Sep 17 2024 | २०८१, असोज १ गते

तीनधारे झरनाको विकासमा सरकारकाे सहयोग रहन्छ : प्रदेशमन्त्री लामा

तीनधारे झरनाको विकासमा सरकारकाे सहयोग रहन्छ : प्रदेशमन्त्री लामा

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १७ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १७ २०८०
  • तीनधारे झरनाको विकासमा सरकारकाे सहयोग रहन्छ : प्रदेशमन्त्री लामा

    धुलिखेल । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–२ मा रहेको पर्यटकीय क्षेत्र तीनधारे झरनाको विकासका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहने बताएका छन् । 

    images
    images

    शनिबार रोशी गाउँपालिका–२ को आयोजना तथा गाउँपालिकाको समन्वयमा आयोजना गरिएको ‘मनमोहक एवं प्रसिद्ध पर्यटकीयस्थल तीनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण कार्यक्रमका अवसरमा मन्त्री लामाले तीनधारे झरना पर्यटकीय दृष्टिकोणले प्राकृतिक सुन्दरता र कृषिका लागि महत्वपूर्ण क्षेत्र रहेकाले सरकारले सकेको सहयोग गर्न तयार रहेको बताएका छन् । 

    काभ्रेपलाञ्चोक सङ्घीय राजधानी काठमाडौँबाट नजिक भएको र प्राकृतिक स्रोत भएको जिल्ला भएकाले प्राकृतिक स्रोत, सम्पदाको संरक्षण र प्रवद्र्धन गर्नु सरकारको दायित्व भएको बताए । “आम्दानीका स्रोत पर्यटकीय दृष्टिकोणले अति नै महत्वपूर्ण छन्”, उनले भने, “कृषिमा पनि राम्रो उब्जनी हुने र किसानका लागि आम्दानी गर्न उब्जाउयुक्त जमिनसँगै सम्पदा र ऐतिहासिक एवं धार्मिकस्थल भएको जिल्ला पनि भएकाले महत्वपूर्ण रहेको छ ।” झरना जाने सिँढी, रेलिङलगायत पक्की सडक निर्माण गर्नु स्थानीयको चाहना रहेको र जसले पर्यटकीय क्षेत्रको विकासका लागि सहयोग पुग्ने आशा रहेको कारण यही वर्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 

    तीनधारे झरनासँगै नजिकै रहेको धार्मिकस्थल नमोबुद्धलाई पर्यटन प्रवद्र्धन गर्न सकेको खण्डमा पर्यटकलाई भित्र्याएर आम्दानीको स्रोतमा वृद्धि हुने आधार रहेको कारण सम्भावनालाई साकार पार्न सहयोग गर्न तयार रहेको बताए।

    सो क्रममा उनले बुद्धचित्त मालाले काभ्रेपलाञ्चोकका बासिन्दालाई दिएको आम्दानीको स्रोतसँगै प्राकृतिक झरनाले थप टेवा पु-याएको र धार्मिकस्थल नमोबुद्धले अझ सम्भावना थपिदिएको कारण नागरिकलाई आम्दानी बढाउने कार्यमा प्रदेश सरकार साथमा रहेको बताए ।

    प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामाले तीनधारे झरना काभ्रेजिल्लाकै सम्पत्तिको रुपमा स्थापित भएको बताए । त्यसकालागि यस क्षेत्रको अझ थप विकास गर्न सबै राजनीतिक दल र सामाजिक व्यक्तित्व हातेमालो गरेर विकासको काममा लाग्न आवश्यक रहेको बताए । तेमाल, नमोबुद्ध, पनौती र पलाञ्चोक क्षेत्रको विकासका लागि सबैको हातेमालो आवश्यक रहेको बताउँदै झरना क्षेत्रमा सबैभन्दा लामो जीपलाई सञ्चालन गरेर पर्यटन प्रवद्र्धनमा जोड दिन आवश्यक रहेको बताए ।

    सो अवसरमा मन्त्री लामाले दाप्चादेखि फलामे साँघुदेखि काफलडाँडा तीनधारे झरनासम्म गरी दुई खण्डमा पक्की सडक निर्माणका लागि केही वर्षभित्रमा नै पूर्णता दिन आफू लाग्ने बताए । उद्योग, वाणिज्य भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले मुलुकले समृद्धि, आर्थिक विकास र जीवनस्तरमा सुधार ल्याउन पर्यटक पूर्वाधारको विकास गर्न आवश्यक रहेको धारणा राखे । जसको एउटा नमुना तीनधारे झरनाको पर्यटकीय विकास प्रचुरमात्रमा रहेको पाएको कारण विकासका लागि सहयोग गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ । 

    जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले प्राकृतिक पर्यटकीयस्थल तीनधारे झरनाको विकास प्रवद्र्धनका लागि स्रोत जडीबुटी लगायतको प्रवद्र्धन गरी आर्थिक उपार्जन गर्दै जनताको जीवनमा सुधार ल्याउन सकिने योजना बनाउन आवश्यक रहेको बताए । नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले अन्तरपालिकाको समन्वय बैठकबाट पर्यटकीयस्थलको विकास र प्रवद्र्धनका लागि गर्न सकिने सहकार्यमा हातेमालो गर्ने योजना बनाउन अगाडि बढ्ने बताए । 

    रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले रोशीको नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउने खालको योजनालाई आर्थिक विकाससँगै जोडेर काम गर्ने योजनाका साथ अगाडि बढिरहेको बताए ।

    कृषि र पर्यटनलाई केन्द्रमा राखेर काम गरिरहेको उल्लेख गर्दै उनले त्यसको लागि प्रदेश र सङ्घ सरकारबाट पनि सहयोग गर्न आग्रह गरे । स्थानीय  सार्कीमान तामाङले झरना जाने सिँढी, रेलिङको व्यवस्था, झरनाको संरक्षण गर्नुपर्ने तथा बञ्जीजम्प र जीपलाईनको व्यवस्था गर्न आग्रह गरे । सो क्रममा मन्त्रीलगायत जिल्लाका पालिकाको जनप्रतिनिधिले तीनधारे झरनाको संयुक्त रुपमा अवलोकन भ्रमण गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार