किसानबाट धान किन्ने सरकारी प्रक्रिया सुरु
किसानबाट धान किन्ने सरकारी प्रक्रिया सुरु
काठमाडौं — सरकारले किसानबाट धान खरिद गर्ने प्रक्रिया अघि बढाएको छ। कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबीचको समन्वयमा यो प्रक्रिया थालिएको हो।
दुई मन्त्रालयबीचको समन्वयअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको महेन्द्रनगर शाखाले किसानबाट मोटा धान खरिद गर्नेछ। यसपछि नियमित रूपमा अन्य जिल्लामा पनि धान खरिद गरिने कम्पनीले जनाएको छ।
कम्पनीले कात्तिक १९ र २० गते महेन्द्रनगर शाखा कार्यालय परिसरबाट किसानलाई धान बिक्रीका लागि कुपन वितरण गर्नेछ। धान बिक्री गर्न चाहने किसानले अनिवार्य रूपमा पहिले कुपन लिनुपर्नेछ। कुपनमा उल्लेख गरिएको मितिमा किसानले कम्पनीको मापदण्डअनुसारको मोटा धान महेन्द्रनगरस्थित गोदाममा ल्याउनुपर्नेछ।
धान तौलने कार्य कात्तिक २७ गतेदेखि सार्वजनिक बिदाबाहेकका दिनमा सञ्चालन हुनेछ। कम्पनीले किसानलाई तोकिएको मिति र आवश्यक कागजातसहित धान बिक्रीका लागि उपस्थित हुन आग्रह गरेको छ।
कृषि तथा वन मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच गत असोज २१ गते भएको भेटवार्तामा किसानको धान खरिदलगायतका विषयमा छलफल भएको थियो।0
