बाढीले क्षति पुर्याएको धादिङको जहरे सबस्टेसन पुनः सञ्चालनमा
बाढीले क्षति पुर्याएको धादिङको जहरे सबस्टेसन पुनः सञ्चालनमा
काठमाडौं — बाढीका कारण डुबानमा परी क्षतिग्रस्त भएको धादिङको जहरे सबस्टेसन मर्मतसम्भार पश्चात् पुनः सञ्चालनमा आएको छ। गत भदौ १० गते आएको भोटेकोशी नदीको बाढीले जहरेखेतस्थित सबस्टेसनमा १० फिटसम्मै लेदोयुक्त पानी जम्न पुगेको थियो, जसका कारण त्यहाँका विद्युतीय उपकरण तथा संरचनाहरूमा उल्लेख्य क्षति भएको थियो।
क्षति भएसँगै नेपाल विद्युत् प्राधिकरणले जनशक्ति, उपकरण र आवश्यक सामग्री परिचालन गर्दै मर्मत तथा पुनःस्थापनाको काम तीव्र गतिमा अघि बढाएको थियो। लामो समयको प्रयासपछि भदौ २८ गते दिउँसो २ बजेदेखि सबस्टेसन पुनः सञ्चालनमा ल्याइएको हो।

सबस्टेसन सञ्चालनमा आएसँगै गजुरी बजार र आदमघाट फिडरअन्तर्गतको २२ किलो क्षेत्र तथा पीडा फिडरअन्तर्गतको किरान्चोक–मिलनटार लगायतका क्षेत्रहरूमा विद्युत् सेवा पुनःस्थापित भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सबस्टेसन सञ्चालनमा आएसँगै प्रभावित क्षेत्रहरूमा विद्युत् आपूर्ति क्रमशः सामान्य हुँदै गएको छ। नियमित र भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाइएको प्राधिकरणले थपेको छ।
