images

Oct 05 2024 | २०८१, असोज १९ गते

चाडपर्वले बढायो कर्जाको माग, १४ दिनमै बाणिज्य बैंकहरुले गरे २१ अर्ब लगानी

चाडपर्वले बढायो कर्जाको माग, १४ दिनमै बाणिज्य बैंकहरुले गरे २१ अर्ब लगानी

एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज १७ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज १७ २०८१
  • चाडपर्वले बढायो कर्जाको माग, १४ दिनमै बाणिज्य बैंकहरुले गरे २१ अर्ब लगानी

    काठमाडौँ । जारी असोज महिनामा पनि बैंकहरुमा कर्जाको माग उच्च देखिएको छ । यस महिनाको १ गतेदेखि १४ गतेसम्ममा मात्रै बाणिज्य बैंकहरुले २१ अर्ब रुपियाँ कर्जा प्रवाह गरेका छन् । 

    images
    images
    images

    कर्जा बक्यौता (आउटस्टान्डिङ)को आधारमा असोजको पहिलो १४ दिनमा बाणिज्य बैंकहरुले सो बराबरको कर्जा प्रवाह गरेको देखिएको हो । हाल नेपालमा २० वटा बाणिज्य बैंक छन् ।  भदौ मसान्तसम्म उनीहरुको कूल कर्जा प्रवाह ४६ खर्ब २६ अर्ब रुपियाँ थियो । असोज १४ गतेसम्म आउँदा त्यो बढेर ४६ खर्ब ४७ अर्ब रुपियाँ पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । 

    पछिल्लो समय कायम आर्थिक शिथिलताको अवस्थामा १४ दिनमै २१ अर्ब रुपियाँले कर्जा प्रवाह बढ्नुलाई राम्रो मान्नुपर्ने बैंकहरु बताउँछन् । गत भदौमा पनि ५३ अर्ब रुपियाँ कर्जा प्रवाह भएको थियो ।  

    त्यसअघि जेठमा २० अर्ब  रुपियाँ, असारमा २९ अर्ब रुपियाँ र साउनमा दुई अर्ब रुपियाँले मात्रै कर्जा प्रवाह बढेको थियो । त्योअनुसार भदौयता कर्जाको माग केही बढेको देखिन्छ । नेपाली बैंकिङ क्षेत्रमा बिगत दुई बर्षदेखि कर्जाको माग न्यून छ । बैंकहरुमा खर्बौं रुपियाँ कर्जा लगानीयोग्य पुँजी थुप्रिएर बसेको बेला चाडपर्व नजिकिएसँगै कर्जाको माग केही बढेको बैंकरहरु बताउँछन् । 

    बिशेषगरि, यस अवधीमा तीज, दशैं तिहार जस्ता पर्वले कर्जाको माग बढेको बताइन्छ । यो समयमा नेपालीहरुले किनमेल बढी गर्छन् । त्यसलाई दृष्टिगत गर्दै उपभोक्ताहरुको मागअनुसार सामानहरु जुटाउन व्यापारीहरुले बैंकबाट कर्जा लिएर व्यापारमा लगानी गरेको देखिन्छ । त्यसले गर्दा पछिल्लो समय कर्जाको माग बढेको बैंकहरु बताउँछन् । 

    पछिल्लो समय शेयर कर्जाको माग पनि उच्च रहेको छ । यद्यपि, अझै पनि बाणिज्य बैंकहरुमा पौने सात खर्ब रुपियाँ हारहारीमा लगानीयोग्य पुँजी छ । निक्षेपको तुलनामा अझै पनि कर्जा प्रवाह कम्जोर नै छ । असोज १४ गतेसम्म बाणिज्य बैंकहरुको कूल निक्षेप ५८ खर्ब ४७ अर्ब रुपियाँ छ । त्यसमा ४६ खर्ब ४७ अर्ब रुपियाँ कर्जा प्रवाह भइसकेको छ ।

    अहिले उनीहरुको औशत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.२४ प्रतिशत छ । बैंकहरुले सीडी रेसियो ९० प्रतिशतसम्म पुग्नेगरि कर्जा प्रवाह गर्न पाउँछन् । त्योअनुसार बाणिज्य बैंकहरुले अझै निक्षेपको ११.४८ प्रतिशत रकम कर्जा प्रवाह गर्न पाउँछन्, जुन रकम छ खर्ब ७१ अर्ब रुपियाँ हुन आउँछ ।

    पछिल्लो बाढी पहिरोले कर्जाको माग तत्काल केही प्रभावित हुने पनि देखिएको छ । बाढी पहिरोबाट प्रभावित पूर्वाधारहरुको पुनर्निर्माणका लागि पनि कर्जाको माग बढ्ने देखिन्छ । पहिरोमा सवारी साधान गुमाएका व्यवसायीले पनि नयाँ सवारी साधानको खरीद लागि कर्जाको माग गर्न सक्छन् ।

    तर, पछिल्लो बाढी पहिरोले दशैंलाई नमज्जाले प्रभावित बनाएको छ । मानवीय र भौतिक क्षतिसँगै थुप्रै परिवार विस्थापित भएका छन् । सडक अवरुद्ध हुँदा र मौसमको अन्योलताले रोजगारी तथा अध्ययनका लागि विभिन्न ठाउँ पुगेको व्यक्तिहरुलाई दशैंमा घर फर्किन समेत चुनौती सिर्जना हुँदा कर्जाको मागमा प्रभाव परेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट