अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी सुरु, नेपाल र जर्मनीका कलाकार सहभागी
अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी सुरु, नेपाल र जर्मनीका कलाकार सहभागी
काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा नेपाल र जर्मनीका कलाकारले तयार पारेका चित्रकलाको अन्तरराष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ । प्रतिष्ठानमा गएको माघ २२ र २३ गते आयोजित ‘अन्तर्राष्ट्रिय कला कार्यशाला २०२४’बाट सिर्जित कलाकृतिको साताव्यापी प्रदर्शनी सुरु भएको हो । प्रदर्शनी यही फागुन १४ गतेसम्म रहने छ ।
‘कनेक्टिङ कल्चर थ्रु आर्टस्’ शीर्षकमा सुरु भएको प्रदर्शनीमा नेपाल र जर्मनीका ४३ कलाकारको सिर्जना समावेश गरिएको छ । जसमा १० जना विदेशी कलाकार सहभागी भएका छन् । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले यस कार्यक्रमले नेपाल र जर्मनीबीचको सम्बन्ध अझ प्रगाढ बढाउने बताए ।
उनले भने, “हामी जर्मनी नपुगे पनि यस्ता कार्यक्रमको माध्यमबाट अर्को देशको कला र संस्कृतिलाई बुझ्ने मौका मिलेको छ, हाम्रो कला संस्कृति जर्मनीका कलाकारले बुझ्ने मौका पाए, यसले संस्कृति र कलाको सम्बन्धलाई थप बलियो बनाउँछ ।”
प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य सञ्जय वान्तवा राईले दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन आयोजित कला कार्यशाला र प्रदर्शनी लक्षित उद्देश्य प्राप्त गर्न सफल भएको बताए । सो क्रममा जर्मनी कलाकार एलेक्जेन्डर इलाइजर, डिर्क निबेर्गल र एलेक्जेन्डर बिसी बोटेनबर्जले नेपाली कला कार्यलाला र प्रदर्शनीमा सहभागी भई यहाँको कला संस्कृति बुझ्न पाएकामा खुसी व्यक्त गरे ।
प्रदर्शनीमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, तथा प्राज्ञ परिषद सदस्यहरु पाल्साङ्मो लामा, प्रदीप अधिकारी, सौरगङ्गा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय वान्तवा, अरुणा हिङमाङसहितका ३३ नेपाली कलाकारका सिर्जना समावेश छन् ।
यस्तै जर्मनीका १० जना कलाकारका सिर्जना समेत प्रदर्शनीमा रहेका छन् । जर्मनीका कलाकार नेपाल कला आदानप्रदान कार्यक्रमका सिलसिलामा नेपाल आएका हुन् । प्रदर्शनीको मङ्गलबार साँझ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, नेपालका लागि इजरायलका राजदूत हनन गोदार र जर्मनीका राजदूत डा थोम्स प्रिन्जले अवलोकन गरे ।
अवलोकनका क्रममा राज्यमन्त्री सिर्पालीले यस्ता खालका चित्रकला कार्यशाला र प्रदर्शनीले संस्कृति आदानप्रदानमा सहयोग पुग्ने र पर्यटन विकास हुने विश्वास व्यक्त गरे । उनले नेपाल जर्मनबीच मित्रता कायम राख्न पनि कला प्रदर्शनी फलदायी हुने बताए । उनले कला र संस्कृतिले जनस्तरसम्मको सम्बन्धलाई मजबुत बनाउने भएकाले कला र संस्कृतिसँग सम्बन्धित कार्यक्रम निरन्तर अघि बढाउनुपर्नेमा जोड दिए ।