Sep 20 2024 | २०८१, असोज ४ गते

एक वर्षदेखि रोकिएको सम्परीक्षण शुरु

एक वर्षदेखि रोकिएको सम्परीक्षण शुरु

एभरेष्ट हेडलाइन्स
बुधबार, असोज २४ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, असोज २४ २०८०
  • एक वर्षदेखि रोकिएको सम्परीक्षण शुरु

    काठमाडौँ । पछिल्लो एक वर्षदेखि रोकिएको सम्परीक्षण प्रक्रिया शुरु भएको छ । सङ्घीय संसद प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले आज बेरुजु सम्परीक्षण सम्बन्धमा मुख्यसचिव, सङ्घीय संसदका महासचिव, कार्यवाहक महालेखापरीक्षक र विभिन्न मन्त्रालयका कर्मचारीसँग छलफल गरेको छ ।

    images
    images

    महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदनले औँल्याएका बेरुजु फर्छ्यौटका लागि सम्परीक्षणको प्रक्रिया शुरु गरिएको लेखा समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । 

    सम्परीक्षण भन्नाले आन्तरिक वा अन्तिम लेखापरीक्षण प्रतिवेदनमा औँल्याइएको बेरुजुको सम्बन्धमा पेश हुन आएका स्पष्टीकरण वा प्रतिक्रियासाथ संलग्न प्रमाण र कागजातको आधारमा गरिने फर्छ्यौटसम्बन्धी काम हो । सार्वजनिक लेखा समितिबाट प्राप्त सुझाव तथा निर्देशनका आधारमा गरिने बेरुजु फर्छ्यौट समेत सम्परीक्षण हो । 

    सम्परीक्षणका लागि बेरुजुको अद्यावधिक विवरण पेश गर्न विषयगत मन्त्रालयलाई पत्र पठाइएकोमा त्यसको जवाफ तत्काल पेश गर्न लेखा समितिको आजको बैठकले निर्देशन दिएको छ । “सम्परीक्षणको कार्य प्रारम्भ गर्नका लागि २०८० भदौ १९ गते सबै मन्त्रालय तथा निकायलाई बेरुजुको जवाफ समितिमा पठाउनका लागि समितिबाट पत्रसमेत पठाइएको र हालसम्म कतिपय निकायबाट बेरुजुको जवाफ नआएकाले तत्काल उपलब्ध गराउन निर्देशन दिइन्छ”, सभापति पोखरेलले भने ।

    असुलउपर गर्नुपर्ने वा तिर्नु बुझाउनुपर्ने बेरुजुको लगत कार्यालयस्तर र केन्द्रीय स्तरमा राख्नुपर्ने व्यवस्था छ । सोहिअनुसार समितिले बेरुजुको अद्यावधिक लगत उपलब्ध गराउन निर्देशन दिएको हो ।

    आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ३७, ३८, ३९ र ४० बमोजिम सम्बन्धित लेखा उत्तरदायी अधिकृतले बेरुजु फर्छ्यौट तथा फरफारक गर्नुपर्ने हुन्छ । त्यसरी फरफारक हुन नसकेका बेरुजुहरु महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा समावेश भएपश्चात् सार्वजनिक लेखा समितिमा छलफल गरिन्छ । तर आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ३७, ३८, ३९ र ४० बमोजिम बेरुजु फछ्र्यौटको काम भए-नभएको जवाफ पेश गर्न पनि समितिले निर्देशन दिएको छ ।

    त्यस्तै, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनअनुसार असुलउपर गर्नुपर्ने रकम केन्द्रीय तहसील कार्यालयमा पठाउनुपर्ने व्यवस्था छ । उक्त कानूनी व्यवस्थाअनुसार असुलउपर गर्न केन्द्रीय तहसील कार्यालयमा पठाउन र सोको जानकारी समितिलाई उपलब्ध गराउन पनि निर्देशन दिइएको छ ।

    पुँजीगत खच बढाउन र वर्षान्तमा बढी खर्च हुने प्रवृत्तिको अन्त्य गर्नका लागि पनि समितिले सरकारलाई निर्देशन दिएको छ । हाल सरकारको सम्पत्ति (ऋण, धन, सञ्चित कोष) को अभिलेख अद्यावधिक छैन । यस्ता विषयहरू अद्यावधिक गर्न तथा लेखापरीक्षण हुन नसकेका सार्वजनिक संस्थानको तत्काल लेखापरीक्षण गर्न पनि समितिले निर्देशन दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट