जनकपुरमा व्यापारः सयभन्दा बढी पसल बन्द, लिलाम सकार्नेहरु पनि भेटिँदैनन्
जनकपुरमा व्यापारः सयभन्दा बढी पसल बन्द, लिलाम सकार्नेहरु पनि भेटिँदैनन्
जनकपुरधाम । जनकपुरका पवन ठाकुरले विगत ४० वर्षदेखि सुनचाँदीको व्यापार गर्दै आएका छन् । कुनै बेला उनको न्यू महालक्ष्मी ज्वेलर्समा ग्राहक भीड थामी नसक्नु हुन्थ्यो । दैनिक रु १०÷१२ लाखसम्मको व्यापार गर्न कुनै पर्व वा विवाहोत्सव पर्खिनु पर्दैनथ्यो । अहिले ग्राहक पाउनै मुस्किल भएको ठाकुरले बताए । रु डेढ दुई लाखको व्यापार गर्न पनि ‘विशेष समय कहिले आउला’ भनेर पर्खिनुपर्ने अवस्था आएको उनको भनाइ थियो ।
जनकपुरमा ४५ वर्षदेखि कपडा व्यापार गर्दै आएका रामबाबु गुप्ताले पहिले पाँच–सात जनालाई रोजगारी दिए । केही वर्षयता व्यापार खस्किँदो अवस्थामा रहेकाले आधा कर्मचारी कटौती गरेर व्यापार चलिरहेको गुप्ताले बताए। पहिलेको जस्तो व्यापार नहुने, सजिलै ऋण नपाइनेलगायत कारणले व्यापारीहरु मर्कामा परेको उनले बताए ।
जनकपुरधाम उपमहानगरपालिका–४ स्थित रामपरी स्टोरका सञ्चालक शेखर साहको पनि यस्तै गुनासो छ । विगत १८ वर्षदेखि खाद्यान्न व्यापार गर्दै आएका उनले दैनिक उपभोग्य वस्तुको व्यापारमा समस्या होला भनेर सोचेका थिएनन् । अहिले व्यापारमा ७५ प्रतिशतले कमि आएको साहको भनाइ थियो । “पहिले सामान लिन पालो पर्खिनुपथ्र्यो तर अहिले ग्राहक नै आउँदैनन्”, उनले भने, “पछिल्लो समय २५ प्रतिशतमा व्यापार झरेको छ । खै केको मन्दी भएर हो वा अरूको व्यापार बढेर हो रु बुझ्नै सकिरहेको छैन ।”
“ठाकुर, गुप्ता र साहको मात्रै होइन जनकपुरका अधिकांश व्यवसायीको समस्या यस्तै छ”, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले भने । विलासिताका वस्तुको व्यापार गर्नेहरु मात्र नभई दैनिक उपभोग्य सामान बेच्ने पनि समस्यामा पर्नु गम्भीर चिन्ताको विषय भएको उनले बताए ।
महासेठका अनुसार जनकपुर बजार क्षेत्रमा व्यापार व्यवसाय निरन्तर ओरालो लागेपछि हालसम्म एक सयभन्दा बढी व्यापारीले सटर बन्द गरिसकेका छन् भने यो सङ्ख्या निरन्तर बढ्दो क्रममा छ । आधा दर्जनभन्दा बढी ठूला व्यापारी बैंक तथा साहुको ब्याज तिर्न नसकेर जायजेथा छाडेर भागिसकेका उनले जानकारी दिए।
“जनकपुरधाममा कुनै बेला व्यापार गर्नका लागि सटर नै पाउँदैनथे । अहिले मुख्य बजारमै एक सयभन्दा बढी सटर बन्द अवस्थामा छन् । सटर खोल्नेहरुको व्यापार पनि निराशाजनक छ”, महासेठले भने, “यसको कारण र परिणामका विषयमा न राज्यका निकाय न त राजनीतिक नेतृत्व गम्भीर छन् । अर्थतन्त्र झन्झन् जटिल अवस्थातर्फ धकेलिँदैछ ।”