वन्यजन्तुमैत्री वातावरण सृजना गरी संरक्षणमा सबै लाग्नुपर्छः मन्त्री ठकुरी
वन्यजन्तुमैत्री वातावरण सृजना गरी संरक्षणमा सबै लाग्नुपर्छः मन्त्री ठकुरी
ललितपुर । वन तथा वातावरणमन्त्री एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष ऐनबहादुर शाही ठकुरीले चिडियाखानालाई विस्तार गर्दै वन्यजन्तुमैत्री वातावरण सृजना गरी वन्यजन्तु संरक्षणमा सबै लाग्नुपर्ने बताएका छन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापनको २९औँ वार्षिकोत्सवका अवसरमा आज जावलाखेलमा आयोजित समारोहमा मन्त्री ठकुरीले सदर चिडियाखानाको विस्तार गर्दै पूर्वाधार विकासमा संरक्षण साझेदार र विज्ञहरूको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे ।
“चिडियाखानालाई विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय रूपमा उत्कृष्ट प्राणी उद्यान बनाउन भक्तपुरको सूर्यविनायकमा काम भइरहेको छ, १४ अर्बको लागतको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ, यो कामलाई पूर्णता दिन सरकार गम्भीर रूपले लाग्नेछ, यसमा जनप्रतिनिधिहरूको निरन्तर सहयोग आवश्यक छ”, मन्त्री ठकुरीले भने । उनले नेपाललाई प्रकृतिमय र सम्भावनाको केन्द्रका रूपमा विकास गर्दै वनलाई सम्भावना र समृद्धिसँग जोडेर अगाडि बढाउनुपर्नेमा जोड दिए ।
वनमन्त्री ठकुरीले चिडियाखानाको व्यवस्थापन कोषले गर्नेगरी निर्णय भएको भन्दै सोको कार्यान्वयन प्रयोजनका लागि सम्झौता भइसकेकाले सदर चिडियाखानाको आगामी व्यवस्थापनमा कोषलाई सफलता मिल्नेछ भन्ने विश्वास व्यक्त गरे ।
“कोषको अध्यक्षका रूपमा सदर चिडियाखानाको व्यवस्थापनमा कोषले गर्दै आएका विविध कार्यक्रमहरूलाई नजिकबाट नियाल्ने अवसर पाएको छु, विगत २९ वर्षको अवधिमा चिडियाखानाले वन्यजन्तुको व्यवस्थापन, संरक्षण शिक्षा र आगन्तुकहरूका लागि मनोरञ्जन प्रदान गर्ने कार्यमा उल्लेख्य भूमिका निर्वाह गरेको छ”, उनले भने ।
मन्त्री ठकुरीले चिडियाखानाले वन्यजन्तुको उद्धार, उपचार र पुनःस्थापनामा वन तथा वातावरण मन्त्रालयअन्तर्गतका विभिन्न निकायहरूसँग सहकार्य गरी उल्लेख्य भूमिका निर्वाह गरेकामा प्रशंसा गरे ।
“चिडियाखानाको व्यवस्थापन कोषलाई हस्तान्तरण भएपश्चात् वन्यजन्तुको सम्पूर्ण बासस्थानको पुनर्निर्माण, एम्बुलेन्स र दक्ष जनशक्ति सहितको वन्यजन्तु अस्पताल सञ्चालन, वन्यजन्तुहरूलाई पोषणयुक्त दाना आहाराको सुनिश्चितता गरिनुका साथै वन्यजन्तुको कल्याणकारी व्यवस्थालाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरू हुँदै आएको मैले पाएको छु”, उनले भने ।
