Aug 12 2026 | २०८३, साउन २७ गते

उद्योग संगठन मोरङद्वारा आयोजित ‘सीप उत्सव २०८३’ सम्पन्न

उद्योग संगठन मोरङद्वारा आयोजित ‘सीप उत्सव २०८३’ सम्पन्न

एभरेष्ट हेडलाइन्स
सोमबार, असार १ २०८३
एभरेष्ट हेडलाइन्स
सोमबार, असार १ २०८३
  • उद्योग संगठन मोरङद्वारा आयोजित ‘सीप उत्सव २०८३’ सम्पन्न

    विराटनगर । युवा तथा विद्यार्थीहरूलाई सीप, करियर तथा उद्योगसँग आबद्ध गराउने उद्देश्यका साथ उद्योग संगठन मोरङको आयोजनामा, स्विस सरकारको आर्थिक सहयोग, इन्स्योर/हेल्भेटास नेपालको प्राविधिक सहयोग तथा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा सीप उत्सव २०८३ सफलतापूर्वक सम्पन्न भएको छ।

    images

    "सीपका लागि उद्योग, करियरका लागि भविष्य" भन्ने मूल नाराका साथ आयोजित उक्त उत्सवमा झापा, मोरङ र सुनसरी जिल्लाका २५ विद्यालय तथा प्राविधिक शिक्षालयका एक हजारभन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

    उत्सवलाई विद्यार्थीहरूको करियर यात्राका रूपमा परिकल्पना गरी डिजाइन गरिएको थियो, जहाँ सहभागीहरूले विभिन्न सिकाइका क्षेत्रहरू अवलोकन गर्दै आफ्नो रुचि, क्षमता, सम्भावित करियर तथा उद्योगसँगको सम्बन्धबारे प्रत्यक्ष अनुभव हासिल गरेको उद्योग संगठन मोरङले जनाएको छ।

    समापन कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले उद्योग क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको अभाव र शिक्षाबाट उत्पादित जनशक्तिको सीपबीच विद्यमान अन्तरलाई न्यून गर्ने उद्देश्यले संगठनले अप्रेन्टिसशिप कार्यक्रम तथा सीप उत्सव जस्ता अभियानहरू सञ्चालन गर्दै आएको बताए। उनले विद्यार्थीहरूलाई उद्योगको वास्तविक वातावरण, करियर सम्भावना तथा सीप विकासका अवसरसँग प्रत्यक्ष आबद्ध गर्न सफल भएको उल्लेख गर्दै दक्ष जनशक्ति विकासमा निजी क्षेत्र पनि अग्रसर हुनुपर्ने धारणा राखे।

    समापन समारोहका प्रमुख अतिथि कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका मन्त्री राम प्रसाद महतोले सीपयुक्त जनशक्ति निर्माण वर्तमान समयको अपरिहार्य आवश्यकता भएको उल्लेख गर्दै उद्योग र शिक्षाबीचको सहकार्यलाई थप सुदृढ तथा प्रभावकारी बनाउनुपर्ने बताए। उनले युवाहरूलाई रोजगार खोज्ने मात्र नभई अवसर सिर्जना गर्ने दिशामा अग्रसर हुन प्रेरित गर्दै यस्ता कार्यक्रमले प्रदेशको उद्यमशीलता विकासमा महत्त्वपूर्ण टेवा पुर्‍याउँदै नवउद्यमशीलता प्रवर्द्धनमा सघाउने विचार व्यक्त गरे।

    उद्योग संगठन मोरङका कार्यसमिति सदस्य एवं मानव संसाधन विकास समितिका संयोजक दीपक अग्रवालले उत्सवमा सञ्चालन गरिएका १० वटा सिकाइ तथा अनुभवात्मक जोनहरूले विद्यार्थीहरूलाई करियर परीक्षण, करियर परामर्श, उद्योग अवलोकन, प्रत्यक्ष सीप प्रदर्शन, नवप्रवर्तन तथा उद्यमशीलतासँग आबद्ध हुने सुअवसर प्रदान गरेको बताए। उनले उक्त कार्यक्रमबाट विद्यार्थीहरूमा सीपमुखी शिक्षा तथा करियरप्रतिको सकारात्मक दृष्टिकोण विकास भएको विश्वास व्यक्त गरे।

    उत्सव अन्तर्गत प्रेरणादायी सत्र, करियर परीक्षण, करियर काउन्सेलिङ, करियर ट्री, मेरो देश मेरै उत्पादन, प्रत्यक्ष तालिम अनुभव, सीप प्रतिस्पर्धा, नवप्रवर्तन तथा उद्यमशीलता प्रदर्शनी लगायतका विविध गतिविधिहरू सञ्चालन गरिएका थिए।

    साथै सीप प्रतिस्पर्धामा अटोमोबाइल क्षेत्रबाट महमोहन स्मृति पोलिटेक्निक हातिमुडाका मोहम्मद जेसन अन्सारी, होटल म्यानेजमेन्ट क्षेत्रबाट नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालय इटहरीकी आकृति पौडेल र सूचना प्रविधि क्षेत्रबाट कन्काई पोलिटेक्निकका मनिष घिमिरे प्रथम स्थान हासिल गर्दै स्किल आइकन २०८३ को सम्मान प्राप्त गर्न सफल भएका छन्। विजेताहरूलाई संगठनका अध्यक्ष नन्दकिशोर राठी र कोशी प्रदेशका सामाजिक विकास मन्त्री राम प्रसाद महतोले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे।

    नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले नवउद्यमशीलता र दक्ष जनशक्ति विकासमा सरोकारवाला सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताउँदै स्थानीय स्तरमा दक्ष जनशक्ति उत्पादन तथा रोजगारीका अवसर विस्तारमा समन्वयात्मक प्रयासको आवश्यकता औँल्याए।

    नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन शारडाले सीप उत्सवले विद्यार्थीहरूलाई सीप, उद्योग, रोजगार, उद्यमशीलता तथा नवप्रवर्तनसँग आबद्ध गराउँदै सीपदेखि करियरसम्मको यात्रालाई व्यावहारिक रूपमा अनुभव गराएको बताए।

    मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल शाहले विद्यार्थीहरूलाई आफ्नो भविष्यप्रति स्पष्ट दृष्टिकोण निर्माण गर्न तथा स्थानीय अवसरहरूको पहिचान गर्न सीप उत्सव सहयोगी सिद्ध भएको धारणा राखे।

    कार्यक्रममा कोशी प्रदेशका विभिन्न प्राविधिक शिक्षालयहरूका साथै निजी क्षेत्रका संघ-संस्था, विकास साझेदारहरू, विभिन्न विद्यालय तथा कलेजका शिक्षक, विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय सहभागिता रही कार्यक्रम थप अर्थपूर्ण बनेको थियो।

    1 (1).jpeg4 (1).jpeg3 (1).jpeg

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट