रविहरुले जान्नुपर्ने राजनीति:जाल हान्ने कि बल्छी ?
रविहरुले जान्नुपर्ने राजनीति:जाल हान्ने कि बल्छी ?
काठमाडौं । नेपालीमा एउटा उखान छ, ‘नपाउँदा कस्तो, पाउँदा सस्तो’ । नेपाली राजनीतिक वृत्तमा यहि उखान चरितार्थ भइरहेको छ । नपाउँदासम्म न्वारनदेखिको बल निकालेर अनेक तिकडम् गरिन्छ, पाएका भोलिपल्टदेखि ‘तै रानी मै रानी, कसले भर्ला कुवाको पानी’ । दलीय भनौं वा निर्दलीय अर्थात् स्वतन्त्र, सबैको नियति एउटै हो । इत्ति, रौं बराबर पनि फरक छैन ।
भरखरै सम्पन्न स्थानीय तह निर्वाचनमा निर्दलीय उम्मेदवारले छोपेको मौका र भेटेको आंशिक सफलतालाई ठूलै उपलब्धि मान्नेहरुले संसदीय निर्वाचनमा पनि त्यसरी नै बर्खेभेल थुन्न सकिन्छ भन्ने अनुमान अर्थात् तुक्का लगाइरहेका छन् ।
चुनावको तिथि नतोकिंदै स्थानीय तह निर्वाचनको नतिजालाई मानक मानेर केहीले अर्ली उम्मेदवारी घोषणा गरिसके । जस्तोः उदाहरणका लागि, ‘काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा पुकार बमको अर्ली उम्मेदवारी । पूर्व आईजीपी सर्वेन्द्र खनालको उम्मेदवारी । अहिले आएर टेलिभिजन प्रस्तोता रवि लामिछाने समेत सञ्चारकर्म छोडेर त्यतै सोझिनु’ ।
राजनीतिमा नयाँ मान्छे आउनु स्वागत योग्य
सँधै उही दल, उही परिवार र उही व्यक्ति हेर्दा, सुन्दा वाक्क दिक्क भएका आम नागरिक वा मतदातालाई दलीय वा स्वतन्त्र जुनसुकै माध्यमबाट नयाँ व्यक्ति राजनीतिमा आएको कुरा स्वागत योग्य नै हो, भनेका छन् धेरैले । नेपालको संविधानले समेत गैरदलीय उम्मेदवारको व्यवस्था गरिदिए कै छ । संवैधानिक अधिकारको प्रयोग जसले पनि गर्न पाउँछन् ।
र, नागरिकले दल कमजोर भएको ठाउँमा तिनलाई रोज्न पनि सक्छन् । नयाँ नेतालाई पूराना राजनीतिज्ञले समेत हार्दिकताका साथ स्वागत गरेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले त अर्ली बधाई नै दिइसके । मतदाताले के गर्छन्, त्यो चुनावी नतिजाले बताउला । तर, त्यो सिमिति लहड हुन्छ कि भन्ने ठूलो चिन्ता छ ।
स्वतन्त्रहरु स्थानीय तहसम्म मात्रै उपयुक्त
स्थानीय तहको निर्वाचनअघि धेरथोर बहस भएको विषय हो, स्वतन्त्र उम्मेदवारी । स्वतन्त्र उम्मेदवारी अभियानले नै स्वयं यसलाई स्वीकारेको छ । मधेस केन्द्रीत दलहरुले तराइमा यो पल्ट स्वतन्त्र उम्मेदवारीलाई केही हदसम्म उपयोग पनि गरे । अन्य स्वतन्त्रको चर्चा त सबैलाई थाहै छ । काठमाडौंमा बालेन, धरानमा सम्पाङ, धनगढीमा हमाल, कण्ठै छ, नि सबैलाई । स्थानीय चुनावअघि लोसपाका एक जना केन्द्रीय नेता र स्वतन्त्र उम्मेदवारी अभियान चलाउने वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, नेपाल सरकारका पूर्व सचिव द्वारिकानाथ ढुंगेल, पूर्व महालेखा परीक्षक सुकदेव भट्टराई (खत्री)लगायतले त्यही भनेका थिए, ‘स्थानीय तह विकासे अड्डा हो, त्यहाँ दलीय भन्दा निर्दलीय व्यक्ति नै ठीक हुन्छ । तर, संसदीय निर्वाचनमा एउटा विचार अथवा समूह चाहिन्छ । त्यो समूह भनेको दल हो ।’
अहिले एकीकृत शक्ति नेपालका अध्यक्ष देवप्रकाश त्रिपाठीले पनि त्यही भने । उनले अगाडि भनेका छन्, ‘लोकल वडी विकास केन्द्रीत हुनुपर्ने भएकाले स्वतन्त्र उम्मेदवार ठीक छ । तर, संसदीय निर्वाचनमा दलीय उम्मेदवार नै हुनुपर्छ । संसदमा स्वतन्त्र उम्मेदवार हुनेवित्तिकै कचिङ्गल बढी हुन्छ । संसदले कार्यकारिणी सरकार पनि बनाउने भएका कारण स्वतन्त्र उम्मेदवार हुँदैन । सरकार नै बन्न नसक्ने अवस्था आउन सक्छ । सांसद किनबेचको चलखेल हुन सक्छ ।’
उनका अनुसार संसदको विधायक हुन विचार वा समूह चाहिन्छ । त्यो समूह भनेको राजनीतिक दल हो । त्रिपाठीले भनेका छन्, ‘स्वतन्त्र उम्मेदवारी रहर हुनसक्छ । संसदमा त्यसको मूल्य छैन । कसैको रहर पूरा गर्ने थलो होइन, त्यो ।’
स्वतन्त्रसँग छ चाँहि के ?
स्वतन्त्र भन्ने वित्तिकै मतदाताले आँखा चिम्लेर मतदान गरिहाल्छन् र कुहिए, सढे, गलेका दललाई ठेगान लगाउँछन् भन्ने सोचिरहेका छन्, धेरैले । त्यसो कसैले सोचिरहेको छ, भने मूर्खता मात्रै हो । सस्तो प्रचारले अघि आउनु ठूलो कुरा होइन । तर, कति दिनलाई ? संवैधानिक अधिकार प्रयोग गरेर आफ्नो विचार र अभिव्यक्ति अभिव्यक्त गर्न पाइन्छ ।
तर, त्यतिले पुग्दैन । जीवन र जगत, वस्तु र घटनालाई हेर्ने दृष्टिकोण नभएकाहरु कसरी नेता हुन सक्छन् ? कस्तो राज्य व्यवस्था, कस्तो अर्थ राजनीति अख्तियार गर्ने भन्ने ज्ञान नभएकाले कसरी सुशासन कायम गर्न सक्छन् ? विचारधाराको संकट भएको व्यक्ति वा समूह लामो यात्रा गर्न सक्दैन । उदाहरणका लागि साझा पार्टीका रविन्द्र मिश्रको स्वःपतन नै काफी छ । र, जानकारहरुले भनेका छन्, ‘स्वतन्त्रको रहर केही दिनको तमासा र रमाइलो मात्रै हो ।’
दलको शरण पर्नै पर्ने !
पूर्व डीआईजी रमेश खरेलले आफ्नै दल नेपाल सुशासन पार्टीबाट चुनाव लड्ने घोषणा गरेका छन् । पुकार बमलाई विवेकशील नेपाली दलले नै टिकट देला । पूर्व आईजीपी सर्वेन्द्र खनाललाई जुनसुकै पार्टीले टिकट दिने भनेर प्रस्तावै प्रस्ताव आएको खबर छ । उसै परे एमालेबाटै उनी चुनाव लड्न सक्छन् । तर, भरखरै टेलिभिजनकर्म छोडेर राजनीतिमा हानिएका रवि लामिछाने कुन दल वा समूहबाट टिकट लेलान्, कौतुहलको विषय छ । जान्ने पल्टिएर उनले कुरो विगारिसकेका छन् ।
जनताको नजरमा बदनाम भइसकेका दलबाट उम्मेदवारी नदिने घोषणा गरेका कारण, फसाद परेको छ, उनलाई । घोषणा फिर्ता लिएर दलको शरण पर्ने अवस्था आए के होला ? जानकारहरुले भनिसकेका छन्, ‘स्वतन्त्रबाट चुनाव लड्नु, जित्नु ठूलो कुरा हुँदै होइन । अहिलेको निर्वाचन प्रणाली र संसदीय परम्परासँग लड्न समूह वा सहयोग चाहिन्छ । चुनावकै कुरा गर्ने हो भने पनि सँधै जाल हान्नेहरु कै पोल्टो रित्तै भएको इतिहास छ, यहाँ । बल्छी हान्दा के होला ? त्यो आफैं अनुमान गर्नुस् ।’
बालेनले एमाले र कांग्रेसलाई हराएका होइनन्
काठमाडौं महानगरपालिकामा दुई ठूला राजनीतिक दल एमाले र कांग्रेसलाई पाखा लगाएर मेयर निर्वाचित भए, स्वतन्त्र बालेन्द्र शाह । उनको विजयलाई जसरी ठूला राजनीतिक दललाई झट्का भनेर भनिएको छ, त्यसो होइन । मिहिन ढंगले तथ्य केलाउने हो भने काठमाडौं महानगरमा एमाले वा कांग्रेस हारेका होइनन् । त्यहाँ हारेका हुन् त केवल कांग्रेस नेता प्रकाशमान र एमाले उम्मेदवार केशव स्थापित । कारणः एमालेबाट उम्मेदवारी दिएकी सुनिता डंगोल सर्वाधिक मत ल्याएर उपमेयर जितिन् । उनले सर्वाधिक मत ल्याउनुको पछाडि एमाले नेता कार्यकर्ताको भन्दा बढी हात कांग्रेसका ठूला नेताको छ । कांग्रेसकै ठूला नेताले उही अनुहार र उही परिवार मन पराएनन् ।
प्रकाशमानले अरु कोही नभेटेर श्रीमतीलाई उठाए, एमालेले मतदातालाई हेपेर आउटडेटेड स्थापितलाई उठाइदियो, काण्ड पुगेन ? काठमाडौंमा अप्रतिवद्ध र हावादारी मतदाताको बाहुल्यता छ । राजनीतिशास्त्री कपिल श्रेष्ठले भने, ‘०४८ पछिको समयमा एकताका काठमाडौंका सबै वाम मतदाता भए । त्यो बेला वामपन्थको नाममा जसलाई उठाए पनि जित्ने अवस्था थियो । त्यो बेला दमननाथ ढुंगाना समेत झण्डैले वाम लहरको सिकार भएका थिए । अहिले ति वाम मतदाता कहाँ गए होलान्, बालेनतिर ? ’
उनका अनुसार काठमाडौंमा स्वयं दलका कार्यकर्ताले समेत आफ्नो नेता वा उम्मेदवारलाई पत्याउँदैनन्, त्यस्ता अप्रतिवद्ध मतदाताको बाहुल्य भएको ठाउँमा बालेन जित्नु ठूलो कुरा होइन । तर, यो क्षणिक हो । उनले अगाडि भने, ‘अब बालेन फेरि उठे भने पनि जित्दैनन् । र, कति वर्षलाई पुग्यो अब ।’ काठमाडौंमा दलीय उम्मेदवार गतिलो नभएको फाइदा उठाउँदै स्वतन्त्रले बाजी मार्नसक्ने कुराका भने श्रेष्ठ कन्भेन्स छन् ।