Sep 17 2026 | २०८३, असोज १ गते

एनआरएनएद्वारा प्रकोप उद्धार कोषमा रु. १ करोड हस्तान्तरण

एनआरएनएद्वारा प्रकोप उद्धार कोषमा रु. १ करोड हस्तान्तरण

रु. १ करोड हस्तान्तरण

मंगलबार, भदौ १६ २०८३
मंगलबार, भदौ १६ २०८३
  • एनआरएनएद्वारा प्रकोप उद्धार कोषमा रु. १ करोड हस्तान्तरण

    गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड हस्तान्तरण गरेको छ। संघका अध्यक्ष डा. हेमराज शर्मासहितको प्रतिनिधिमण्डलले सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्रीसँग भेट गरी उक्त रकम हस्तान्तरण गरेको हो। गैरआवासीय नेपाली संघका पदाधिकारी तथा अभियन्ताहरू र विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बाट संकलित रकममध्ये संघले पहिलो चरणमा रु. १ करोड प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरेको हो।

    परराष्ट्रमन्त्री शिशिर खनालले बाढी तथा डुबानबाट भएको ठूलो क्षतिको पुनर्स्थापना र पुनर्निर्माण नेपाल सरकारले मात्र गर्न नसक्ने भएकाले एनआरएनएसँग सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। विपद्को कठिन घडीमा एनआरएनएले प्रभावित स्थानमै पुगेर प्रत्यक्ष रूपमा गरेको राहत वितरणसहित रु. ५ करोड सहयोग गर्ने प्रतिबद्धताप्रति सरकारका तर्फबाट धन्यवाद दिँदै उहाँले राहत, पुनर्स्थापना र पुनर्निर्माणका सबै चरणमा एनआरएनएसँग सहकार्य र समन्वय गरिने बताउनुभयो।

    मन्त्री खनालले हालको विपद् सामान्य बाढीभन्दा फरक र अत्यन्त ठूलो प्रकृतिको रहेको बताउँदै रसुवा र नुवाकोटका धेरै बस्तीमा ठूलो जनधन तथा भौतिक पूर्वाधारको क्षति भएको उल्लेख गर्नुभयो। सरकारले अघि सारेको एकद्वार प्रणाली लागु भए तापनि एनआरएनएले स्थानीय सरकार तथा सम्बन्धित निकायसँग समन्वय गरी राहत वितरण गर्न सक्ने र त्यसको पूर्व तथा पश्चात् आवश्यक विवरण सरकारलाई उपलब्ध गराउनुपर्ने उहाँले बताउनुभयो। विदेशमा रहेका नेपालीसँग विभिन्न क्षेत्रमा रहेको सीप, अनुभव र विशेषज्ञतालाई विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणमा उपयोग गर्न एनआरएनएसँग समन्वय गरिने उहाँको भनाइ थियो।

    1000064706.jpg

    रकम हस्तान्तरणका क्रममा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले हालै आएको विनाशकारी बाढी तथा डुबानका कारण भएको जनधनको क्षतिप्रति संघ मर्माहत भएको बताउनुभयो। विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले संघले रु. ५ करोड राहत तथा मानवीय सहयोग गर्ने घोषणा गरेको जानकारी दिँदै उहाँले संघको टोली रसुवा र नुवाकोटमै पुगेर जिल्ला विपद् व्यवस्थापन समितिलगायत सम्बन्धित निकायसँग समन्वय गरी राहत सामग्री वितरण तथा हस्तान्तरण गरिसकेको बताउनुभयो।

    उहाँले पहिलो चरणमा प्रभावित स्थानमै पुगेर सरकारले अघि सारेको एकद्वार प्रणाली अनुसार नै राहत तथा मानवीय सहायता उपलब्ध गराउनुका साथै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पहिलो चरणमा रु. १ करोड हस्तान्तरण गरिएको जानकारी दिनुभयो। साथै, आगामी दिनमा संघको राहत अभियानमार्फत संकलित सहयोग रकम क्रमशः प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्दै जाने उहाँले उल्लेख गर्नुभयो। अध्यक्ष डा. शर्माले विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यमा समेत आगामी दिनमा नेपाल सरकारसँग सहकार्य गर्न संघ इच्छुक रहेको स्पष्ट पार्नुभयो।

    उहाँले प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधनसँगै राहत, स्वास्थ्य सेवा तथा पुनःस्थापनाका लागि संघले सम्बन्धित निकायसँगको समन्वयमा थप सहयोगका कार्यक्रम अघि बढाइरहेको बताउनुभयो। पुनर्निर्माणका क्रममा नेपाल सरकारलाई आवश्यक पर्ने दक्ष जनशक्ति तथा विशेषज्ञ जनशक्ति परिचालन गर्न एनआरएनए तयार रहेको समेत उहाँले बताउनुभयो।

    1000064717.jpg

    एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले विपद्को यस कठिन घडीमा विदेशमा रहेका नेपालीहरू नेपालसँगै रहेको बताउनुभयो। उहाँले राहत सामग्री, स्वास्थ्य शिविर, औषधि तथा चिकित्सकीय सेवा र पुनर्निर्माणका काममा एनआरएनए प्रत्यक्ष रूपमा सहभागी हुन तयार रहेको उल्लेख गर्नुभयो। गैरआवासीय नेपाली तथा विदेशी मित्रहरूबाट सहयोग जुटाउन सरकार र एनआरएनएबीच थप प्रभावकारी सहकार्य आवश्यक रहेको बताउँदै उहाँले विदेशमा रहेका नेपालीलाई विश्वासिलो साझेदारका रूपमा परिचालन गर्न सरकारसँग आग्रह गर्नुभयो।

    फरक प्रसंगमा मन्त्री खनालले एनआरएनएका अन्य चासोका विषयमा समेत मन्त्रालयले काम गरिरहेको जानकारी दिँदै अध्यागमन, सम्पत्ति खरिदलगायत केही विषय एनआरएन एन कानुन संशोधनमार्फत छिटो सम्बोधन गर्न कानुन मन्त्रालयमा प्रस्ताव पठाइसकिएको बताउनुभयो। विपद्को अवस्था सामान्य भएपछि एनआरएनएका अन्य विषयमा पुनः छलफल गरिने उहाँले बताउनुभयो।

    कार्यक्रममा प्रमुख संरक्षक डा. बद्री केसी र भिम उदाससहित संघका पदाधिकारी तथा अभियन्ताहरूको उपस्थिति थियो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट