Sep 19 2024 | २०८१, असोज ३ गते

वीरगन्ज चिनी कारखाना पुन:सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको छ : अर्थमन्त्री महत

वीरगन्ज चिनी कारखाना पुन:सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको छ : अर्थमन्त्री महत

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
  • वीरगन्ज चिनी कारखाना पुन:सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको छ : अर्थमन्त्री  महत

    अर्थमन्त्री डा. प्रकाशशरण महतले दुई दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना पुन:सञ्चालनका लागि सरकारले सम्भाव्यता अध्ययन गरिरहेको बताएका छन् ।

    images
    images

    शुक्रबार वीरगन्जमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले भने,‘ चिनी कारखाना पुर्नसञ्चालन गरिन्छ नै भनेर अहिले भन्न सकिने अवस्था छैन । यसका लागि सरकारका तर्फबाट सम्भाव्यता अध्ययन  भइरहेको छ ,यो काम सकेपछि मात्रै चलाउने वा नचलाउने भन्ने कुराको टुङगो लाग्छ । '

    चिनी कारखाना चलाउँछौं भनेर सरकारले अहिले हचुवाको भरमा घोषणा नगर्ने पनि उनले प्रष्ट पारे । अघिल्लो सरकारका अर्थमन्त्री जनार्दन शर्माले दुई दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना पुर्नसञ्चालनको घोषणा गर्दै गत आर्थिक वर्षको बजेटमा २० करोड रुपैयाँ विनियोजन पनि गरेका थिए । 

    सोभियत संघको सहयोगमा २०१९ सालमा निर्माण गरि २०२१ सालदेखि सञ्चालनमा ल्याइएको वीरगन्ज चिनी काराखाना घाटामा गएपछि सरकारले २०५९ फागुनदेखि बन्द गरेको थियो । 

    अर्थमन्त्री महतले वीरगन्जस्थित कृषि औजार कारखाना मर्मत सम्भारगरी पुर्नसञ्चालनमा ल्याउनका लागि अर्थमन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रलाई तत्कालका लागि १ करोड रुपैयाँ बजेट उपलब्ध गराइसकेको जानकारी पनि गराए । 

    केन्द्रका अध्यक्ष महावीर पुनले सरकारले सम्झौता अनुसार अर्थमन्त्रालयले बजेट नदिएका कारण कारखाना मर्मत सम्भारका लागि रकम जुटाउन आफूले पाएका मेडलहरू लिलामीमा राखेको पोष्ट सामाजिक सञ्जालमा राखेका छन् । 

    त्यहि प्रसंगबारे सोधिएको प्रश्नमा अर्थमन्त्री महतले भने,‘सरकारसँगको सम्झौता अनुसार केन्द्रलाई २५ करोड रुपैयाँ दिने उल्लेख छ । त्योमध्ये हालका लागि १ करोड रुपैयाँ अर्थमन्त्रालयले निकासा गरिसकेको छ , बाँकी रकम आवश्यकता अनुसार व्यवस्थापन गरिनेछ । '

    दुई दशकदेखि बन्द कृषि औजार कारखाना मर्मतसम्भार गरी १० वर्षसम्म सञ्चालनको जिम्मा केन्द्रलाई सरकारले दिएको छ । फरक प्रसंगमा अर्थमन्त्री महतले एक सय किलो सुन तस्करी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरे ।

    सुन तस्करी प्रकरणमा अर्थमन्त्रीको पनि मिलोमतो रहेको भन्ने नेकपा एमालेले लगाएको आरोप निराधार भएको उनले बताए ।  महतले भने,‘अहिले जसलाई जे मन लाग्छ त्यो आरोप लगाइदिने ,सामाजिक सञ्जालमा लेखिदिने गलत प्रवृति बढेको छ ।'

    आफ्नै कारणले त्रिभुवन विमानस्थलबाट एक सय किलो सुन समातिएको दाबी समेत उनले गरे । सुराकी दिनेलाई प्रोत्साहित गर्न पुरस्कार दिने व्यवस्था आफूले नै गरेको र त्यसैका कारण सुन समातिएको जिकिर महतको थियो । 

    वर्तमान सरकारले सुशासन ,पारदर्शीता र विकास निर्माणलाई प्राथमिकता दिएर काम गरिरहेको अर्थमन्त्री महतले बताए । आफूले अर्थमन्त्रालयको जिम्मेवारी सम्हाले यता अर्थतन्त्रका समस्या विस्तारै कम हुँदै गएको ,वैदेशिक मुद्राको सञ्चितीमा सुधार आएको ,मुल्यवृद्धि क्रमिक रुपमा घट्दै गएको,पूँजी प्रवाहमा देखिएका समस्या सम्बोधन हुँदै गएको पनि उनले बताए । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार