images

May 17 2024 | २०८१, जेठ ४ गते

हिजो यतै रेल, उतै रेल : अहिले गाडीमा छैन तेल !

हिजो यतै रेल, उतै रेल : अहिले गाडीमा छैन तेल !

एभरेष्ट हेडलाइन्स
मंगलबार, असार ७ २०७९
एभरेष्ट हेडलाइन्स
मंगलबार, असार ७ २०७९
  • हिजो यतै रेल, उतै रेल : अहिले गाडीमा छैन तेल !

    काठमाडौं । एकताका रेल आजै आइहाल्छ कि, भोलि विहानै चढ्न पाइहाल्छ कि भन्ने खालको उधुम थियो । तर, समय वित्दै गयो, रेलको चर्चा पनि हरायो । रेल भरे भोलि आइहाल्छ भनी हल्ला गरिएको (औंला भाँचेरै गन्दा) झण्डै पाँच वर्ष पुगेछ । झुण्डिएर सुलुलु चिप्लिने रेल, चुच्चे रेल, द्रुत गतिको रेल, मेट्रो रेल यस्तै धेरथरी रेलका कुरा गरिएको थियो । तर, यि मध्ये कुनै पनि रेल आइपुग्दैन त अहिलेसम्म । हैट ! सब हावा कुरा ।

    images
    images

    रेल चढ्ने कुरा त सपनै भयो नि ! चुनावी राजनीति कै लागि नेताले हरेक पटक रेल जस्तै ठूल–ठूला सपना देखाए । जनता मख्ख परे, भोट हाले । चुनाव जिताए । पद र पावरमा पुगेपछि रेल चढाउने ति नेताले सार्वजनिक यातायात समेत चढ्न नसक्ने अवस्थामा पुर्याइदिए । अहिले विपन्नले सार्वजनिक यातायात नै चढ्न नक्सने गरी इन्धनको मूल्य वृद्धि भएको छ भने त्यसको प्रभावले यातायात भाडा आकाशिएको छ । पाँच वर्षमा भलै चुच्चे रेल ल्याउन सकिएन होला त्यो जनकपुरे रेलसम्म पनि चलेन बाबै ! अनि यस्ता घोषणालाई हावा नभनेर के भन्ने ?

    रेलको बढी फुर्ती लगाउने नेता हुन्, केपी ओली । उनी मुलुकको कार्यकारी भएका बेला होसहवासमा भनेका हुन्, भन्ने बुझेका छन्, आम नागरिकले । तर, मुलुकको मूली शासक वा अभिभावकले समेत यस्तो विधि हावा बोल्छ भन्ने कुराको उदाहरण पनि उनै हुन् । ओलीले सत्ताको लगाम समातेको एक महिनापछि कात्तिक २९ मा देशबासीका नाममा सम्बोधन गर्दै काठमाडौंमा चाँडै मेट्रो रेल सुलुसुलु कुद्ने भनेका थिए । त्यति मात्रै होइन, उनी रसुवा पुगेर चिनियाँ रेल उ त्यो डाँडो भएर आउने हो, भनेर औंला ताकेर देखाएको तस्वीर पनि भाइरल भएको थियो ।

    रेलको सम्भाव्यता अध्ययन गर्न पनि लगाए ओलीले । लगानीको प्रतीक्षा गर्दागर्दै उनले आफ्नै खुट्टामा बञ्चरो हाने, जागिर चिप्लियो । र, मेट्रो रेल ल्याउने योजना पनि थन्कियो, दराजमा । दशकअघि पूर्वराजा ज्ञानेन्द्र शाहले पनि आफ्नो प्रत्यक्ष शासनकालमा  मेची–महाकाली विद्युतीय रेलको सपना बाँडेका थिए । उनको नियति पनि त्यही भयो । हल्ला गर्दागर्र्दै शाहीशासन नै चिप्लियो ।

    महेन्द्रीय शैली टिपेर ओलीले रेलका रेल अलापे । जे होस्, भाषण नै सही, रेलको छाप बसाउनेमा ठूलो योगदान ओली कै ठहरिनेछ । राणा प्रधानमन्त्री चन्द्रशमशेरको पाला(विक्रम संवत १९८४)मा रक्सौलबाट अमलेखगन्जसम्म रेल आएको थियो । छोटो दुरीमा भए पनि नेपालमा रेल कुदेको इतिहास छ । तर, त्यै रेलको पनि उत्तानो खुट्टा लागेको अवस्था छ । रेल छ, चढ्न मिलेको छैन ।

    जनकपुर पुगेको रेल त्रिपालले छोपेर राखिएको छ । त्यै त्रिपाल पनि च्यातियो अरे । रेल ल्याएर के गर्नु, रेल कुदाउने मान्छे नै नेपालमा रहेनछ । भारतबाट ल्याउनु पर्छ, रेल कुदाउने मान्छे । जनकपुरे रेल आउँदा उत्तरी छिमेकी चीनले पनि रेलमा चासो दिएको थियो । रेलमार्गको अध्ययनसम्म गरेर चिनियाँहरु पनि उतै हराए । सिगात्सेसम्म रेल विस्तार गरेको छिमेकी चीन के कति कारणले हच्कियो कुन्नी सरकारले अहिलेसम्म जनतालाई थाहा दिएको छैन । केरुङसम्म चीनले नै रेल ल्याइदिन्छसम्मका हल्ला चलेका थिए । केरुङ पुग्नासाथ काठमाडौं आइपुग्न त बेरै लाग्दैन भनेका थिए, तत्कालीन प्रधानमन्त्री ओलीले । अनि काठमाडौं हुँदैैं पोखरा, पोखरा हुँदै लुम्बिनी, जताततै रेलै रेल भनेका थिए । तर, हात लाग्यो शून्य । चिनियाँ राष्ट्रपति सिजिनपिङले नेपाल भ्रमणपछि त चिनियाँ रेलको कुरै हरायो ।  

    २०७५ सालमा चीनबाट नेपाल भ्रमणका लागि आएको एक टोलीले केरुङ–काठमाडौं ७५ किमिको पूर्व सभ्वाव्यता अध्ययन प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनले रेलमार्ग बनाउन दुई खर्ब ७५ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान समेत सुझायो ।
    गाँठी कुरा बजेट नै हो । ओली प्रधानमन्त्री निर्वाचित हुँदै गर्दा माओवादी अध्यक्ष प्रचण्डले संसदमा चीनसँगको रेल कनेक्टिभिटीका लागि आर्थिक स्रोत कसरी जुटाउनु हुन्छ, भनी घुमाउरो भाषामा सोधेका थिए । आँखिरमा प्रचण्डले सोधेको प्रश्नको जवाफ अहिलेसम्म आएन । अहिले प्रचण्डकै पार्टीले काँध हालेर बनेको गठबन्धन सरकार छ । उसले त झनु रेलको कुरै गर्दैन ।

    तराईमा रेल कुदाउने हो भने, सबै संरचना निर्माणका लागि प्रतिकिलोमिटर ५० देखि ७५ करोड खर्च लाग्ने अनुमान छ । पहाडी क्षेत्रमा त्यो बजेट कैयौं गुणाले बढ्न जान्छ । भारतीय कम्पनी राइट्सले गरेको अध्ययनमा पूर्व–पश्चिम र काठमाडौं–पोखरासहित १३१३ किलोमिटर रेलमार्ग निर्माणको अनुमानित कुल लागत ६ खर्ब ५० करोड (४३ प्रतिशत), काठमाडौं–पोखराको १८७ किमिमै लाग्ने अनुमान गरिएको छ ।

    निर्माणमा ठूलो लगानी लाग्ने भएकाले विदेशी दाताले खासै चासो देखाएका छैनन् । यसबाट प्रस्ट बुझन सकिन्छ नेपालमा तत्काल रेल आउने सम्भावना टर्दै गएको छ । अझ, चिनियाँ रेलको कुरा त झण्डै २५ वर्षलाई क्लोज भएको छ । अचम्म के भने, नेपालमा रेल चल्दैन । रेल विभाग छ । विक्रम संवत  २०६८ असार १ गते स्थापना भएको रेल विभागले काम गर्न थालेको पाँच वर्ष भइसक्यो । पाँच वर्षको अन्तरालमा अन्य देशले कतिधेरै काम गरे होलान्, हाम्रो गफै धेरे । अनि, रेल सबैले विर्सेको जस्तो छन् । सरकारले आगामी बजेटमा जम्मा मुआब्जाको कुरा मात्रै गरेको छ । हिजो रेलका कुरा गर्नेहरु नै अहिले खै तेल ? किन महँगियो तेल ? भन्दै उफ्रिरहेका छन् । हिजो यतै रेल, उतै रेलः अहिले गाडीमा छैन तेल ! गाह्रो छैन, त ?

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट