चन्द्र नहरलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने तयारी, मन्त्री श्रेष्ठको सप्तरी दौरा
चन्द्र नहरलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने तयारी, मन्त्री श्रेष्ठको सप्तरी दौरा
मन्त्री श्रेष्ठको सप्तरी दौरा
सप्तरी। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले सप्तरीको फत्तेपुरस्थित चन्द्र नहरलाई नेपालको जलसिँचाइ इतिहासको महत्वपूर्ण सम्पदाका रूपमा संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ। मधेस प्रदेशका ऊर्जा तथा सिँचाइ प्रणालीको निरीक्षणका क्रममा फत्तेपुर पुगेका मन्त्रीले स्थानीय जनप्रतिनिधि र सिँचाइ उपभोक्तासँग छलफल गर्नुभयो।

मन्त्रालयले चन्द्र नहरलाई अन्तर्राष्ट्रिय सिँचाइ तथा जलनिकास आयोग (ICID) को World Heritage Irrigation Structures सूचीमा समावेश गर्न सिफारिस गर्ने विषयमा गम्भीरतापूर्वक काम अघि बढाइरहेको मन्त्री श्रेष्ठले जनाउनुभयो।
चन्द्र शमशेरको पालामा निर्माण सुरु भएको यो नहर नेपालको पहिलो आधुनिक राज्यनिर्मित सिँचाइ प्रणाली हो। त्रियुगा नदीबाट पानी लगेर सप्तरीका करिब १०,५०० हेक्टर कृषि भूमिमा सिँचाइ पुर्याउने यो एक शताब्दी पुरानो संरचना अझै सक्रिय छ।
जापान सरकारको करिब २.२५६ अर्ब येन अनुदानमा सञ्चालित पूर्वी तराई सिँचाइ प्रणाली जीर्णोद्धार आयोजनाअन्तर्गत नहरका ३२ संरचना मर्मत भएका छन्, जसमा ८ नहर अन्डरपास, ९ क्रस-ड्रेनेज संरचना र १५ पुल समावेश छन्। जीर्णोद्धारअघि नहरको प्रवाह क्षमता डिजाइनको ८०% मा सीमित थियो; अहिले सिँचित क्षेत्र ५,५०० बाट बढाएर १०,५०० हेक्टर पुर्याउने र धान उत्पादकत्व ३.६५ बाट ४.३८ टन/हेक्टर पुर्याउने लक्ष्य राखिएको थियो।

"सिँचाइ पूर्वाधारले खेतबारीमा पानी पुर्याउने काम मात्र गर्दैन, यसले कृषि उत्पादन, स्थानीय अर्थतन्त्र, रोजगारी र पर्यटनमा समेत बहुआयामिक योगदान पुर्याउन सक्छ," मन्त्री श्रेष्ठले भन्नुभयो। नहरको संरक्षण सरकारमात्र नभई स्थानीय तह, उपभोक्ता र समुदायको समेत साझा जिम्मेवारी भएको उहाँले उल्लेख गर्नुभयो।
नहर क्षेत्रलाई कृषि, इतिहास र पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने सम्भावना पनि मन्त्रालयले अघि बढाउने जनाएको छ।
