सरकारको व्यवहारले कर्मचारी र व्यवसायी त्रसित : कांग्रेस
सरकारको व्यवहारले कर्मचारी र व्यवसायी त्रसित : कांग्रेस
काठमाडौं। नेपाली कांग्रेसले सरकारको कार्यशैली र नीतिका कारण कर्मचारीदेखि व्यवसायीसम्म त्रसित बनेको आरोप लगाएको छ। पार्टीले निजी क्षेत्रलाई नियन्त्रण र शंकाको दृष्टिले हेर्ने सरकारी प्रवृत्तिले व्यावसायिक वातावरण कमजोर बनाएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो।
कांग्रेसले निजी क्षेत्रलाई हतोत्साहित गर्ने खालका नीति तथा व्यवहार तत्काल सच्याउन सरकारसँग माग गरेको छ। पार्टीका अनुसार उद्योगी, व्यवसायी तथा लगानीकर्ताले सहज रूपमा व्यवसाय सञ्चालन गर्न सक्ने वातावरण बन्न नसक्दा नयाँ लगानी र रोजगारी सिर्जनामा समेत असर पर्न सक्छ।
कांग्रेसले नयाँ कम्पनी कानुनको मस्यौदामा थप नियन्त्रणमुखी प्रावधान राख्ने तयारीप्रति पनि आपत्ति जनाएको छ। नियमनका नाममा व्यवसायीलाई अनावश्यक दबाब र त्रासमा राख्ने व्यवस्था ल्याउन नहुने उसको भनाइ छ। पार्टीले सरकारको यस्तो प्रवृत्तिलाई ‘पहिले थुन्ने, पछि सुन्ने’ नीतिका रूपमा व्याख्या गरेको छ।
त्यस्तै, विराटनगरमा एक व्यवसायीमाथि गरिएको व्यवहारलाई पनि कांग्रेसले निजी क्षेत्रप्रतिको सरकारी दृष्टिकोणसँग जोडेर प्रश्न उठाएको छ। आर्थिक अपराधमा संलग्न व्यक्तिमाथि कानुनअनुसार कारबाही हुनुपर्ने भए पनि सबै व्यवसायीलाई शंकाको दृष्टिले हेर्न नहुने कांग्रेसको धारणा छ।
कांग्रेसले सीमा क्षेत्रमा अवैध व्यापार नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न, साना व्यापारीलाई अनावश्यक दुःख नदिन र आपूर्ति व्यवस्थापन सुधार गर्न पनि सरकारसँग माग गरेको छ। उद्योग तथा उत्पादन क्षेत्रलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्ने र उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह सहज बनाउनुपर्ने उसको माग छ।
यसैगरी, ८० देखि ९० प्रतिशतसम्म निर्माण सम्पन्न भएका पूर्वाधार आयोजनाका ठेक्का रद्द गर्दा स्वदेशी तथा विदेशी लगानीकर्ताको विश्वास कमजोर हुन सक्ने कांग्रेसले जनाएको छ। आयोजना रद्द गर्नुपर्ने अवस्था आए स्थापित कानुनी प्रक्रिया र तथ्यका आधारमा निर्णय गर्नुपर्ने पार्टीको भनाइ छ।
कांग्रेसले निजी क्षेत्रलाई आर्थिक विकासको महत्वपूर्ण साझेदारका रूपमा व्यवहार गर्न सरकारलाई आग्रह गरेको छ। लगानीको सुरक्षा, नीतिगत स्थिरता र व्यवसायमैत्री वातावरणबिना उत्पादन, रोजगारी तथा आर्थिक गतिविधि विस्तार गर्न कठिन हुने उसको निष्कर्ष छ।