मन्त्री ठकुरीले परिवेशअनुसार प्रकृतिको संरक्षण गर्दै जलवायु परिवर्तनको असरको न्यूनीकरण गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ भन्ने धारणा राखे । उनले विसं २०७१ कात्तिक २ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम आगामी ३० वर्षका लागि कोषलाई चिडियाखानाको व्यवस्थापन गर्ने जिम्मेवारीसहितको सम्झौता भएकामा खुसी व्यक्त गरे ।
“नेपाल सरकारले सातवटै प्रदेशमा प्राणी उद्यान एवं वनस्पति उद्यान निर्माण गर्ने नीति लिएको छ, यस प्रकारका उद्यान निर्माणमा कोषले प्राविधिक एवं आथिक रूपमा वन तथा वातावरण मन्त्रालयसँग सहकार्य गर्नसक्ने आधारहरू छन् । आगामी ३० वर्षको अवधिमा चिडियाखानाले आफूलाई ‘हेरिटेज जु’का रूपमा विकास गरी ऐतिहासिक महत्वसहित छुट्टै पहिचान स्थापित गर्न सक्नुपर्दछ । यस चिडियाखानालाई आगामी दिनमा यहाँ रहेका वन्यजन्तुहरूलाई अन्तर्राष्ट्रिय मापदण्डबमोजिम बासस्थानको सुनिश्चितता गर्न, वन्यजन्तु अस्पतालको स्तरोन्नति, वन्यजन्तुको उद्धार तथा अन्य चिडियाखानाको क्षमता अभिवृद्धिमा सहयोग गर्नसक्ने गरी केन्द्रीय स्रोतका रूपमा विकास गर्न म कोषका सदस्य सचिव र कोषको सम्पूर्ण समूहलाई निर्देश गर्दछु”, वनमन्त्रीले ठकुरीले भने।
प्रतिनिधिसभाका सांसद दुर्लभ थापाले जीवजन्तुले खुला रूपमा बाँच्न पाउने अवसर सृजना गर्नुपर्ने बताए । उनले सूर्यविनायकको प्राणी उद्यानलाई गौरव गर्न लायक बनाउने गरी समन्वय र सहकार्य गरेर नेपाल सरकारले उचित र प्रभावकारी व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । उनले थप ३० वर्षका लागि सदर चिडियाखानाको व्यवस्थापन गर्ने जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिएकामा खुसी व्यक्त गरे ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले संरक्षण कोषलाई चिडियाखाना व्यवस्थापनको जिम्मेवारी थप ३० वर्षका लागि दिएकामा खुसी व्यक्त गर्दै यो चिडियाखाना ललितपुर महानगरको गौरव भएको बताए । उनले यसको संरक्षण र प्रवर्द्धनका लागि महानगरले हरसम्भव प्रयास गर्ने उल्लेख गरे ।
प्रमुख महर्जनले परापूर्वकालमा लगनखेलको सप्तपाताल पोखरीको पानी चिडियाखाना आउने गरेको स्मरण गर्दै आफ्नो कार्यकालमा त्यो पूरा गरेर छोड्ने प्रतिबद्धता जनाए । उनले रात्रिकालीन समयमा चिडियाखाना अवलोकन गर्नसक्ने अवस्था हुन्छ कि हुँदैन भनेर अध्ययन गर्न महानगरले विभिन्न निकायसँग सहकार्य गर्ने जानकारी दिँदै हिजोकोभन्दा प्रभावकारी व्यवस्थापनका लागि आग्रह गरे ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुद्धबहादुर गुरुङले अबको ३० वर्ष प्रश्न नउठ्ने गरी सदर चिडियाखानाको व्यवस्थापन गर्न आग्रह गरे । उनले चिडियाखानाको क्षेत्रफल कम भएको भन्दै यसलाई वृद्धि गर्नुपर्नेमा जोड दिए ।
भक्तपुरको सूर्यविनायकको प्रस्तावित चिडियाखानालाई पूर्वाधारको विकासमा ध्यान दिएर आधुनिक बनाउन सबैले सहयोग र सहकार्य गर्नुपर्ने गुरुङको भनाइ छ । उनले राष्ट्रिय प्रकृति संरक्षण कोषले नयाँ चिडियाखानाको विकास गर्न सक्ने बताउँदै सरकारले यसको जिम्मेवारी कोषलाई नै दिनुपर्नेमा ध्यानाकर्षण गराए । उनले सदर चिडियाखानाले नयाँनयाँ कार्यक्रम र परियोजना ल्याएर यसको महत्त्वलाई बढाउन आग्रह गरे ।
मधेसी आयोगका सदस्य रेणु यादवले नेपालको प्रख्यात र दुर्लभ चराहरू, विभिन्न प्रजातिका सर्पहरू, वन्यजन्तुको संरक्षणका लागि सदर चिडियाखानाले अझै सुधार गर्नुपर्नेमा जोड दिए । पर्यटकको वृद्धि अनुसार थप पर्यटकलाई आकर्षक गर्नेगरी थप पूर्वाधार विस्तार गर्दै जानुपर्नेमा उनले जोड दिए।
वन तथा वातावरण मन्त्रालयका सचिव डा दीपककुमार खरालले वन्यजन्तु संरक्षणका क्षेत्रमा मन्त्रालयबाट सकारात्मक, प्रभावकारी सहयोग र समन्वय हुने प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले सदर चिडियाखाना सबैले अपनत्व गर्ने संस्थाका रूपमा विकसित होस् भन्ने कामना व्यक्त गरे । उनले दुर्लभ र लोपोन्मुख वन्यजन्तु संरक्षणका लागि प्रभावकारी ढङ्गले अगाडि बढाउन आग्रह गर्दै विभागबाट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले चिडियाखानाको दायरा साँघुरो अवस्थामा रहेको बताउँदै यसलाई विकास र विस्तार गर्ने कार्यलाई ध्यान दिनुपर्नेमा जोड दिए ।
साझेदार संस्थाहरूका तर्फबाट डा घनश्याम गुरुङले नेपालको विकासका वन्यजन्तुको संरक्षण गर्दै पर्यटनको विकासका लागि काम गर्नुपर्नेमा जोड दिए ।
‘फ्रेन्डस्अफ जु कमिटी’का अध्यक्ष खगेन्द्र नेपालले संरक्षण शिक्षाको पर्यायका रूपमा विद्यालयलाई समावेश गरेर लैजाने सोचअनुरुप ल्याएको अभियानमा एक लाख २० हजारभन्दा बढी विद्यार्थी समाहित भएका जानकारी गराए । यसले देशका विभिन्न क्षेत्रमा संरक्षणसम्बन्धी शिक्षा पुग्ने उनले विश्वास व्यक्त गरे ।
प्रकृति संरक्षण कोषका निर्देशक चिरञ्जीवी पोखरेलले विसं १९८९ मा तत्कालीन प्रधानमन्त्री जुद्धशम्शेर जङ्गबहादुर राणाले स्थापना गरेको सदर चिडियाखानाको व्यवस्थापन राष्ट्रिय प्रकृति संरक्षण कोषलाई ६० वर्षका लागि हस्तान्तरण गर्ने भनी विसं २०५२ पुस १४ गतेको मन्त्रिपरिषद्बाट भएको निर्णयबमोजिम कोषले चिडियाखाना व्यवस्थापन गरेको २९ वर्ष पूरा भएको जानकारी गराए ।
कोषले वन्यजन्तुको शारीरिक तथा मासिक स्वस्थताका लागि अन्राष्ट्रियस्तरको मापदण्ड तथा अभ्यासलाई अनुशरण गर्दै पोषणयुक्त दानाका लागि ‘डाइट चार्ट’ तयार गरी सोहीबमोजिम दाना आहारा उपलब्ध गराउने, दक्ष प्राविधिक, एम्बुलेन्स र ल्याबसहितको वन्यजन्तु अस्पताल सञ्चालन गर्ने, साथै घाइते, अस्वस्थ, समस्याग्रस्त वन्यजन्तुको उद्धार व्यवस्थापनको छुट्टै इकाइ व्यवस्था गरी सञ्चालन गर्ने र वन्यजन्तु प्रजननमार्फत स्वस्थानीय संरक्षण कार्यसमेत योगदान गरेको निर्देशक पोखरेलले जानकारी दिए ।