images

Oct 20 2026 | २०८३, कात्तिक ४ गते

एनआरएनए दिवसमा एकताको सन्देश, सामूहिक लगानीमा जोड

एनआरएनए दिवसमा एकताको सन्देश, सामूहिक लगानीमा जोड

एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक ३ २०८३
एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक ३ २०८३
  • एनआरएनए दिवसमा एकताको सन्देश, सामूहिक लगानीमा जोड

    काठमाडौ,२७ असोज— गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्थापना दिवस तथा विजया दशमी, दीपावली र छठ पर्वको अवसरमा पूर्वअध्यक्ष र संघका नेतृत्वकर्ताबीच बृहत् भर्चुअल अन्तरक्रिया तथा शुभकामना साटासाट कार्यक्रम सम्पन्न भएको छ। "हाम्रो विगतको सम्मान, हाम्रो भविष्यको निर्माण" मूल नारासहित आयोजित कार्यक्रममा संघको स्थापनाकालदेखिको अनुभव आदानप्रदान गर्दै आन्तरिक एकता सुदृढ बनाउने र मातृभूमिको समृद्धिमा डायस्पोराको स्रोत, साधन र ज्ञान परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

    राहत र संवादको अनुभव

    संघका अध्यक्ष डा. हेमराज शर्माले विगतका साना–तिना असमझदारी र सङ्क्रमणकालीन अवस्थालाई पछाडि पार्दै संघले हालैका दिनमा रसुवा, नुवाकोट, बाग्लुङ लगायत बाढी–पहिरो प्रभावित क्षेत्रमा ४५ दिनसम्म खटिएर राहत वितरण र स्वास्थ्य शिविर सञ्चालन गरेको जानकारी दिए। राज्य र एनआरएनएबीचको दूरी कम गर्न तथा नागरिकता, भोटिङ अधिकार र सामूहिक लगानीका विषयमा निरन्तर संवाद भइरहेको उनले बताए। वंशजको नागरिकताको निरन्तरताका लागि संविधान संशोधन आवश्यक रहेको र तत्कालका व्यावहारिक समस्या फुकाउन विद्यमान कानुनी प्रावधानको उपयोग गर्दै सबैलाई समेटेर अघि बढ्न वर्तमान नेतृत्व प्रतिबद्ध रहेको उनको भनाइ थियो।

    पूर्वअध्यक्षहरूका धारणा

    संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले सन् २००३ मा पवित्र उद्देश्यका साथ सुरु गरिएको अभियानले छोटो समयमै ठूलो उचाइ हासिल गरेको बताए। विगतका केही वर्षका आन्तरिक विवाद र अल्झनले संस्थालाई पछाडि धकेले पनि बलियो र एकबद्ध भइरहनुपर्ने पाठ सिकाएको उनको भनाइ छ। आगामी महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरी एकताको सन्देश दिनुपर्ने र गैरआवासीय नेपालीको पुँजी तथा दोस्रो पुस्ताको ज्ञान र सीपलाई समृद्ध नेपाल निर्माणमा सदुपयोग गर्नुपर्ने उनले जोड दिए।

    पूर्वअध्यक्ष डा. जीवा लामिछानेले खस्किएको संस्थाको साख र गरिमालाई वर्तमान नेतृत्वले राहत तथा उद्धारका माध्यमबाट पुनः जगाउन थालेकोमा खुसी व्यक्त गरे। व्यक्तिगत क्षमताभन्दा सामूहिक शक्ति धेरै गुणा शक्तिशाली हुने भएकाले सामूहिक लगानी र सहकार्यका क्षेत्रलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव थियो।

    पूर्वअध्यक्ष भवन भट्टले संस्थामा देखिने समस्या र चुनौतीलाई सिकाइको अवसरका रूपमा लिनुपर्ने बताए। आफ्नो कार्यकालमा लाप्राक बस्ती निर्माण, विज्ञ सम्मेलन र १०० मिलियन डलरको फन्ड स्थापना जस्ता दूरगामी काम भएको स्मरण गर्दै उनले संस्थालाई दुई वर्षे कार्यकालको समय अभावबाट मुक्त गर्न संरचनागत सुधार र प्रविधिमैत्री संयन्त्र आवश्यक रहेको औंल्याए।

    पूर्वअध्यक्ष महेश श्रेष्ठले विगतका विवाद र बेमेलले सरकार तथा राजनीतिक वृत्तमा एनआरएनएप्रति नकारात्मक दृष्टिकोण बनेको भए पनि हालैको एकता प्रक्रियाले सकारात्मक सन्देश दिएको बताए। नेपालमा वैदेशिक लगानीको सम्भावना कमजोर भइरहेको वर्तमान अवस्थामा गैरआवासीय नेपालीको सामूहिक लगानी नै समृद्धिको मुख्य आधार बन्न सक्ने उनको विश्वास छ। १० अर्बको डायस्पोरा इन्भेस्टमेन्ट कम्पनी र एनआरएन नेपाल डेभलपमेन्ट फन्ड जस्ता पहललाई प्रभावकारी बनाएर सरकारको विश्वास पुनः आर्जन गर्नुपर्ने उनले बताए।

    पूर्वअध्यक्ष डा. बद्री केसीले सन् २००१ मा मस्कोबाट सुरु भएको यो विचार आज ९२ भन्दा बढी देशमा फैलिएको स्मरण गरे। "बाइ नेपाली फर नेपाली" र "एकपटकको नेपाली, सधैंको नेपाली" भन्ने मन्त्र अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उनले बताए। एनआरएनएकै पहलका कारण गैरआवासीय नेपाली ऐन र वैदेशिक रोजगार ऐन लागू भई लाखौं वैदेशिक रोजगारमा रहेका नेपालीको अधिकार र सुरक्षा सुनिश्चित भएको उनको भनाइ छ।

    पूर्वअध्यक्ष विनोद कुँवरले एकता प्रक्रियालाई पूर्णता दिन विगतमा गरिएका सहमति र प्रतिबद्धता कार्यान्वयन गर्नुपर्ने बताए। बाँकी विषयलाई वर्तमान नेतृत्वले खुला मनले समाधान गर्दै सबैलाई समेटेर अघि बढ्नुपर्ने उनको जोड थियो। गैरआवासीय नेपालीले नागरिकता मागेर होइन, नेपाल र नेपालीका लागि गरेको योगदानबाट आफ्नो अधिकार स्थापित गरेर प्राप्त गर्नुपर्ने उनको धारणा थियो।

    पूर्वअध्यक्ष आर. के. शर्माले संघले आगामी १० वर्षका लागि स्पष्ट र ठोस कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताए। नेतृत्व केन्द्रित नभई एजेन्डा केन्द्रित संस्था निर्माण गर्दै विदेशमा रहेका नेपालीको ज्ञान, सीप र पुँजीलाई नेपालको समृद्धिसँग जोड्न आवश्यक रहेको उनको भनाइ थियो। रेमिट्यान्सको ठूलो हिस्सा उपभोगमा खर्च भइरहेको अवस्थामा सामूहिक लगानीलाई प्रोत्साहन गर्दै एनआरएन नेपाल डेभलपमेन्ट फन्डलाई साना लगानीकर्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीसँग जोड्नुपर्ने उनले सुझाव दिए।

    विश्वभरबाट सुझाव

    कार्यक्रममा अमेरिका, हङकङ लगायत विश्वभरका प्रतिनिधि भुवन खरेल, परशुराम भण्डारी, कृष्ण पाण्डे र उपमहासचिव कृष्ण पोखरेल लगायतले संघको सुदृढीकरण, कृषि तथा कफी खेती जस्ता उत्पादनमूलक क्षेत्रमा लगानी र दोस्रो पुस्तालाई संस्थामा जोड्ने विषयमा सुझाव प्रस्तुत गरेका थिए।

    तीन घण्टासम्म चलेको कार्यक्रमको सञ्चालन तथा सहजीकरण महासचिव डा. चिरञ्जीवी खड्का तथा उपमहासचिव दिनेश घिमिरे, डा. नवराज रौसियार र दीपक गौतमले गरेका थिए।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार