Sep 17 2024 | २०८१, असोज १ गते

नयाँ सहर आयोजनाः आठ वर्षमा ९५ करोड लगानी

नयाँ सहर आयोजनाः आठ वर्षमा ९५ करोड लगानी

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १९ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १९ २०८१
  • नयाँ सहर आयोजनाः आठ वर्षमा ९५ करोड लगानी
    तनहुँ । नयाँ सहर आयोजना डुम्रे भन्सारले आठ वर्षमा रु ९५ करोड बढी लगानी गरेको छ । जिल्लाको भानु नगरपालिका–१ मा स्थापना भएको कार्यालयले आर्थिक वर्ष २०७२/७३ देखि गत आवसम्म विभिन्न योजनामा रु ९५ करोड ८७ लाख लगानी गरेको हो । 
     
    कार्यालयले भौतिक पूर्वाधार, सामाजिक पूर्वाधार, सांस्कृतिक तथा पर्यटन, आर्थिक पूर्वधारलगायत क्षेत्रमा बजेट लगानी गर्दै आएको कार्यालयका निमित्त प्रमुख अभिषेक अधिकारीले बताए । आव २०७२/७३ मा रु तीन करोड ७४ लाख विनियोजन भएकामा  दुई करोड ३६ लाख, आव २०७३/७४ मा रु १३ करोड २६ लाख विनियोजन भएकामा रु आठ करोड ८० लाख, आव २०७४/७५ मा रु २० करोड ६१ लाख विनियोजन भएकामा रु १९ करोड २४ लाख खर्च भएको अधिकारीले जानकारी दिए ।  
     
    उनका अनुसार आव २०७५/७६ मा रु चार करोड ९१ लाख, आव २०७६/७७ मा रु १० करोड २९ लाख, आव २०७७/७८ मा रु १३ करोड ४९ लाख, आव २०७८/७९ मा रु १० करोड ८५ लाख, आव २०७९/८० मा रु १० करोड ४४ लाख र गत आवमा रु १७ करोड ३७ लाख विनियोजन भएकामा रु १५ करोड ४४ लाख खर्च भएको छ । 
     
    कार्यालयमार्फत हालसम्म भौतिक पूर्वाधारतर्फ सडक सञ्जाल तथा यातायातअन्तर्गत सडक कालोपत्र, ढल निर्माण, ग्राभेल र कच्ची सडक निर्माण भएको छ । यस कार्यमा रु ६३ करोड लगानी भएको छ । ढल व्यवस्थापनतर्फ ४३ किलोमिटर नाली निर्माण गरिएको अधिकारीले जानकारी दिए । बिजुली तथा सञ्चारतर्फ सोलार बत्ती जडानमा रु दुई करोड ९० लाख लगानी भएको छ । 
     
    सामाजिक पूर्वाधारतर्फ हरित उद्यान, किरियापुत्री भवन, ज्येष्ठ नागरिक भवन, सिँढी, मञ्च र शौचालय निर्माणमा भएको अधिकारीले बताए । सांस्कृतिक तथा पर्यटनतर्फ सिद्धगुफामा पूर्वाधार, तालपार्कको विस्तृत अध्ययन प्रतिवेदन र स्टोन पार्क निर्माणमा रु दुई करोड लगानी भएको छ । 
     
    कार्यालयले ३४‍.७८ किमी सडक ग्राभेल, १.२४ किमी ढलान, २०.३० किमी कालोपत्र, ४४.६२ किमी नाला निर्माण, तीनवटा सामुदायिक भवन, एउटा सरकारी कार्यालय भवन, एउटा खेलमैदान, दुईवटा मनोरञ्जन पार्क र एउटा खानेपानी योजना निर्माण गरेको जनाएको छ । 
     
    कार्यालयले डुम्रे भन्सार जग्गा एकीकरण आयोजनाको प्रक्रिया सुरु गरेको छ । सोका लागि छ सय ४३ रोपनी जग्गा पहिचान गरिएको अधिकारीले जानकारी दिए। विसं २०७४ पुस १० गते आयोजनाको चारकिल्लासहित नेपाल राजपत्रमा सूचना प्रकाशित भएको थियो । विसं २०७७ पुस १२ मा अन्तिम प्रतिवेदन बुझाइएको भन्दै बाटोको किल्ला तोक्ने कार्य सकिएको उनले बताए । उनले भने, “नगर विकास समितिबाट स्वीकृत भई जग्गा अधिग्रहण र जग्गाको कित्ता कायम गर्न बाँकी छ ।”
     
    गत आवमा कार्यालयबाट बाह्रपिर्के हाट बजारको परिसर स्तरोन्नतिमा ८० प्रतिशत प्रगति हासिल भएको छ । पालुङटार स्मार्ट सिटीमा स्मार्ट डिजिटल जडान गर्नका लागि रु ७६ लाख ६५ हजार छ सय ४७ मा सम्झौता भएकामा शत्प्रतिशत प्रगति हासिल भएको अधिकारीले जानकारी दिए । उनका अनुसार नयाँ सहर आयोजनाको अपूरो भवन निर्माण गर्न रु दुई करोड १९ लाख ९९ हजारमा सम्झौता भएमा शत्प्रतिशत प्रगति भएको छ । 
     
    नयाँ सहर आयोजनाका निमित्त प्रमुख अधिकारीले पालुङटार स्मार्ट सिटीमा शिवमन्दिर, खोप्लाङ, लुङ्गी, ज्योतिचौतारा, सडक स्तरोन्नतिका लागि रु एक करोड ७० लाख तीन हजार छ सय चारमा सम्झौता भएकामा शतप्रतिशत प्रगति भएको उल्लेख गरे ।  
     
    डुम्रे भन्सार नारेश्वरटार सडक स्तरोन्नतिका लागि रु ७१ लाख सात हजार तीन सय चारमा सम्झौता भएकामा ६० प्रतिशत भौतिक र ५७ दशमलव सात प्रतिशत वित्तीय प्रगति भएको छ । 
     
    बन्दीपुर–४ तल्लो डुम्रे चुनेढाड, खहरे, बिरुवा, आलेगाउँ हुँदै शिखरडाँडा जोड्ने कच्ची मोटरमार्ग र ढाप्रेबाट बन्दीपुर केबलकारको स्टेसनसम्म जोड्ने सडक स्तरोन्नतिमा शत्प्रतिशत प्रगति हासिल भएको अधिकारीले जानकारी दिए । 
     
    आन्तरिक बसाइँसराइलाई व्यवस्थित गर्न मध्यमहाडी लोकमार्गको वरिपरि १० नयाँ सहर स्थापना गर्ने सरकारको नीतिअनुरुप विसं २०९० सम्ममा व्यवस्थित बस्तीसहितको पूर्वाधार तयार गर्न तनहुँमा साबिकको भानु गाविस–१, २, ३, ४ र साबिकको बन्दीपुर गाविस–१, २, ३ र ४ समेटी नयाँ सहर आयोजना डुम्रे भन्सारको सुरुखात भएको हो ।
     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार