लगानीकर्ता आत्तिए, स्थानीय अडिए: संखुवासभाका चार जलविद्युत् आयोजना रोक्न ऊर्जामन्त्रीको 'तोक'ले हलचल
लगानीकर्ता आत्तिए, स्थानीय अडिए: संखुवासभाका चार जलविद्युत् आयोजना रोक्न ऊर्जामन्त्रीको 'तोक'ले हलचल
बीस अर्बभन्दा बढी लगानी भइसकेका गुराँस, ह्याप्पी इनर्जी, सानिमा र मातृभूमि आयोजना रोक्न माग गर्दै निवेदन, प्रशासनसँगको सहमतिको दुई दिनमै विवाद चर्किँदा हजारौंको रोजगारी जोखिममा
संखुवासभाका चार जलविद्युत् आयोजनाको निर्माण कार्य रोक्न स्थानीयवासीले दिएको निवेदनमाथि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले दर्ता आदेश दिनुले निजी क्षेत्रका लगानीकर्ताहरूमा गम्भीर असुरक्षाको भावना सिर्जना भएको छ। मन्त्री श्रेष्ठले असोज ५ गते सोमबार स्थानीयको निवेदनमाथि "तोक" लगाउँदै प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि जलविद्युत् क्षेत्रमा ठूलो हलचल मच्चिएको हो। स्थानीयको दबाबमा प्रशासनिक निर्णय हुँदा लगानीको सुरक्षामा प्रश्न उठेको भन्दै लगानीकर्ताहरूले चिन्ता व्यक्त गरेका छन्।
सङ्खुवा–सिसुवा खोला करिडोरका ती चार आयोजनामा हाल २० अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ भने हजारौंले रोजगारी समेत पाएका छन्। जिल्ला प्रशासनको समन्वयमा आयोजना अघि बढाउने सहमति भएको दुई दिन नबित्दै मन्त्रालयमा आयोजना रोक्न माग गरिएको निवेदन पुगेपछि सोमाथि मन्त्री श्रेष्ठले तोक लगाएपछि लगानी सुरक्षामाथि नै प्रश्न उठेको हो। सङ्खुवा–सिसुवा खोला करिडोरमा निर्माणाधीन तथा प्रस्तावित गुराँस, ह्याप्पी इनर्जी, सानिमा र मातृभूमि जलविद्युत् आयोजनाको काम तत्काल रोक्न माग गर्दै प्रभावित स्थानीयले ऊर्जा मन्त्रालयमा ज्ञापनपत्र बुझाएका थिए, जसमाथि मन्त्री श्रेष्ठले तोक लगाई प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन्।
यसअघि असोज ३ गते शनिबार जिल्ला प्रशासन कार्यालय, सङ्खुवासभाको समन्वयमा भएको बैठकमा आयोजना प्रवर्द्धक, स्थानीय प्रतिनिधि तथा प्रशासनबीच विभिन्न विषयमा सहमति भएको थियो। उक्त बैठकले आयोजनाबाट स्थानीय समुदायलाई दिनुपर्ने मुआब्जा तथा क्षतिपूर्तिलगायतका विषयमा भएका निर्णय र त्यसपछि हुन सक्ने जोखिमको अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न समिति गठन गर्ने निर्णय गरेको थियो। बैठकमा आयोजनाको काममा अवरोध नगर्ने सहमति भएको उल्लेख छ, तर प्रभावित स्थानीय बासिन्दाले जिल्ला प्रशासनले दबाब दिएर सहमति गराएको भन्दै उक्त सहमति अस्वीकार गरेका छन्।
ऊर्जा मन्त्रालयलाई बुझाइएको ज्ञापनपत्रमा स्थानीयले आफूहरू पुस्तौंदेखि सङ्खुवा र सिसुवा खोला करिडोर क्षेत्रमा बसोबास गर्दै आएको उल्लेख गर्दै संवेदनशील भूगोलमा एकै क्षेत्रमा चारवटा जलविद्युत् आयोजना निर्माण गर्दा 'क्युमुलेटिभ इम्प्याक्ट' अर्थात् समग्र प्रभाव बढ्ने दाबी गरेका छन्।
