images

Nov 23 2026 | २०८३, मंसिर ७ गते

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र

एनपीएल सकिएसँगै ध्यान राष्ट्रिय खेलकुदतर्फ, मंसिर १६ मा सुर्खेतमा उद्घाटन; नियमित आयोजनाको मन्त्री पोखरेलको प्रतिबद्धता

सोमबार, मंसिर ७ २०८३
सोमबार, मंसिर ७ २०८३
  • दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र

    काठमाडौँ, ६ मंसिर। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको जानकारी दिएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) सकिएसँगै अब नेपाली खेलकुदको ध्यान राष्ट्रिय खेलकुदतर्फ केन्द्रित भएको उनले बताएका छन्।

    आइतबार सामाजिक सञ्जालमा लेख्दै मन्त्री पोखरेलले एनपीएलले जगाएको ऊर्जा, व्यावसायिकता र उत्साहलाई निरन्तरता दिँदै राष्ट्रिय खेलकुदको महाकुम्भलाई भव्य बनाउने तयारी भइरहेको जनाएका हुन्।

    उनका अनुसार प्रतियोगिताका मुख्य खेलहरू यही मंसिर ८ गतेदेखि सुरु हुनेछन्। औपचारिक उद्घाटन भने मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ। "यही मङ्सिर ८ गतेबाट मुख्य खेलहरू सुरु भई मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा औपचारिक उद्घाटन हुने यस बृहत् प्रतियोगिताको तयारी तीव्र पारिएको छ," उनले लेखेका छन्।

    हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित वि.सं. २०३८ सालमा राष्ट्रिय खेलकुद सुरु गरिए पनि हालसम्म नौवटा संस्करण मात्र सम्पन्न हुनु दुःखद पक्ष रहेको मन्त्री पोखरेलले उल्लेख गरेका छन्। विगतमा देखिएको ढिलासुस्ती र अवरोध अब अन्त्य हुने उनको प्रतिबद्धता छ।

    प्रतियोगितालाई नियमित रूपमा सञ्चालन गर्दै नेपाली खेलकुदको स्तर उकास्न गम्भीर भएर लाग्ने बताउँदै मन्त्री पोखरेलले लेखेका छन्, "खेलकुदलाई एउटा बलियो संस्कृति र व्यावसायिक क्षेत्रका रूपमा स्थापित गर्दै दशौँ राष्ट्रिय खेलकुदलाई ऐतिहासिक र भव्य बनाउन सम्पूर्ण खेलाडी, खेलप्रेमी तथा सरोकारवालाहरूको साथ र सहकार्यको अपेक्षा गर्दछौँ।"

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार