राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लोकतान्त्रिक मूल्यमान्यता आत्मसात् जरुरी : अध्यक्ष तिमिल्सिना
राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लोकतान्त्रिक मूल्यमान्यता आत्मसात् जरुरी : अध्यक्ष तिमिल्सिना
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रजातन्त्र दिवस–२०८० को शुभअवसरमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नका लागि लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् जरुरी भएको बताएका छन् ।
अध्यक्ष तिमिल्सिनाले एक शुभकामना सन्देश जारी गर्दै संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्पसहित सङ्घीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक हक तथा मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता र स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिकाजस्ता आधारभूत विशेषतालाई संविधानको प्रस्तावनामा अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवादन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गरेका छन् ।
“प्रजातन्त्रकै जगमा रहेर वर्तमान नेपालको संविधानमार्फत जनतामा नीहित सार्वभौमसत्ता, स्वशासन र स्वायत्तताको अधिकार प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था अवलम्बन गरेका छौँ”, उनले भने, “यसले नागरिकहरूमा स्वतन्त्रताको अधिकारको संरक्षण प्रदान गरी सम्मानपूर्वक बाच्ँन पाउने अधिकारको सुनिश्चितता प्रदान गरेको उल्लेख गर्नुभएको छ ।”
शुभकामना सन्देशमा कठिन सङ्घर्ष, चुनौती त्याग र बलिदानको फलस्वरुप निरंकुश राणाशासनको अन्त्य भएको दिनको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने उल्लेख छ । नेपाली जनताको प्रजातन्त्रप्रतिको समर्पित भावना र दृढ इच्छाशक्तिकै कारण प्रजातन्त्रको स्थापना सम्भव भएको उनको भनाइ छ ।
“सङ्घ, प्रदेश र स्थानीय तहको राजनीतिक तथा शासकीय संरचनामार्फत शासन, विकास र सेवा प्रवाहको अवसर र लाभ वितरण प्रत्यक्षरूपमा जनस्तरमा प्राप्त भएको छ”, सन्देशमा भनिएको छ, “यसले स्थानीय नागरिकहरूमा सरकार र शासनको अपनत्वको भावना विकास भई स्थानीय स्रोतसाधनको प्रभावकारी परिचालनमार्फत देश विकासमा महत्त्वपूर्ण योगदान पुगेको छ ।”
नेपालको एक सय चार वर्ष लामो निरङ्कुश तथा जहानिय तानाशाही राणाशासनको अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने अमर सहिदहरूप्रति अध्यक्ष तिमिल्सिनाले भावपूर्ण श्रदाञ्जलि अर्पण गरेका छन् ।