जेनजी आन्दोलनको वर्षगाँठ : सडकको आक्रोशदेखि सुशासनको बहससम्म
जेनजी आन्दोलनको वर्षगाँठ : सडकको आक्रोशदेखि सुशासनको बहससम्म
सडकको आक्रोशदेखि सुशासनको बहससम्म
काठमाडौँ । सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधबाट सुरु भएको जेनजी आन्दोलनले नेपालको राजनीतिक इतिहासमा ठूलो कायापलट ल्याएको एक वर्ष आज पूरा भएको छ । गत वर्ष भदौ २३ गते हातमा प्लेकार्ड र मोबाइल बोकेर हजारौं युवा परिवर्तनको आकाङ्क्षासहित काठमाडौंको सडकमा उत्रिएका थिए ।
सुरुमा सामाजिक सञ्जाल प्रयोगमाथिको प्रतिबन्ध फुकुवा र अभिव्यक्ति स्वतन्त्रताको मागसहित सुरु भएको यो प्रदर्शन क्रमशः भ्रष्टाचार, राजनीतिक नेतृत्वप्रतिको असन्तुष्टि, नातावाद-कृपावाद, बेरोजगारी, सार्वजनिक सेवाको कमजोरी र अवसरको असमानताविरुद्धको व्यापक आवाजमा परिणत भयो ।
भदौ २३ गते संघीय राजधानी काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । सो घटनाको विरोधमा भोलिपल्ट भदौ २४ गते आन्दोलन देशैभर झन् उग्र बन्न पुगेको थियो । यसरी आन्दोलनका क्रममा देशभर ७६ जनाले ज्यान गुमाएका थिए, जसमध्ये सरकारले ४५ जनालाई सहिदको मान्यता दिएको छ । यसै आन्दोलनको परिणामस्वरूप तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो ।

आन्दोलनमा ज्यान गुमाएका युवाहरूको सम्झना र सम्मानमा भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ को दिनलाई 'जेनजी शहीद दिवस' घोषणा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आज देशभर सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्थालगायतमा सार्वजनिक बिदा दिइएको हो । दिवसका अवसरमा सहिदहरूको योगदान र बलिदानीलाई स्मरण गर्दै देशभर श्रद्धाञ्जली तथा सम्मानका विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् ।
एक वर्षको यस अवधिमा मुलुकको राजनीतिक परिवेशमा उल्लेख्य परिवर्तन आएको छ भने सुशासन, पारदर्शिता र जवाफदेहिताका विषय राज्य सञ्चालनको मुख्य बहस र संस्थागत रूपान्तरणको एजेन्डा बनेका छन् ।
सरकारले सुशासन र प्रशासनिक सुधारलाई प्राथमिकता दिँदै 'नागरिक एप' जस्ता डिजिटल सेवालाई समेत परिस्कृत गरेको छ । तथापि आन्दोलनमा ज्यान गुमाएका युवाका परिवारजन भने आफ्ना सन्तानको बलिदानीले उठाएका प्रश्न र आन्दोलनका मूल उद्देश्य पूर्ण रूपमा पूरा हुने प्रतीक्षामा रहेको बताउँछन् ।