जल, जमिन र आकाश लक्षित महोत्सवले गुलजार पोखरा
जल, जमिन र आकाश लक्षित महोत्सवले गुलजार पोखरा
पोखरा । अङ्ग्रेजी नयाँ वर्षको आगमनसँगै पोखरा गुलजार बनेको छ । जल, जमिन र आकाश लक्षित महोत्सवले स्वदेशी र विदेशी पर्यटक आकर्षित मात्रै गरेको छैन, यहाँको पर्यटकीय गतिविधि चलायनमान बनाएको छ ।
हाल यहाँ २६औँ संस्करणको सडक महोत्सव, बिवाइडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव र दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेस चलिरहेका छन् । क्रिसमस सकिएर नयाँ वर्षको रौनक सुरु भइसकेको पर्यटन राजधानी पोखरामा महोत्सवले थप गतिविधि बढाएका छन् । महोत्सवले पोखरालाई पर्यटकीय गन्तव्यका रूपमा विश्वसामु चिनाउन थप भूमिका खेल्ने विश्वास गरिएको छ ।
रेस्टुरेन्ट एन्ड बार एशोसिएशन (रेवान) पोखराले सन् १९९८ मा सुरु गरेको पोखरा सडक महोत्सव अहिले पोखराको ब्राण्डनै बनेको छ “सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ” भन्ने नारालाई जीवन्त बनाउँदै महोत्सवले हजारौँ पर्यटकलाई आकर्षित गरेको छ । लेकसाइडको तीन किलोमिटर क्षेत्र साङ्गीतिक कार्यक्रम, मौलिक झाँकी, वेषभूषा प्रदर्शनी र अन्तर्राष्ट्रिय खानाको प्रदर्शनीले भरिएको छ ।
महोत्सवले आन्तरिक र बाह्य पर्यटकलाई पोखराको सांस्कृतिक र प्राकृतिक सौन्दर्यसँग परिचित गराउनुका साथै स्थानीय उत्पादनको प्रवद्र्धनमा सहयोग पु-याएको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल बताए । उनका अनुसार यो महोत्सव नेपाली पर्यटनलाई अन्तर्राष्ट्रिय मानचित्रमा स्थापित गर्ने महत्वपूर्ण माध्यम हो । महोत्सवमा कृषि उत्पादन, हस्तकला, र वनस्पतिको प्रदर्शनी विशेष आकर्षण बनेको छ ।
स्थानीय किसान, व्यवसायी, र कलाकारले आफ्नो उत्पादन प्रदर्शन गर्दै नयाँ बजारको पहुँच पाएका छन् । विभिन्न जातजातिका परम्परा, साङ्गीतिक झाँकी र कला प्रदर्शनी प्रस्तुत गरेर सांस्कृतिक विविधतालाई उजागर गर्दै आएको महोत्सवले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको संयोजक विकास भट्टराईको भनाइ छ ।
पहिलो पटक आयोजना गरिएको बीवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सवले पोखराको पर्यटकीय महत्वलाई अझै उचाइमा पु-याइएको छ । फेवातालको शिरानमा सुरु भइरहेको यो महोत्सवमा नेपालसहित १५ देशका पाइलटले सहभागिता जनाएका छन् । रङ्गिन र विभिन्न आकार र डिजाइनका १७ वटा भव्य बेलुन आकाशमा उडिरहँदा आकाश शृङ्गारिएको छ भने तालमा देखिने सुन्दर दृश्य अवर्णित छन् ।
पर्यटकले आकाशबाट हिमालय शङ्खला, हरियाली र फेवातालको सौन्दर्यको अनुभव गर्दै पोखरालाई नयाँ दृष्टिकोणबाट नियाल्न सकेको पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताउँछन् । “यो महोत्सवले पर्यटकको बसाइँ लम्ब्याउने मात्र नभइ अन्तर्राष्ट्रिय मिडियामासमेत ध्यानाकर्षण गरेको छ”, पहारीले भने, “यो महोत्सवले पोखरालाई साहसिक र मनोरञ्जनात्मक गतिविधिको आकर्षक गन्तव्यका रूपमा स्थापित गरेको छ ।” बेलुन महोत्सव, ड्रागन बोट रेस र सडक महोत्सवले पोखराको पर्यटकीय महत्वलाई नयाँ उचाइमा प-याउँदै पर्यटनमा नयाँ आयाम थपेको उनको भनाइ छ ।
