देशभर अविरल वर्षा, पहिरो र बाढीले राजमार्ग अवरुद्ध; ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम
देशभर अविरल वर्षा, पहिरो र बाढीले राजमार्ग अवरुद्ध; ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम
३७ जिल्लामा आकस्मिक बाढीको जोखिम
मनसुनको बाँकी अवधि अझै दुई महिना जति रहेको अवस्थामा आकाशले बर्साइरहेको हरेक थोपाले पहाडका डाँडापाखा र नदी किनारमा बसोबास गर्ने लाखौं नेपालीको जीउज्यान र सम्पत्तिलाई जोखिममा पारिरहेको छ। एकातर्फ राजमार्गहरू बारम्बार बन्द हुँदा दैनिक जनजीवन र अर्थतन्त्र दुवै प्रभावित भइरहेका छन् भने अर्कोतर्फ ३७ जिल्लामा जारी आकस्मिक बाढीको चेतावनीले आगामी दिन थप कठिन हुनसक्ने संकेत गरेको छ। यस्तो अवस्थामा सरकारी निकायको पूर्वसूचना प्रणालीलाई गम्भीरतापूर्वक लिँदै हरेक नागरिकले सतर्कता अपनाउनु नै हाल सबैभन्दा ठूलो सुरक्षा उपाय हो।
काठमाडौं। मनसुन सक्रिय भएसँगै विगत दुई दिनदेखि देशभर भइरहेको अविरल वर्षाका कारण विभिन्न जिल्लामा पहिरो र बाढीले जनजीवन प्रभावित पारेको छ। वर्षाका कारण मुलुकका प्रमुख राजमार्ग तथा सडकखण्डहरूमा सवारी आवागमन अवरुद्ध भएको छ भने विपत्तिबाट उत्पन्न हुने घटनामा थप क्षति भएको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारमा तामाकोशी नदीले सडक कटान गर्दा लामोसाँघु–रामेछाप सडकखण्ड अवरुद्ध भएको छ भने रसुवाको उत्तरगया गाउँपालिका–५ मा त्रिशूली नदीले खल्ते पासाङ ल्हामु सडकखण्ड पूर्ण रूपमा काटेको छ।
गोरखाको धार्चे गाउँपालिका–३ अन्डरडाँडाको लार्के–बेनीघाट कच्ची सडक पहिरोले पूर्ण बन्द भएको छ भने इलाम नगरपालिका–९ को मेची राजमार्ग वर्षाले हिलाम्य भएकाले पूर्ण रूपमा बन्द भएको छ। यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र रघुगंगा गाउँपालिका–२ मा खरेको पहिरोले बेनी–जोमसोम सडकखण्ड समेत बन्द भएको छ। मुग्लिन–नारायणगढ सडकमा पनि पहिरो खसेपछि सडक एकतर्फी मात्र सञ्चालनमा छ।
सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गअन्तर्गत खुर्कोट,नेपालथोक,कटुन्जेबेँसी सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमनमा रोक लगाइएको छ। त्यसैगरी कान्ति राजमार्गमा पनि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन निषेध गरिएको छ।
प्राधिकरणका अनुसार यस वर्ष वैशाख १ गतेदेखि साउन १७ गतेसम्म देशभर विपद्का कुल ४ हजार ५३ घटना दर्ता भएका छन्, जसमा १९६ जनाको मृत्यु भइसकेको छ। मृतकमध्ये ५४ जनाको मृत्यु एक्लै सर्पदंशबाट भएको हो। यसैगरी ४ जना अझै बेपत्ता छन् भने १ हजार २९१ जना घाइते भएका छन्। यी विपद्का घटनाबाट देशभर ५ हजार १८८ परिवार प्रभावित भएका छन्।
बाढी पूर्वानुमान महाशाखाका अनुसार वर्षा बढ्दै गएसँगै काठमाडौंसहित देशका ३७ जिल्ला र त्यसआसपासका खोला,नदीमा आकस्मिक बाढी आउने जोखिम रहेको छ। यसमा सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, पर्सा, बारा, गोरखा, मनाङ, मुस्ताङ, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, पाल्पा, गुल्मी, बागलुङ, चितवन, नवलपरासी (पूर्व र पश्चिम), रुपन्देही, सुर्खेत, दैलेख, अछाम, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुर लगायतका जिल्ला पर्छन्।
महाशाखाले यी जिल्ला र आसपासका साना नदी,खोलाहरूको बहाव उल्लेख्य रूपमा बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने जनाएको छ।
जानकारहरूका अनुसार नेपालमा पहिरोको जोखिम वर्षेनि बढ्दो क्रममा छ। विपद् जोखिम न्यूनीकरण पोर्टलको तथ्याङ्कअनुसार सन् २०११ देखि २०२५ सम्मको अवधिमा देशभर ४ हजार ६२९ पहिरोका घटना दर्ता भएका छन्, जसमा १ हजार ९०६ जनाको मृत्यु भइसकेको छ। भिरालो र कमजोर भूबनोट, अव्यवस्थित बस्ती विस्तार तथा बढ्दो चरम मौसमी घटनाका कारण पहाडी र हिमाली भूभाग विशेष गरी जोखिमपूर्ण बन्दै गएको जानकारहरूको भनाइ छ।
नेपाल प्रहरीले वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम उच्च रहने भएकाले लामो यात्रामा निस्कनुअघि सम्बन्धित जिल्ला प्रहरी कार्यालय वा निकायसँग सडकको अवस्थाबारे जानकारी लिन र आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। साथै रातिको समयमा जोखिमपूर्ण सडकखण्डहरूमा यात्रा नगर्न पनि सुझाव दिइएको छ।
मनसुनको बाँकी अवधि अझै दुई महिना जति रहेको अवस्थामा आकाशले बर्साइरहेको हरेक थोपाले पहाडका डाँडापाखा र नदी किनारमा बसोबास गर्ने लाखौं नेपालीको जीउज्यान र सम्पत्तिलाई जोखिममा पारिरहेको छ। एकातर्फ राजमार्गहरू बारम्बार बन्द हुँदा दैनिक जनजीवन र अर्थतन्त्र दुवै प्रभावित भइरहेका छन् भने अर्कोतर्फ ३७ जिल्लामा जारी आकस्मिक बाढीको चेतावनीले आगामी दिन थप कठिन हुनसक्ने संकेत गरेको छ। यस्तो अवस्थामा सरकारी निकायको पूर्वसूचना प्रणालीलाई गम्भीरतापूर्वक लिँदै हरेक नागरिकले सतर्कता अपनाउनु नै हाल सबैभन्दा ठूलो सुरक्षा उपाय हो।
समग्रमा, प्रकृतिको यो चेतावनीलाई हलुका रूपमा लिन नहुने जानकारहरूको सुझाव छ। समयमै सतर्कता, सही सूचनाको पहुँच र स्थानीय निकायसँगको समन्वयले मात्र थप ज्यान गुम्नबाट जोगाउन सकिने भएकाले आगामी दिनमा वर्षा र यसले निम्त्याउने जोखिमबारे अद्यावधिक जानकारी लिइरहन सबैलाई आग्रह गरिन्छ।
