बालुवाटारमा खुल्यो गरिमा बैंकको १२७औं शाखा
बालुवाटारमा खुल्यो गरिमा बैंकको १२७औं शाखा
काठमाडौं — ग्रामीण भेगदेखि शहरी क्षेत्रसम्म सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्दै आएको गरिमा विकास बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं. ३, बालुवाटारमा १२७औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।
बैंकले पहिलो पटक कारोबार सञ्चालन गरेको १९औं वर्षको विशेष अवसर पारेर आज (२०८३ कात्तिक १८ गते बुधबार) देखि बालुवाटारस्थित आफ्नो केन्द्रीय कार्यालय रहेको भवनमै बालुवाटार शाखा सञ्चालनमा ल्याएको हो। बैंकले २०६४ कात्तिक १८ गते पहिलो पटक कारोबार सुरु गरेको थियो।
बैंकका अध्यक्ष दिलिप प्रताप खाँणको अध्यक्षतामा सम्पन्न समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विश्रुत थापाले बालुवाटार शाखाको समुद्घाटन गरे।
सञ्चालनमा आएको बालुवाटार शाखामार्फत ग्राहकले नियमित बैंकिङ सेवाका अतिरिक्त एटीएम, लकर, विदेशी मुद्रा सटही लगायतका सेवा प्राप्त गर्न सक्नेछन्। आम नागरिकको बैंकिङ सेवामा पहुँच अभिवृद्धि गर्ने, वित्तीय समावेशीकरणलाई थप सुदृढ बनाउने तथा ग्राहकलाई सहज र विश्वसनीय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यका साथ बैंकले शाखा सञ्जाल विस्तारलाई निरन्तरता दिँदै आएको छ।
बैंकले शाखा विस्तारलाई केवल भौगोलिक उपस्थितिको वृद्धिका रूपमा मात्र नभई स्थानीय आर्थिक गतिविधिको प्रवर्द्धन, उद्यमशीलताको विकास, बचत परिचालन तथा उत्पादनशील क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने महत्वपूर्ण माध्यमका रूपमा लिएको छ। बालुवाटार क्षेत्रमा नयाँ शाखा सञ्चालनमा आएसँगै व्यक्तिगत तथा संस्थागत ग्राहकको आवश्यकतानुरूप वित्तीय सेवा उपलब्ध गराउन र स्थानीय आर्थिक गतिविधिलाई थप चलायमान बनाउन सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
आईएसओ ९००१:२०१५ र २७००१:२०२२ मान्यताप्राप्त गरिमा विकास बैंकले देशका सातै प्रदेशमा फैलिएको शाखा सञ्जालमार्फत विभिन्न भौगोलिक क्षेत्रका करिब १० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।
