झ्याप्ले खोला पहिरोबाट थप ३ जनाको शव निकालियो
झ्याप्ले खोला पहिरोबाट थप ३ जनाको शव निकालियो
काठमाडौँ । नौबिसे-नागढुंगा सडक खण्डको झ्याप्ले खोलाको पहिरोबाट थप तीन शव निकालिएको छ । सशस्त्र प्रहरीका डीएसपीको कमान्डमा र नेपाली सेना, नेपाल प्रहरी सहितको टोलीले उद्धारका क्रममा पहिरो हटाउँदै जाँदा बसको आधा भाग देखिएको छ।
उक्त बस गोरखाबाट आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट १४ जनाको शव निकालिएको थियो ।
पहिरोमा बस पुरिएको देखिएपछि आइतबार बिहान सुरक्षाकर्मी परिचालन गरिएका थिए। यही ठाउँमा शनिबार लु १ ज ४५७८ नम्बरको माइक्रोबस पुरिएको अवस्थामा भेटिएको थियो। पहिरो पन्छाएर बस निकाल्दा १४ यात्रु मृत अवस्थामा भेटिएका थिए।
बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको बसबाट धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोला पहिरोमा पुरिएको थियो। बसमा कति जना यात्रु सवार थिए भन्ने यकीन हुन सकेको छैन।