बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि वीपी राजमार्ग अवरुद्ध
बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि वीपी राजमार्ग अवरुद्ध
सिन्धुली । बीपी राजमार्गमा भएको दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएपछि आक्रोशित स्थानीय तथा यात्रुले बसमा आगजनी गरेर सडक अवरुद्ध पारेका छन् । सुनकोसी गाउँपालिका-३ बोहोरेटारमा सोमबार भएको दुर्घटनामा परी मोटरसाइकल चालक खोटाङ तुवाचुङ नपा-२ का २० वर्षीय सुशन राई र पछाडि सवार खोटाङ दिक्तेल नगरपालिका-१० की १८ वर्षीया मुनाकला राईको मृत्यु भएको थियो ।
रामेछापको मन्थलीबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ४५९३ नम्बरको अरनिको बस र विपरीत दिशाबाट आएको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ । स्थानीय एवं अन्य सवारीका यात्रुले बस चालकको लापरवाहीले दुर्घटना भएको भन्दै हदैसम्मको कारबाहीको माग गरेका छन् । राजमार्ग अवरुद्ध हुँदा संघीय राजधानी काठमाडौं आवतजावत गर्ने सवारी साधनको बोहोरेटारमा लर्को लागेको छ ।
बस चालक रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवं प्रनाउ चिरन्जीवी दाहालले जानकारी दिए । घटनास्थल पुगेका सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालले स्थितीलाई नियन्त्रणमा लिएर सडक अवरोध खुलाउने प्रयास भइरहेको जनाएका छन् ।