राष्ट्रिय खेलकुदमा एनआरएनएको उत्कृष्ट प्रदर्शन
राष्ट्रिय खेलकुदमा एनआरएनएको उत्कृष्ट प्रदर्शन
दशौँ राष्ट्रिय खेलकुदमा एनआरएनएका खेलाडीको उत्कृष्ट प्रदर्शन, पौडीमा ६ स्वर्णसहित ९ पदक
२०८३ मंसिर ९ (नोभेम्बर २५, २०२६)
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ मा गैरआवासीय नेपाली संघ (एनआरएनए) का खेलाडीले पौडीतर्फ उत्कृष्ट प्रदर्शन गर्दै हालसम्म ६ स्वर्ण, १ रजत र २ कांस्य गरी कुल ९ पदक जितेका छन्।
एनआरएनएले जारी गरेको प्रेस विज्ञप्तिअनुसार विश्वका १९ देशबाट सहभागी ३९ जना खेलाडीले संघको प्रतिनिधित्व गर्दै प्रतियोगिताका ११ विधाका विभिन्न इभेन्टमा प्रतिस्पर्धा गरिरहेका छन्। जारी २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपमा बुधबारसम्मको नतिजाअनुसार स्वर्ण पदकको आधारमा एनआरएनए पदक तालिकामा दोस्रो स्थानमा रहेको छ।

पौडी विधामा १५ वर्षीया लिली बोहरा सबैभन्दा उत्कृष्ट देखिइन्। उनले महिला ८०० मिटर फ्रिस्टाइलमा ९ मिनेट ३४.०६ सेकेन्डको समय निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितिन्।
उनले महिला २०० मिटर फ्रिस्टाइलमा पनि २ मिनेट १४.०३ सेकेन्डको समयसहित स्वर्ण पदक जितिन्।
प्रतियोगिताको पहिलो दिन लिली बोहराले महिला ४०० मिटर व्यक्तिगत मेड्लेमा ५ मिनेट १७.०१ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जितेकी थिइन्। यसै क्रममा उनले सन् २०१६ मा कायम भएको राष्ट्रिय कीर्तिमान पनि तोडेकी थिइन्। उनले महिला १०० मिटर फ्रिस्टाइलमा कांस्य पदक पनि जितेकी थिइन्।
१६ वर्षीया मिखा काया थापा पनि उत्कृष्ट फर्मेमा देखिइन्। पहिलो दिन उनले महिला १०० मिटर फ्रिस्टाइल र २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी थिइन्।
त्यसपछि उनले महिला ५० मिटर बटरफ्लाईमा ३०.७८ सेकेन्डको समयसहित स्वर्ण पदक जितिन्। महिला १०० मिटर ब्याकस्ट्रोकमा १ मिनेट १३.६२ सेकेन्डको समय निकाल्दै रजत पदक हासिल गरिन्। साथै, महिला २०० मिटर फ्रिस्टाइलमा २ मिनेट १९.६८ सेकेन्डको समय निकाल्दै कांस्य पदक जितिन्।

एनआरएनएले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा संघको सहभागिता तथा खेलाडीहरूले हासिल गरेको उपलब्धिले विदेशमा जन्मेहुर्केका दोस्रो पुस्ताका नेपाली युवाहरूको खेल प्रतिभा, क्षमता र सम्भावनालाई राष्ट्रिय स्तरमा उजागर गरेको जनाएको छ।
विश्वका विभिन्न मुलुकमा रहेर नेपाली खेलकुद क्षेत्रमा योगदान पुर्याउन उत्साहित खेलाडीहरूको सहभागिता गैरआवासीय नेपाली समुदाय र नेपालको खेलकुद क्षेत्रबीचको सम्बन्धलाई थप सुदृढ बनाउने महत्त्वपूर्ण अवसर भएको संघको भनाइ छ।
संघले नेपाली प्रतिभा, क्षमता र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा जोड्ने अभियानमा निरन्तर प्रतिबद्ध रहेको जनाउँदै खेलाडीहरूको हौसला बढाइदिन विश्वभर रहनुभएका गैरआवासीय नेपालीलाई हार्दिक अनुरोध गरेको छ।



