हेलिकप्टर चार्टर तथा उद्धार उडान भाडादरमा संशोधन: १५ सेप्टेम्बरदेखि नयाँ दर लागू हुने
हेलिकप्टर चार्टर तथा उद्धार उडान भाडादरमा संशोधन: १५ सेप्टेम्बरदेखि नयाँ दर लागू हुने
१५ सेप्टेम्बरदेखि नयाँ दर लागू हुने
वायुसेवा संचालक संघ, नेपाल (AOAN)
मध्यपूर्वमा भएको द्वन्द्वका कारण विश्व बजारमा हवाई इन्धनको मूल्यमा भारी वृद्धि भएको छ। साथै Supply Chain मा भएको अवरोध र युरोपमा भएको अत्याधिक मूल्यवृद्धिका कारण पार्टपुर्जा लगायत उड्डयन वापतका शुल्कहरू तथा प्रशासनिक खर्चहरूमा समेत व्यापक वृद्धि भएको छ। यसै पृष्ठभूमिमा सेवा संचालनलाई सहजीकरण गर्नका लागि वायुसेवा कम्पनीहरूको हेलिकप्टर चार्टर तथा नेपालीहरूका लागि सहुलियत पूर्ण उद्धार उडानको भाडादर संशोधन गर्न आवश्यक भएको छ।
विगत केही महिनायता अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्य निरन्तर उकालो लाग्दै गएको छ, जसले गर्दा नेपालका आन्तरिक तथा हिमाली क्षेत्रमा सञ्चालन हुने हेलिकप्टर सेवाहरूको लागत समेत उल्लेखनीय रूपमा बढेको छ। यसका साथै अन्तर्राष्ट्रिय बजारमा पार्टपुर्जाको आपूर्तिमा आइरहेको ढिलाइ र मर्मत खर्चमा भएको वृद्धिले पनि सेवा प्रदायक संस्थाहरूलाई थप आर्थिक चापमा पारेको संघको भनाइ छ।
यी विविध कारणहरूलाई मध्यनजर गर्दै, हेलिकप्टर सेवा दिगो र भरपर्दो रूपमा सञ्चालन गर्न तथा दुर्गम क्षेत्रमा आपतकालीन उद्धार सेवा निरन्तर उपलब्ध गराउन संघमा आबद्ध वायुसेवा कम्पनीहरूले भाडादर संशोधन गर्न अपरिहार्य भएको जनाएका छन्।
संशोधित भाडादर आगामी मिति २०८३।०५।३० (तदनुसार १५ सेप्टेम्बर, २०२६) देखि लागू हुनेछ, जुन हेलिकप्टर चार्टर सेवा र नेपाली नागरिकका लागि उपलब्ध गराइने सहुलियत पूर्ण उद्धार उडान दुवैमा समान रूपमा लागू हुनेछ। भाडादर सम्बन्धी विस्तृत विवरण यसै विज्ञप्तिसँग संलग्न अनुसूचीमा उल्लेख गरिएको छ।
संघले यात्रु महानुभावहरू, ट्रेकिङ तथा पर्यटन व्यवसायी, र सरोकारवाला निकायहरूलाई नयाँ भाडादर लागू हुनुअघि नै सोबारे जानकारी लिई सोहीअनुरूप योजना बनाउन अनुरोध गरेको छ। साथै, थप जानकारी वा जिज्ञासाका लागि तल उल्लेखित सम्पर्क माध्यमबाट संघसँग सम्पर्क गर्न सकिने समेत जनाइएको छ।
यस सम्बन्धमा सम्पूर्ण यात्रु महानुभावहरू तथा सरोकारवालाहरूलाई यसै प्रेस विज्ञप्ति मार्फत हार्दिक जानकारी गराइन्छ। सहयोग र सहकार्यका लागि संघ सबैप्रति आभारी छ।
EFFECTIVE HELI NEW RATE 15 Sep 2026-Nepalese-p.pdf :To download file click here
EFFECTIVE HELI NEW RATE 15 Sep 2026-p.pdf :To download file click here
