हिउँदमा विद्युत आपूर्ति सहज बनाउन तयारी जारी, भोटेकोशी बाढीले १० प्रतिशत प्रणाली बाहिरियो : ऊर्जामन्त्री श्रेष्ठ
हिउँदमा विद्युत आपूर्ति सहज बनाउन तयारी जारी, भोटेकोशी बाढीले १० प्रतिशत प्रणाली बाहिरियो : ऊर्जामन्त्री श्रेष्ठ
प्रसारण लाइनमा चाप परे पनि प्राधिकरणले सन्तुलन मिलाइरहेको मन्त्रीको दाबी
काठमाडौं, असोज ५ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जाडोयाममा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको बताएका छन्। सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले हिउँदमा पनि अहिलेकै जस्तो सन्तुलित आपूर्ति कायम राख्न प्रयास भइरहेको जानकारी दिए।
रसुवाको भोटेकोशीमा आएको बाढीले विद्युत पूर्वाधारमा क्षति पुर्याउँदा करिब १० प्रतिशत विद्युत प्रणाली बाहिर गएको र त्यसले राष्ट्रिय प्रसारण लाइनमा चाप परेको मन्त्री श्रेष्ठले बताए। यस्तो चापका बीच नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनमा सन्तुलन कायम राखिरहेको उनको भनाइ थियो।
मन्त्री श्रेष्ठका अनुसार अब जोडिने प्रसारण लाइनको अवस्था कस्तो छ र अन्य ठाउँमा पनि सम्भावित जोखिम रहेकाले त्यसलाई कसरी सम्बोधन गर्ने भन्नेबारे छलफल भइसकेको छ। “जाडो महिनामा पनि अहिलेजस्तै विद्युत आपूर्तिलाई सन्तुलित राख्न हामीले प्रयास गरिरहेका छौं,” उनले भने। प्रसारण लाइनमा जोडिने कामलगायतका काम पूरा भएपछि आपूर्ति सन्तुलित हुने अपेक्षा उनले व्यक्त गरे।
प्रसारण लाइनबाट केही प्रणाली बाहिर रहेका कारण आपूर्तिमा केही असहज हुन सक्ने चिन्ता व्यक्त गर्दै मन्त्री श्रेष्ठले त्यसको समाधानका लागि काम भइरहेको बताए। हिउँदमा विद्युतको माग बढी हुने र खासगरी दुई महिना यस्तो माग उच्च रहने उनले उल्लेख गरे।
बाढीपछिको पुनःस्थापनाबारे जानकारी दिँदै मन्त्री श्रेष्ठले नुवाकोटमा बाढी आएको २४ घण्टाभित्रै विद्युत आपूर्ति जोडिएको र रसुवामा पनि हालै विद्युतीकरण भएको बताए। आउने सुख्खायाममा आपूर्ति कसरी व्यवस्थापन गर्ने भन्नेबारे प्राविधिक हिसाबले तयारी भइरहेको पनि उनले जानकारी दिए।