर्कको बारम्बारताले गर्भाधानमा ठूलो फरक पर्दछ । यस्तै गरी जसरी उमेर बढ्दै जान्छ त्यसै गरी वीर्यमा पाइने शुक्रकीटको संख्या, गतिशीलता, बनावट फरक वा कम हुँदै जान्छ । २५ वर्षको उमेरपछि शुक्रकीटको संख्या प्रतिवर्ष ३.३ प्रतिशतले घट्न थाल्छ।

    त्यस्तै वातावरण प्रदूषण र उमेरका कारण वीर्यको जीनको गुणस्तरमा फरक पर्छ । रगतमा खराबी, मिर्गौला, कलेजोमा खराबीजस्ता कारणले पनि शुक्रकीटको संख्यामा असर गर्छ । साथै यी रोग लाग्दा उपचारका लागि लिइने कतिपय औषधिले पनि शुक्रकीटको संख्यालाई कमी गराइदिन्छ ।

    जब उमेर बढ्दै जान्छ, टेस्टोस्टेरोन हर्मोनको उत्पादन कम हुँदै जान्छ र अण्डकोषको साइज पनि सानो हुँदै जान्छ । अण्डकोषको साइज सानो हुँदै जाँदा स्वाभाविक रुपमा वीर्य उत्पादनमा पनि कमी हुँदै जान्छ । साथै उमेर बढ्दै जाँदा वीर्यमा हुने जेनेटिक वस्तु खराब हुँदै जान्छ । जसले गर्दा नवजात शिशुमा खराबी आउन सक्छ ।

    स्वास्थ्यसम्बन्धी नियमन गर्ने अमेरिकी संस्था सेन्टर फर डिजिज कन्ट्रोल (CDC)का अनुसार जलवायु परिवर्तनका कारण शुक्रकीटको गुणस्तरमा नकारात्मक असर परी पुरुषको प्रजनन स्वास्थ्यमा नै असर परिरहेको छ । मानिस र जनावरमा समेत गरिएको अध्ययनले तातो मौसमले शुक्रकीटको उत्पादन र गुणस्तरमा नकारात्मक असर परेको पाइएको हो । अन्य वातावरणीय प्रदूषणको कारणले पनि विशेष गरी पुरुषको प्रजनन स्वास्थ्यमा नकारात्मक असर परेको छ । कोइला, पेट्रोलियम पदार्थ तथा ग्यासको अधिक प्रयोगको कारणले बर्सेनि पृथ्वीको तापक्रम बढ्दै गएको छ ।

     चेक गणतन्त्रमा भएको एक अध्ययन अनुसार वायु प्रदूषणको कारण शुक्रकीटको गुणस्तर र गतिशीलता (motility) मा कमी आएको पाइएको थियो । यस्तै गरी चीनमा सन् २०२१ मा १० हजार जोडीबीच गरिएको अध्ययन अनुसार कम प्रदूषण भएको स्थानका पुरुषमा भन्दा उच्च प्रदूषण भएका स्थानका पुरुषको शुक्रकीटको गुणस्तर दोब्बर नै कमजोर भएको पाइएको थियो ।

    इन्भाइरोमेन्टल साइन्स युरोप (भोलम ३४, २०२२) अनुसार विश्वभरि नै केही वर्षदेखि पुरुषहरुमा बाँझोपन एउटा प्रमुख समस्याको रुपमा देखा परिरहेको छ । यसको एउटा प्रमुख कारण वीर्यको गुणस्तरमा ह्रास आउनु नै हो । वीर्यको गुणस्तरमा ह्रास आउनुको कारणमा वायुको गुणस्तर, विषादीको प्रयोग र हानिकारक रसायनको प्रयोग, बढी तातोमा रहनु प्रमुखरुपमा रहेका छन् ।

     नेपाल र भारतमा बाँझोपनको समस्या लगभग उस्तै नै (करिब १५ प्रतिशत) छ । तोमर नर्सिङहोम मुम्बईका लापारोस्कोपिक कन्सल्ट्यान्ट सर्जन डा. विशाल तोमर भन्छन्, ‘मेरो नर्सिङ होममा आएका २० देखि ४० वर्ष उमेरका युवाहरुको वीर्यमा शुक्रकीटको संख्या कमी भएको पाइरहेको छु । युवाहरुको शुक्रकीटको गुणस्तर र मात्रा दुवैमा ह्रास आउन थालेको छ । करिब ४० प्रतिशत युवाहरुमा कुनै न कुनै किसिमको शुक्रकीटसम्बन्धी समस्या देखिएको छ ।

    यसरी शुक्रकीटको संख्या र गुणस्तरमा कमी आउनुमा एउटा प्रमुख कारण तापक्रम पनि हो । जो व्यक्ति बढी तातो भएको कपडा बढी लगाउँछन, तातो बढी भएको स्थानमा काम गर्छन्, उनीहरुमा यो समस्या बढी देखिन सक्छ । एक डिग्री सेल्सियस तापक्रम बढ्नाले १७ प्रतिशतसम्म शुक्रकीटको संख्या कम हुने र गुणस्तरमा असर पर्न सक्छ । अर्को कारण अधिक मोटोपन हुनु पनि हो । मोटोपनले टेस्टोस्टेरोन हर्मोन कम उत्पादन हुन्छ, जसले शुक्रकीटको उत्पादनमा असर गर्छ ।

    साथै मोटोपनले डायबिटिज, उच्च रक्तचापको समस्या पनि हुन थाल्छ, जसको कारण वीर्य उत्पादनमा असर गर्न सक्छ । यस्तै गरी धूमपानले पनि शुक्रकीटको उत्पादन र गुणस्तरमा गम्भीर असर गर्छ । यस्तै जसले निकै बढी मदिरा पिउने गर्छन्, जो दैनिकरुपमा पिउने गर्छन्, उनीहरुको समग्र स्वास्थ्य त कमजोर हुन्छ नै, साथै वीर्यको गुणस्तर पनि कमजोर हुने गरेको पाइएको छ । शुक्रकीटको संख्या सामान्य भए पनि गुणस्तर कमजोर हुने गरेको पाइएको छ ।

    डा. तोमर भन्छन्, ‘हाल हाम्रो खानामा पश्चिमी शैलीका खानाको मात्रा बढ्दै गएको छ । यो खाना भनेको प्रोसेस्ड फूड अर्थात् जंक फूड नै हो । खानामा ट्रान्सफ्याट र चिनीको मात्रा बढ्दै गएको छ । यसमा पोषण कम, क्यालोरी बढी हुन्छ । जसले डायबिटिज, अधिक मोटोपन बढाउँछ । इलेक्ट्रोनिक ग्याजेट र अन्य व्यावसायिक व्यस्तताका कारण मानिसहरुमा पहिलेको भन्दा सुताइको अवधि कम हुन थालेको छ । यो पनि बाँझोपनको एउटा प्रमुख कारण हो ।’

    विभिन्न अध्ययनहरुले उमेर ४० वर्ष काटिसकेपछि बाँझोपनको सम्भावना बढी हुने कुरा देखाएको छ । यस्तै गरी वातावरणीय रिस्क फ्याक्टरहरुमा रंग उद्योग, एक्स रे गर्ने ठाउँ, विषादीको कारखाना वा विषादी छर्किने काममा लामो समय काम गर्नु पनि पुरुष प्रजनन क्षमता कमजोर हुँदै जानुको कारणका रुपमा औँल्याइएको छ । साथै यस्ता जोखिमपूर्ण वातावरणमा काम गर्ने, जंकफूड बढी खाने, लागू पदार्थ खाने, धूमपान, मद्यपान गर्ने महिलाहरुमा पनि बाँझोपनको समस्या देखिने गरेको सम्बद्ध चिकित्सकहरुको भनाइ छ ।

    शुक्रकीट उत्पादनमा कमी हुनुका कारण  

    अस्वस्थ खानपान
    बदलिँदो जीवनशैलीले हाम्रो खानपानमा परिवर्तन आएको छ । बाहिरको खाना बढी खानुपर्ने बाध्यता, त्यसमा पनि फास्टफुड, ड्राइफुड र जंकफुड । यस्तै खानेकुराको अत्यधिक सेवनले पुरुषको प्रजनन क्षमतामा कमी आइरहेको छ । यी खानेकुरामा हुने विभिन्न रसायनका कारण स्वास्थ्यमा समस्या आइरहेको हो ।

    तनाव
    लगातार तनावमा रहनाले शरीरमा हार्मोनको असन्तुलन पैदा हुन्छ । यसले गर्दा शरीरमा रक्तसञ्चारमा परिवर्तन ल्याउँछ । जसका कारण शुक्रकीटको संख्यामा कमी आउँछ । 


    धूम्रपान–मद्यपान
    धुम्रपान र मद्यपान गर्ने व्यक्तिको प्रजनन क्षमतामा ह्रास आइरहेको हुन्छ । यसमा पाइने विभिन्न रसायनले प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । जसले शुक्रकीटको चालमा कमी ल्याउने, पूर्ण रूपमा उत्पादन नहुने वा उत्पादनमा बाधा पु-याउने हुन्छ । 

    मधुमेह
    मधुमेहका कारण रगतमा ग्लुकोजको मात्रा बढी हुँदा पिसाबनलीमा रहेका मांशपेसीलाई कमजोर बनाइदिन्छ । जसले गर्दा स्पर्महरू सजिलै बाहिर आउन सक्दैनन् । 

    मोबाइल–ल्यापटप
    धेरै समयसम्म खल्तीमा मोबाइल राख्दा र ल्यापटप काखमा राखेर लामो समयसम्म चलाउने पुरुषमा प्रजनन क्षमता कमी आउने गरेको पाइन्छ । यसबाट निस्किने रेडिएसनको असरले प्रजनन अंगमा कमजोरी ल्याउँछ । जसले गर्दा शुक्रकीट उत्पादन नै नहुने र उत्पादन भएमा पनि सबल उत्पादन नहुने हुन्छ । 



    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट