एमालेलाई जग्गा दानविरुद्ध परेको रिट ‘हेर्न नमिल्ने’ मा
एमालेलाई जग्गा दानविरुद्ध परेको रिट ‘हेर्न नमिल्ने’ मा
काठमाडौँ । व्यवसायी मीनबहादुर गुरुङले एमालेलाई दिएको जग्गाविरुद्ध परेको मुद्दा हेर्न नमिल्नेमा राखिएको छ । न्यायाधीश नहकुल सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा अन्तरिम आदेश दिने-नदिने छलफलका लागि सोमबार तोकिएको पेशी हेर्न नमिल्नेमा राखिएको छ ।
न्यायाधीश सुवेदीले यसअघि भाटभटेनीका सम्बन्धमा परेका मुद्दा हेरिसकेका कारण यो मुद्दा हेर्न नमिल्नेमा परेको हो । यसअघि कात्तिक ८ गते पनि यो मुद्दाको सुनुवाइका लागि नहकुल सुवेदीको इजलासमा तोकिएको पेशी हेर्न नमिल्नेमा राखिएको थियो ।
यस मुद्धामा कात्तिक १२ गते न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ र अल्पकालीन अन्तरिम आदेश जारी गर्दै तत्काल उक्त जग्गामा कुनै संरचना नबनाउन आदेश दिएको थियो ।
निवेदक अधिवक्ताहरू ज्ञानबहादुर बस्नेत, श्यामकृष्ण मास्के र अर्जुन थापाले एमाले र भाटभटेनीका सञ्चालक गुरुङलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।