बेलुन नेपाल प्रालिका अध्यक्ष विक्रम बाडेका अनुसार बेलुन महोत्सवले मनोरञ्जन मात्र होइन, साहसिक पर्यटनको नयाँ ढोका खोल्दै पोखरालाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्रविन्दु बनाउने प्रयास गरिरहेको छ ।
आजदेखि फेवातालमा सुरु भएको दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेसले पोखरामा पर्यटनमा रौनक थपेको छ । नेपाल, चीन, र सिङ्गापुरका २० टोलीबीचको यो प्रतिस्पर्धाले खेलकुद र पर्यटनलाई जोड्ने कार्य गरिरहेको छ ।
बेलुन नेपाल प्रालिका बीबी ढकालले नेपालको हट एयर बेलुनले अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा पाएको उल्लेख गरे । “महोत्सवबारे अन्तर्राष्ट्रिय अखबारले पहिलो पृष्ठमै तस्बिर प्रकाशित गरेका छन्, यसबाट नेपालको पर्यटन प्रवद्र्धनमा यसले ठूलो सहयोग पुगेको हाम्रो विश्वास छ ।”
पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, र नेपालस्थित चिनियाँ दूतावासको सहकार्यमा आयोजित महोत्सवले फेवाताललाई अन्तर्राष्ट्रिय खेलकुद गन्तव्यका रूपमा चिनाउने विश्वास लिइएको छ ।
पोखरा महानगरका प्रमुख धनराज आचार्यले महोत्सवले साहसिक गतिविधिमा पोखराको भूमिका विस्तार गर्न यस महोत्सवले सघाउने विश्वास व्यक्त गरे । “ड्रागन बोट रेसको रोमाञ्चकता, बेलुन महोत्सवको साहसिकता, र सडक महोत्सवको सांस्कृतिक झल्कोले पोखरालाई त्रिकोणीय महोत्सवको उत्कृष्ट उदाहरण बनाएको छ ।”
त्रिकोणीय महोत्सवले पोखराको सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य, स्थानीय उत्पादनलाई उजागर गर्दै अर्थतन्त्र र पर्यटनमा दीर्घकालीन योगदान पु-याउने सफल हुने उनको विश्वास छ । पर्यटकीय राजधानी पोखरामा अहिले भइरहेका महोत्सवले साहसिक पर्यटनको सम्भावना र नेपाली पर्यटनको उज्ज्वल भविष्यप्रति सकारात्मक सङ्केत गरेको र दीर्घकालीन पर्यटनमा पनि प्रभाव पार्ने उनको बुझाइ छ ।
प्रदेशसभा सदस्यसमेत रहेकी पर्यटन व्यवसायी देवका पहारीले त्रिकोणीय महोत्सव सडक महोत्सव, बेलुन महोत्सव र ड्रागन बोट रेस पोखराको पर्यटनलाई नयाँ ऊर्जा र पहिचान प्रदान गर्ने महत्वपूर्ण माध्यम बनेको बताए ।
“यी गतिविधिले केवल पोखराको सांस्कृतिक र प्राकृतिक सम्पदाको उजागर मात्र नगरी स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँदै अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन सफल भएको छ ।” उनले पोखराको फेवाताल, हिमालय, र सांस्कृतिक विविधताले भरिएको यो अनुभवले साहसिक खेलकूद, साङ्गीतिक उत्सव, र मौलिक उत्पादनको प्रदर्शनले पोखरालाई नयाँ उचाइमा पु-याएको बताए ।
यी महोत्सवले नेपाली पर्यटनमा थप आयाम थप्ने विश्वासका साथ, पोखरा अब सांस्कृतिक, साहसिक र मनोरञ्जनात्मक पर्यटनका लागि विश्वका शीर्ष गन्तव्यमध्ये एक बन्ने दिशामा अग्रसर देखिएको उनको भनाइ छ ।