Sep 17 2024 | २०८१, असोज १ गते

प्रतिनिधिसभा बैठक : बाढी र पहिरोको कहर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभा बैठक : बाढी र पहिरोको कहर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २१ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २१ २०८१
  • प्रतिनिधिसभा बैठक : बाढी र पहिरोको कहर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न स्थानमा देखिएका समस्या समाधान गर्न संसद्मार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । प्राकृतिक जोखिम तथा विपद् व्यवस्थापन, राहत तथा उद्धारलगायतका काम प्रभावकारीरुपमा अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    images
    images

    आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद सूर्यबहादुर थापा क्षेत्रीले देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानका कारण जनजीवन प्रभावित भएको विषय संसदमा उठाए। बाढी र पहिरोबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउनुपर्ने उनको माग थियो ।

    सांसद माया राईले भोजपुरका विभिन्न स्थानमा बाढी तथा पहिरोको समस्या भएको विषय संसद्मा राखे । अर्का सांसद हेमराज राईले बाढी, पहिरो र डुबानका कारण देशभरी धनजनको क्षति भएकाले पीडितलाई राहत तथा क्षतिपूर्तिको माग गरे । बाढी र पहिरोबाट भएको यकीन क्षतिको विवरण संसद्लाई जानकारी गराउन पनि उनले सरकारसँग माग गरे । त्यस्तै, इर्खुवा खोलामा आएको बाढीले बगाएर दुई जनाको मृत्यु भएको र निर्माणाधिन चारवटा जलविद्युत् आयोजना पूर्णरुपमा बगाएको विषय उनले संसद्मा उठाए ।

    सांसद गंगा कार्कीले बाढी र पहिरोका कारण दोलखालगायतका विभिन्न स्थानमा सडक अवरुद्ध भएकाले सडक खुलाउन शीघ्र कदम चालिनुपर्ने माग गरे। प्राकृतिक प्रकोप नियन्त्रण तथा व्यवस्थापनका लागि स्थानीय सरकारले काम गर्न नसकेकाले विपद् व्यवस्थापनको जिम्मेवारी प्रदेश र सङ्घ सरकारले लिनुपर्ने उनले बताए । सांसद प्रेमबहादुर महर्जनले बाढीका कारण काठमाडौँ उपत्यकाका नदीमा पानीको प्रवाह बढेर विभिन्न स्थान डुबानमा परेको बताए ।

    सांसद माधव सापकोटाले नेपाल विद्युत् प्राधिकरणका दुई जना सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएर सरकारले देवेन्द्र कार्की र महेन्द्र गुरुङलाई नियुक्त गरेको विषय माथि आपत्ति जनाए । त्यस्तै, डेडिकेटेड र ट्रङ्कलाईन बक्यौता असुलि सम्बन्धमा सार्वजनिक लेखा समितिको भूमिका माथि उनले प्रश्न गरे । साथै सार्वजनिक लेखा समितिको सभापति विपक्षी दलले पाउनुपर्ने माग राखे ।

    सांसद सोभिता गौतमले आफ्नो निर्वाचन क्षेत्र भ्रमणका क्रममा आफुमाथि अभद्र व्यवहार भएको विषय जानकारी गराए । यस्तो व्यवहारबाट आफुलाई असुरक्षा महशुस भएको सांसद गौतमको भनाइ थियो ।

    सांसद तारा लामा तामाङले जङ्गली जनावरको आक्रमण बढेको र बालीनालीमा क्षति पु-याइरहेको विषय राखे । कञ्चनपुरमा बाघको आक्रमणबाट गत हप्तामात्रै एक जनाले ज्यान गुमाएको र पछिल्लो डेढ वर्ष अवधिमा तीन जनाले बाघको आक्रमणबाट ज्यान गुमाएको उनले बताए । अर्का सांसद रणेन्द्र बरालीले बाघको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको र चितवनमा एक जना घाइते भएको उल्लेख गर्दै मानव र जङ्गली जनावरबीच द्वन्द्व बढेको बताए ।

    सांसद डा अमरेशकुमार सिंहले सहकारी क्षेत्रको समस्या समाधान गर्न सरकार जिम्मेवार र गम्भीर हुन नसकेको आरोप लगाए । त्यस्तै, केही लगानीकर्ताकर्ताले ‘इन्साइडर ट्रेडिङ’ गरेको र केही कम्पनीको शेयर मूल्यमा चलखेल भइरहेको बताए। लगानीकर्ता र धितोपत्र दलालले चलखेल गरिहेको उनको भनाइ छ । अनलाईन र सामाजिक सञ्जालबाट लगानीकर्तालाई गलत सूचना दिई भित्री कारोबार भइरहेको उनले उल्लेख गरे । शेयर बजारमा ‘इन्साइडर ट्रेडिङ’ र ‘कर्नरिङ’ भएको विषयमा छानबिन समिति गठन गर्न उनले माग गरे ।  

    प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम बाधा अड्काउ फुकाउ आदेश सदन समक्ष पेश गर्नेछन्।

    त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको “शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार