images

Oct 23 2024 | २०८१, कात्तिक ७ गते

सामाजिक सञ्जाल नियमन र व्यवस्थापनका लागि परामर्श सुरु

सामाजिक सञ्जाल नियमन र व्यवस्थापनका लागि परामर्श सुरु

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २१ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २१ २०८०
  • सामाजिक सञ्जाल नियमन र व्यवस्थापनका लागि परामर्श सुरु

    काठमाडौँ । सरकारले नागरिकस्तरबाट प्राप्त आग्रह र सुझावका आधारमा सामाजिक सञ्जाललाई कानुनतः नियमन र व्यवस्थापन गर्न चरणबद्धरुपमा परामर्श सुरु गरेको छ ।  

    images
    images
    images

    समाजका विभिन्न पेसा व्यवसायसँग सम्बन्धित लब्धप्रतिष्ठित व्यक्तिलेसमेत तथ्य–प्रमाणविना सामाजिक सञ्जालमा मनलाग्दी लेख्दा आफूहरूलाई अपूरणीय क्षति भएको भन्दै नियमन र व्यवस्थापनको माग आएपछि सरकारले परामर्श गरी सुझाव माग्न थालेको हो । सो विषयमा सूचना तथा सञ्चार मन्त्रालयले सामाजिक सञ्जाल र विद्युतीय सञ्चारमाध्यमका जानकारहरुसँग परामर्श सुरु गरेको छ । 

    यसै सन्दर्भमा मन्त्रालयले फेसबुक, इन्स्टाग्राम, ट्वीटर र ह्वाट्सएपको मातृ संस्था मेटा कम्पनीका दक्षिण एशिया हेर्ने प्रतिनिधिसँग यही साउन २५ गते छलफलका लागि तयारी गरेको छ भने नेपालका सामाजिक सञ्जाल सञ्चालनकर्तासँग पनि परामर्श लिँदैछ । यही विषयमा प्रेस काउन्सिल नेपालले पनि छलफल आयोजना गर्दैछ । 

    सूचना तथा सञ्चार प्रविधिको व्यापकतासँगै सामाजिक सञ्जालको उपयोग र दुरुपयोग बढ्दो छ भने मिथ्या सूचना, दुुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको नियमन चुनौतीपूर्ण देखिएको छ । हाल सञ्चारमाध्यममाथि अनुगमन गर्ने जिम्मेवारी प्रेस काउन्सिल नेपालमा भए पनि व्यक्ति–व्यक्तिले सामाजिक सञ्जालमा राख्ने पोष्टमाथि अनुगमन गर्ने अधिकार कानुनतः कुनै निकायलाई दिइएको छैन ।

    केही समयअघि नायिका आँचल शर्मा (दवाडी)ले आफू सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचनाबाट पीडित भएको सार्वजनिक गर्नुपरेको थियो । “गर्दै नगरेको र भन्दै नभनेको कुरालाई लिएर विगत दुई तीनदेखि मैले सामाजिक सञ्जालमा अनेक गाली खाइरहेको छु । यस्ता कुरामा धेरै ‘रियाक्ट’ नगरुँ भन्दाभन्दै पनि अब चाहिँ म सहनै नसक्ने भएको छु”, नायिका शर्माले ८ जुलाइमा आफ्नो फेसबुकमा लेख्नुभएको छ, “जस–जसले जसको उक्साहटमा यो सब गरिरहनुभएको छ, तपाईंहरुको समय सकियो । म कानुनी कारबाहीको बाटोमा जान बाध्य भएकी छु । मलाई यातना दिएर सामाजिक सञ्जालमा ‘मेन्टल हेल्थ’को भाषण दिन कृपया बन्द गर्नुस् ।” ‘नेब रिजल्ट एण्ड अपडेट’ नामक फेसबुक पेजमा शर्माले एक पछिल्लो अन्तर्वार्ताका क्रममा निर्देशक दयाहाङ राईबारे अपमानजनक र गालीगलौजपूर्ण भाषा प्रयोग गरेको भनी भ्रमपूर्ण सामग्री पोस्ट गरेको थियो ।

    गत महिना प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधनका दिन अन्त्येष्टि कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा तोसिमा कार्कीको प्रतिक्रिया विवादमा परेपछि डा कार्कीले युट्युबरले आफूले बोलेका विषयवस्तुलाई तोडममोड गरेर प्रसारण गरेको स्पष्टीकरण दिनुपरेको थियो भने त्यसपछि वास्तविक भिडियो सार्वजनिक भएको थियो । 


    केही महिना पहिले सोही पार्टीका सांसद सोविता गौतमको विवाहका सम्बन्धमा पनि यथार्थ नबुझी व्यक्तिगत चरित्रहत्या गराउने खालका सामग्री सामाजिक सञ्जालमा भाइरल भएपनि सांसद् गौतमले त्यस्तो गर्ने सबैलाई एक–एक गरेर साइबर अपराधमा मुद्दा हाल्ने चेतावनी दिएकी थिइन् । 

