जबरा प्रकरणमा एसएसपी खड्कासँग आयोगको बयान
जबरा प्रकरणमा एसएसपी खड्कासँग आयोगको बयान
आयोगका प्रवक्ता एवं सहसचिव डा. टीकाराम पोखरेलका अनुसार एसएसपी खड्का मंगलबार बिहान साढे ११ बजे आयोगको पुल्चोकस्थित कार्यालयमा उपस्थित भई बयान दिएर फर्किसकेका छन्।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्कासँग मंगलबार बयान लिएको छ।
पूर्वप्रधानन्यायाधीश जबरालाई शनिबार मध्यरातमा नियन्त्रणमा लिइएको अवस्थामा आइतबार अपरान्ह हिरासत अनुगमनका लागि मानव अधिकार आयोगको टोली टेकु पुगेको थियो। तर एसएसपी खड्काले अनुमति नदिएपछि टोलीलाई करिब ४५ मिनेट ढोकामै कुराएर फर्काइएको थियो। यसैलगत्तै आयोगले सोमबार पत्राचार गर्दै खड्कालाई मंगलबार उपस्थित हुन निर्देशन दिएको थियो।
आयोगका प्रवक्ता एवं सहसचिव डा. टीकाराम पोखरेलका अनुसार एसएसपी खड्का मंगलबार बिहान साढे ११ बजे आयोगको पुल्चोकस्थित कार्यालयमा उपस्थित भई बयान दिएर फर्किसकेका छन्।
आयोगका सहप्रवक्ता श्यामबाबु काफ्लेका अनुसार हिरासत अनुगमन गर्न नदिएको विषयमा सोधपुछ गर्नकै लागि खड्कालाई बोलाइएको थियो। खड्काको बयानका आधारमा आयोगले थप निर्णय गर्ने बताइएको छ। यसैबीच आयोगले यही प्रकरणमा गृहमन्त्री सुधन गुरुङ र प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पनि बयानका लागि बोलाउने तयारी गरिरहेको जानकारी सार्वजनिक भएको छ।