Jan 14 2025 | २०८१, माघ १ गते

images
images

आँखा उपचार सेवामा योगदान पुर्‍याउने विभिन्न व्यक्ति सम्मनित

आँखा उपचार सेवामा योगदान पुर्‍याउने विभिन्न व्यक्ति सम्मनित

एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस २६ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस २६ २०८१
  • आँखा उपचार सेवामा योगदान पुर्‍याउने विभिन्न व्यक्ति सम्मनित

    काठमाडौँ । अन्धोपन निवारण तथा आँखा उपचार सेवामा उत्कृष्ट योगदान पुर्‍याएबापत मुलुकका विभिन्न स्थानीय तहलाई नेत्रज्योति विशिष्ट सम्मान प्रदान गरिएको छ । 

    images
    images
    images

    आज यहाँ आयोजित नेपाल नेत्रज्योति सङ्घको केन्द्रीयसभाको २९औँ अधिवेशनमा नेत्रज्योति विशिष्ट सम्मानसहित अन्य सात विधामा विभिन्न व्यक्ति तथा सङ्घसंस्थालाई सम्मान गरिएको हो ।

    सुदूरपश्चिम र बागमती प्रदेश सरकार, भरतपुर महानगरपालिका (चितवन), लहान नगरपालिका (सिरहा), गुर्भाकोट नगरपालिका (सुर्खेत), लमही नगरपालिका (दाङ), गढवा नगरपालिका (दाङ) र नर्वेको आर्थिक सहयोग (एनएबिपी) लाई नेत्रज्योति विशिष्ट सम्मान प्रदान गरिएको नेपाल नेत्रज्योति सङ्घले जनाएको छ ।

    यसैगरी नारायण शर्मा नेत्रज्योति सम्मान इन्द्र कसजु (नेपाल नेत्रज्योति सङ्घ खोटाङ) र कृष्ण धरेल (चितवन), नेत्रज्योति डा रामप्रसाद पोखरेल सम्मान ध्रुव केसी, शेरबहादुर थापा, मधु राणा, तेज मोक्तान, दलहादुर केसी तथा नेत्रज्योति सम्मानबाट लमही आँखा अस्पताल, नेपाल नेत्रज्याति सङ्घ रुपन्देही, डा पुरुषोत्तम जोशी र अतुल मिश्रलाई प्रदान गरिएको सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तले जानकारी दिए । 

    यसैगरी नेत्रज्योति सम्मान सुवास नेपाल (आँखा अस्पताल पोखरा), डा सन्तोष सुवेदी (राप्ती आँखा अस्पताल दाङ), अभिषेक रोशन र डा विजयकुमार चौधरी (सगरमाथा चौधरी आँखा अस्पताल, लहान), सपना कपाली (भरतपुर आँखा अस्पताल), सञ्जिव अधिकारी (रण अम्बिका शाह आँखा अस्पताल, भैरहवा), क्षितिज बराल (तेजरत्न आँखा उपचार केन्द्र सङ्खुवासभा), हरिहर श्रेष्ठ (आँखा उपचार केन्द्र खोटाङ), वीरबहादुर कार्की (आँखा उपचार केन्द्र गुल्मी) र श्यामप्रसाद सापकोटा (नेपाल नेत्रज्याति सङ्घ काठमाडौँ) लाई प्रदान गरिएको थियो । 

    चस्मामा ‘भ्याट’ नलाग्ने व्यवस्थाका लागि प्रयास गर्ने मन्त्रीद्वयको प्रतिबद्धता 

    आगामी आर्थिक वर्षदेखि आँखा उपचार सेवासम्बन्धी चस्मामा मूल्य अभिवृद्धि कर (भ्याट)सहितका कुनै पनि कर नलाग्ने व्यवस्थाका लागि प्रयास गरिने उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बताएका छन्

    आज यहाँ आयोजित कार्यक्रममा मन्त्रीद्वयल “आँखा उपचारसँग सम्बन्धित चस्मामा अगामी आवदेखि भ्याट नलाग्ने व्यवस्थाका लागि प्रधानमन्त्री, अर्थमन्त्रीसँग छलफल गरी पहल गर्नेछौँ । फेसनसम्बन्धी चस्मामा भने कर छुटको व्यवस्था हुँदैन”, उपप्रधानमन्त्री सिंहले भने ।

    नेत्रज्योति सङ्घको अधिवेशनमा सहभागीले आँखा उपचारसँग सम्बन्धित चस्मामा सरकारले कर लगाउँदा गम्भीर समस्या परेको जनाउँदै कर फिर्ता लिन सरकारसँग आग्रह गरेसँगै मन्त्रीद्वयले सोका लागि पहल गर्ने जनाएका थिए ।

    उपप्रधानमन्त्री सिंहले भने, “के–कति कारणले आँखा उपचारसँग सम्बन्धित चस्मामा भ्याट लाग्ने गरेको छ, यसका बारेमा प्रधानमन्त्री, अर्थमन्त्रीसँग छलफल गर्नेछौँ । आगामी आवदेखि कर नलाग्ने व्यवस्था गर्न प्रयास गर्नेछु ।” उनले सङ्कटासन्न समुदायमा आँखा उपचारसम्बन्धी सेवाको पहुँच पुग्न नसकेको बताउँदै तीनै तहका सरकारसँगको समन्वयमासेवा विस्तार गर्न सङ्घलाई आग्रह गरे । 

    स्वास्थ्यमन्त्री पौडेलले भने, “आँखा उपचारसँग सम्बन्धित चस्मामा भ्याट नलाग्ने व्यवस्था गर्न पहिलो प्राथमिकतामा राखी मन्त्रालयले प्रयास गर्नेछ । छात्रवृत्तिमा अध्ययन गरेका जनशक्तिलाई आँखा उपचारमा खटाउने छौँ ।” सबै स्वास्थ्य संस्थालाई दर्ता प्रणालीमा आबद्ध हुन आग्रह गर्दै उनले राम्रो सेवा दिनेलाई पुरस्कृत गरिने उल्लेख गरे ।

    मन्त्री पौडेलले सेवा विस्तारका लागि सरकार र सङ्घका बीचमा द्विपक्षीय हस्ताक्षर हुन लागेको जानकारी दिँदै यसबाट आँखा उपचारको पहुँच बढ्ने विश्वास व्यक्त गरे । सङ्घका अध्यक्ष प्रा डा पन्त, उपाध्यक्ष श्यामकुमार पोखरेल र महासचिव भरतबहादुर चन्दले आँखा उपचार सेवासँग सम्बन्धित चस्मामा सरकारले भ्याट लिँदा सेवाग्राहीलाई समस्या परेको बताएका थिए । कार्यक्रममा नेत्र विशेषज्ञ प्रा डा देवनारायण साहले आँखा उपचार सेवा विश्वको तुलनामा नेपालमा सस्तो रहको जनाउँदै चस्मामा भ्याट नलिन सरकारसँग आग्रह गरे । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट