पहिलो त्रैमासमा बैंकहरूको नाफामा उछाल, २० वाणिज्य बैंकले कमाए १९ अर्ब
पहिलो त्रैमासमा बैंकहरूको नाफामा उछाल, २० वाणिज्य बैंकले कमाए १९ अर्ब
नबिल, ग्लोबल आइएमई र राष्ट्रिय वाणिज्य अगाडि, सिटिजन्स घाटाबाट नाफामा फर्कियो
काठमाडौं – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा देशका २० वाणिज्य बैंकको नाफा उल्लेख्य बढेको छ। साउनदेखि असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकहरूले सामूहिक रूपमा करिब १९ अर्ब १४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। गत वर्षको सोही अवधिमा यो रकम १३ अर्ब १४ करोडको हाराहारीमा थियो, अर्थात् एक वर्षमै झन्डै ६ अर्ब रुपैयाँले नाफा थपिएको छ।
विश्लेषकहरूका अनुसार नाफा वृद्धिको मुख्य आधार कारोबार विस्तार होइन, लागत नियन्त्रण हो। कर्जा लगानी अपेक्षाअनुसार बढ्न नसक्दा ब्याज आम्दानीमा केही दबाब देखिए पनि कर्जा नोक्सानी व्यवस्थाबापत छुट्याउनुपर्ने रकम घटेको छ। साथै निक्षेपको लागत घट्दा बैंकहरूलाई थप राहत मिलेको छ।
बैंकहरूमध्ये नबिल बैंक सबैभन्दा धेरै कमाउने बनेको छ। बैंकले तीन महिनामा २ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी नाफा गरेको छ, जुन गत वर्षको १ अर्ब ७५ करोडभन्दा उल्लेख्य बढी हो। ग्लोबल आइएमई बैंक २ अर्ब ३१ करोड रुपैयाँसहित दोस्रो स्थानमा छ। सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले भने सबैभन्दा ठूलो फड्को मारेको छ। गत वर्ष ५८ करोडमा सीमित रहेको उसको नाफा यसपटक १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ।
यी तीन बैंकसहित नौ बैंकले एक अर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गरेका छन्। एभरेष्ट बैंकले १ अर्ब २५ करोड, प्राइम कमर्सियलले १ अर्ब १८ करोड, नेपाल इन्भेष्टमेण्ट मेगाले १ अर्ब १८ करोड, एनएमबिले १ अर्ब १६ करोड, कुमारी बैंकले १ अर्ब ७ करोड र सानिमा बैंकले १ अर्ब ५ करोड रुपैयाँ कमाएका छन्। नेपाल इन्भेष्टमेण्ट मेगा र सानिमाको नाफा गत वर्षको तुलनामा दोब्बर हाराहारी बढेको छ भने प्राइम कमर्सियल र एनएमबिको नाफा केही घटेको छ।
अर्बभन्दा तलका बैंकमा सिद्धार्थ बैंकले ८५ करोड, नेपाल बैंकले ८३ करोड, हिमालयन बैंकले ६८ करोड, स्ट्यान्डर्ड चार्टर्डले ६७ करोड, लक्ष्मी सनराइजले ६५ करोड, प्रभु बैंकले ६४ करोड, नेपाल एसबिआईले ५५ करोड र माछापुच्छ्रे बैंकले ५५ करोड रुपैयाँ नाफा कमाएका छन्। सिद्धार्थ, लक्ष्मी सनराइज र प्रभु बैंकको नाफा गत वर्षको तुलनामा दोब्बरभन्दा बढी भएको छ। माछापुच्छ्रे बैंकको नाफा करिब ३२ प्रतिशतले बढेको छ भने हिमालयन र स्ट्यान्डर्ड चार्टर्डको सामान्य घटेको छ। कृषि विकास बैंकले १० करोड ९२ लाख र एनआइसी एसिया बैंकले १२ करोड ७४ लाख रुपैयाँ नाफा कमाएका छन्।
गत वर्षको पहिलो त्रैमासमा २२ करोड रुपैयाँ नोक्सानीमा रहेको सिटिजन्स बैंक यसपटक १० करोड २७ लाख रुपैयाँ नाफा कमाउँदै घाटाबाट बाहिर निस्किएको छ। यसले केही कमजोर बैंकमा पनि सुधारको संकेत देखिएको जनाउँछ।
कर्जा विस्तार सुस्त रहेको र नाफा वृद्धि लागत व्यवस्थापनमा बढी निर्भर रहेकाले आगामी त्रैमासमा पनि यो गति कायम रहन्छ कि रहँदैन भन्ने विषयमा बैंकिङ क्षेत्र सतर्क रहेको देखिन्छ।