    साइबार अपराधका मुद्दलाई हाल नेपाल प्रहरीको साइबर ब्युरोले हेर्दै आएको छ । नायिका करिष्मा मानन्धरले पनि आफूलाई गलतरुपमा व्यक्तिगत विषयमा नाम जोडेका विषयमा सार्वजनिक आपत्ति व्यक्त गर्नुपरेको थियो । पछि पीडकपक्षले माफी मागेपछि समझदारी भएको थियो । 

    सूचना प्रविधिको तीव्र विकाससँगै पराम्परागत धर्मसंस्कृति, सामाजिक परिवेश एवं मूल्यमान्यतालाई अपमान गर्ने, समाजमा अफवाह फैलाउने, व्यक्तिको चरित्र हत्या गर्ने, आपराधिक गतिविधिलाई प्रवद्र्धन गर्नेलगायतका गैरकानुनी हर्कतलाई न्यूनीकरण तथा नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गरिएको छ । 

    राजनीतिक पार्टीका नेतागण, राष्ट्रसेवक कर्मचारी, कलाकार, नागरिक क्षेत्रका अगुवा, प्राध्यापक, शिक्षक, व्यावसायी, सामाजिक अभियान्ता, सञ्चारकर्मीलगायतले सामाजिक सञ्जाललाई नियमन तथा व्यवस्थापन गर्नेगरी कानुन ल्याउन अनुरोध गर्दै आएका छन् । 

    सञ्चार मन्त्रालयका प्रवक्ता एवं सहसचिव नेत्रराज सुवेदीले सामाजिक सञ्जाललाई नियमन तथा व्यवस्थापन गर्न विभिन्न क्षेत्रबाट आएको आग्रहका आधारमा सरोकारवाला पक्षसँग छलफल प्रारम्भ गरिएको जानकारी दिए । 

    सरोकारवाला तथा विज्ञसँग हुने चरणबद्ध छलफलपछि मुलुकको संविधान र कानुनको प्रतिकूल नहुनेगरी आवश्यक व्यवस्था गर्ने पक्षमा सरकार रहेको उनको भनाइ छ । प्रवक्ता सुवेदीले भने, “विषयवस्तुहरु खुल्दै आएका छन् । केकस्ता विषयहरु कानुनले सम्बोधन गर्नुपर्ने भन्ने सवालमा जान परामर्श आउनेक्रम जारी रहेको छ तर तत्कालै कानुन बन्ने भन्ने होइन । यसले कानुनको रुप लिन केही समय लाग्नेछ ।”

    सञ्चार मन्त्रालयले डिजिटल नेपाल फ्रेमवर्क, २०७६ पनि जारी गरेको छ भने सोही वर्ष सरकारले सामाजिक सञ्जाल नियमन र व्यवस्थापनका लागि सञ्चालहरुले नेपालको सम्बन्धित निकायमा दर्ता गराउनुपर्ने प्रावधानसहित विधेयकको मस्यदौ तयार गर्दा अभिव्यक्ति स्वतन्त्रतासँग प्रश्न उठेपछि स्थगन भएको थियो । 

    गृह मन्त्रालयले विसं २०७८ मा एक अध्ययन कार्यदल गठन गरी विद्यमान साइबर सुरक्षाका चुनौती एवं साइबर अपराध नियन्त्रलाई प्रभावकारी बनाउने सन्दर्भमा प्रतिवेदन तयार गरेको थियो । उक्त प्रतिवेदन चाहिँ राष्ट्रिय सुरक्षासँग बढी सम्बन्धित देखिन्छ । 

    गत मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका क्रममा सामाजिक सञ्जालबाट हुन सक्ने आचारसंहिताको उलङ्घन रोक्न निर्वाचन आयोगले आयोगले सामाजिक सञ्जालको प्रयोगसम्बन्धी नीति, २०७७ का आधारमा अनुगमन गरेको थियो । सोही आधारमा निर्वाचन आचारसंहिता २०७९ ले मिथ्या सूचना, दुुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको सामना गर्न केही नयाँ व्यवस्था भएको थियो । आयोगले सञ्चार तथा सूचना प्रविधिसम्बन्धी निकायका प्रतिनिधि, विज्ञ र नेपाल प्रहरीको साइबर ब्युरोसमेतका प्रतिनिधि राखेर प्रेस अफिसमार्फत सामाजिक सञ्जालको अनुगमन गरेको थियो । 

    उक्त अनुगमनमाथि विभिन्न कोणबाट क्रिया प्रतिक्रिया आए पनि निर्वाचन व्यवस्थानका क्रममा सही सूचना स्थापित गराउन तुलनात्मकरुपमा प्रभावकारी मानिएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट