आज पनि बजारबाट ९० अर्ब झिक्दै राष्ट्र बैंक
आज पनि बजारबाट ९० अर्ब झिक्दै राष्ट्र बैंक
काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज बुधबार फेरि ९० अर्ब रुपैयाँ झिक्न लागेको छ ।
अधिक तरलता व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । लामो समय देखि बजारमा पैसा धेरै भए पनि व्यवस्थापनका लागि राष्ट्र बैंकले सातामा कम्तीमा दुई पटक पैसा झिक्दै आएको छ । सोही क्रममा आज पनि ९० अर्ब रुपैयाँ राष्ट्र बैंकले झिक्न लागेको हो ।
यसका लागि अहिले दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।