Aug 11 2026 | २०८३, साउन २६ गते

विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा खड्गबहादुर केसी, सचिवमा रोजी श्रेष्ठ नियुक्त

विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा खड्गबहादुर केसी, सचिवमा रोजी श्रेष्ठ नियुक्त

विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा खड्गबहादुर केसी, सचिवमा रोजी श्रेष्ठ नियुक्त

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २० २०८३
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २० २०८३
  • विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा खड्गबहादुर केसी, सचिवमा रोजी श्रेष्ठ नियुक्त

    काठमाडौं, २० साउन। सरकारले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) को अध्यक्षमा प्रा. डा. खड्गबहादुर केसी र सचिवमा प्रा. डा. रोजी श्रेष्ठलाई नियुक्त गरेको छ।

    images

    बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

    नवनियुक्त अध्यक्ष प्रा. डा. केसी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष (रेक्टर) हुन्। त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा. डा. केसरजंग बरालले राजीनामा दिएपछि उनले केही समय कार्यवाहक उपकुलपतिको जिम्मेवारीसमेत सम्हालेका थिए।

    पर्वतको मोदी गाउँपालिका–५, बाजुङका स्थायी बासिन्दा प्रा. डा. केसी अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति तथा नेपालको परराष्ट्र नीतिका विज्ञका रूपमा परिचित छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा स्नातकोत्तर तथा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका छन्।

    तीन दशकभन्दा बढी समय त्रिभुवन विश्वविद्यालयमा अध्यापन, अनुसन्धान तथा शैक्षिक नेतृत्वमा सक्रिय रहेका उनले शिक्षाध्यक्षमा नियुक्त हुनुअघि त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागको प्रमुखका रूपमा काम गरेका थिए। अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति र नेपालको परराष्ट्र नीतिसम्बन्धी उनका विभिन्न अनुसन्धानमूलक पुस्तक तथा लेख प्रकाशित छन्।

    त्यसैगरी, विश्वविद्यालय अनुदान आयोगको सचिवमा नियुक्त प्रा. डा. रोजी श्रेष्ठ नेपालमा नर्सिङ विषयमा विद्यावारिधि (पीएचडी) गर्ने पहिलो नेपाली हुन्।

    नियुक्तिपूर्व उनी बी एण्ड बी अस्पतालमा नर्सिङ निर्देशकका रूपमा कार्यरत थिइन्। उनले चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम), त्रिभुवन विश्वविद्यालयबाट नर्सिङमा विद्यावारिधि उपाधि हासिल गरेकी छन्। साथै, भारतको क्रिश्चियन मेडिकल कलेज (सीएमसी), लुधियानाबाट मेडिकल सर्जिकल नर्सिङमा एमएससी तथा कलकत्ताबाट सम्बन्धित विषयमा डिप्लोमा अध्ययन पूरा गरेकी छन्। उनले नर्सिङ क्याम्पस, महाराजगञ्जबाट नर्सिङमा स्नातक र पीसीएल नर्सिङ अध्ययन पनि पूरा गरेकी हुन्।

    प्रा. डा. श्रेष्ठले बी एण्ड बी मेडिकल इन्स्टिच्युटमा क्याम्पस प्रमुख, पूर्वाञ्चल विश्वविद्यालयमा नर्सिङ प्राध्यापक, नर्भिक इन्टरनेशनल अस्पतालमा नर्सिङ निर्देशक, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापक तथा चितवन मेडिकल कलेजमा सहप्राध्यापक एवं प्रौढ स्वास्थ्य नर्सिङ विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालिसकेकी छन्।

    नर्सिङ अनुसन्धानमा विद्यावारिधि उपाधि हासिल गरेबापत उनी राष्ट्रपतिबाट ‘नेपाल विद्या भूषण’ पदकबाट सम्मानित भएकी थिइन्। साथै, नेपालमा नर्सिङ विषयमा पहिलो विद्यावारिधि गर्ने शोधकर्ताका रूपमा उनले दीक्षान्त समारोहमा प्रधानमन्त्रीबाट विशेष सम्मानसमेत प्राप्त गरेकी थिइन्।

    सरकारले विश्वविद्यालय अनुदान आयोगको नेतृत्वमा उच्च शिक्षा र अनुसन्धान क्षेत्रमा लामो अनुभव भएका दुई व्यक्तित्वलाई जिम्मेवारी दिएको छ। यस नियुक्तिसँगै उच्च शिक्षाको गुणस्तर सुधार, अनुसन्धान प्रवर्द्धन, विश्वविद्यालयबीच समन्वय तथा शैक्षिक सुधारका कार्यक्रमलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

    विश्वविद्यालय अनुदान आयोग २०५० सालको ऐनअन्तर्गत स्थापित स्वायत्त वैधानिक निकाय हो। आयोगले विश्वविद्यालय र उच्च शिक्षा संस्थालाई सरकारी अनुदान वितरण, शैक्षिक गुणस्तर मापदण्ड निर्धारण, अनुसन्धान अनुदान, छात्रवृत्ति तथा फेलोसिप सञ्चालन, नयाँ विश्वविद्यालय स्थापना सम्बन्धमा सरकारलाई सुझाव दिने तथा विश्वविद्यालयहरूबीच समन्वय गर्ने जिम्मेवारी निर्वाह गर्दै आएको छ।

    उच्च शिक्षामा गुणस्तर सुधार, अनुसन्धानलाई प्रोत्साहन, अन्तर्राष्ट्रिय सहकार्य विस्तार तथा विश्वविद्यालयहरूको संस्थागत क्षमता अभिवृद्धि अहिले आयोगका प्रमुख प्राथमिकताका विषय मानिएका छन्। नयाँ नेतृत्वले यी क्षेत्रमा प्रभावकारी काम गर्ने अपेक्षा शिक्षा क्षेत्रका सरोकारवालाले गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट