आर्य फार्माल्याब एनपीएलको स्वास्थ्य साझेदार, क्यानसँग तीन वर्षे सहकार्य
आर्य फार्माल्याब एनपीएलको स्वास्थ्य साझेदार, क्यानसँग तीन वर्षे सहकार्य
क्रिकेटमार्फत स्वास्थ्य चेतना फैलाउने लक्ष्य; खेलाडीलाई २५–२५ हजार र दर्शकलाई २० हजार पुरस्कार
काठमाडौं – स्थापनाको ३०औं वर्षमा प्रवेश गरेको अवसरमा आर्य फार्माल्यावले नेपाल क्रिकेट संघ (क्यान) सँग नेपाल प्रिमियर लिग (एनपीएल) को स्वास्थ्य साझेदारका रूपमा तीन वर्षका लागि सहकार्य गर्ने सम्झौता गरेको छ। यो सहकार्यको उद्देश्य क्रिकेटमार्फत स्वास्थ्य सचेतना बढाउनु र खेलकुद तथा जनस्वास्थ्यबीचको सम्बन्धलाई थप मजबुत बनाउनु हो।
आफ्नो ३० वर्षको यात्रालाई सामाजिक उत्तरदायित्व र जनस्वास्थ्य प्रवर्द्धनसँग जोड्दै आर्य फार्माल्यावले एनपीएलको माध्यमबाट आम नागरिकलाई आधारभूत स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श तथा स्वस्थ जीवनशैलीसम्बन्धी जानकारी उपलब्ध गराउने लक्ष्य लिएको छ। यसअन्तर्गत एनपीएलका खेल सञ्चालन हुने त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कम्पनीले स्वास्थ्य परामर्श, स्वास्थ्य परीक्षण कक्ष, जनचेतनामूलक कार्यक्रम तथा मनोरञ्जन र खेलकुदसम्बन्धी गतिविधि सञ्चालन गरिरहेको छ। यी गतिविधिले खेल हेर्न आउने दर्शकलाई मनोरञ्जन दिनुका साथै आफ्नो स्वास्थ्यप्रति सचेत रहन प्रेरित गर्ने अपेक्षा गरिएको छ।

सोही क्रममा खेलाडीको उत्कृष्ट प्रदर्शन र खेलभावनालाई प्रोत्साहन गर्न आर्य फार्माल्यावले “हेल्दी पार्टनरसिप अवार्ड” मार्फत प्रत्येक खेलमा दुई खेलाडीलाई जनही २५–२५ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको छ। साथै, प्रत्येक खेलमा एक जना दर्शकलाई २० हजार रुपैयाँको “हटविट मुमेन्ट अफ द म्याच” पुरस्कार प्रदान गरिनेछ। यी कार्यक्रमले खेलाडीको योगदानको कदर गर्नुका साथै दर्शकको सहभागिता र उत्साह बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ।

आर्य फार्माल्यावले स्थापनाको ३० वर्ष पूरा गरेको अवसरमा सुरु गरेको यो सहकार्यलाई संस्थाको यात्राको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। क्रिकेटजस्तो लोकप्रिय खेलसँग स्वास्थ्य सचेतनालाई जोड्दा धेरैभन्दा धेरै नागरिकसम्म स्वास्थ्यसम्बन्धी सन्देश पुर्याउन सकिने विश्वास कम्पनीले व्यक्त गरेको छ।

