Aug 11 2026 | २०८३, साउन २६ गते

आँखा पाक्ने रोगको सङ्क्रमण बढ्दै: पाेखरामा ३ विद्यालय बन्द

आँखा पाक्ने रोगको सङ्क्रमण बढ्दै: पाेखरामा ३ विद्यालय बन्द

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
  • आँखा पाक्ने रोगको सङ्क्रमण बढ्दै: पाेखरामा ३ विद्यालय बन्द

     विद्यार्थीमा आँखा पाक्ने रोगको सङ्क्रमण बढ्दै गएपछि  पोखरा महानगर पालिकाले तीन दिनका लागि महानगरभित्र सञ्चालित विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

    images

    महानगरका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीका अनुसार साउन २४ गते बुधवारदेखि साउन २६ गते शुक्रवारसम्म तीन दिनसम्म महानगरभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत तथा मन्टेसरी विद्यालय बन्द गर्ने निर्णय गरिएको छ।

    पोखरा महानगरका विभिन्न ठाउँमा मानिसमा आँखा पाक्ने रोगले आक्रान्त पारिरहेको र उक्त रोगको प्रभाव विभिन्न विद्यालयमा समेत परिरहेको अवस्थामा सङ्क्रमण चक्र रोक्न महानगरले यो निर्णय गरेको हो।

    महानगरका प्रमुख धनराज आचार्यको संयोजकत्वमा सोमबार बसेको बैठकमा आँखा पाक्ने रोग सङ्क्रमणको जोखिम नियन्त्रणमा लिन तथा बालबालिकालाई सुरक्षित राख्न वर्षे/हिउँदे/स्थानीय बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गर्न लागिएको हो।

    पछिल्ला केही दिनयता देशभर नै आँखा पाक्ने रोग अर्थात् भाइरल कन्जंक्टिभाइटिसको सङ्क्रमण बढ्दै गइरहेको छ। यसबाट विद्यार्थीहरू आक्रान्त बन्दै गएपछि विभिन्न स्थानीय तहले केही दिनका लागि विद्यालय बन्द गरिरहेका छन्।

    चिकित्सकहरूका अनुसार भाइरल कन्जंक्टिभाइटिसप्रति ध्यान दिएर घरमै ध्यान दिएमा एकदेखि दुई हप्तामा आफैं निको हुन्छ। घरमा स्याहार गर्दा आँखा बन्द गरेर बरफले सेक्ने, घाममा निस्कँदा कालो चस्मा प्रयोग गर्ने, आँखा नमिच्ने र आँखामा पानी नछ्याप्ने, आँखा छोइसकेपछि साबुनपानीले मिचिमिची हात धुने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका रूपमा, टावेल, सिरानी, तन्ना आदि हरेक दिन धुने, प्रशस्त मात्रामा पानी र पोषिलो खाना खाने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका सामग्री अरूले प्रयोग नगर्ने लगायतका उपाय अपनाउनुपर्ने सुझाव दिएका छन्।

    स्वास्थ्यकर्मीको सल्लाहबिना जथाभावी औषधि प्रयोग नगर्ने तथा दृष्टि कम हुने लगायतका आँखा सम्बन्धी समस्या बढेमा तुरुन्त स्वास्थ्य संस्थामा जान पनि उनीहरूले सुझाएका छन्।

    हिमालय आँखा अस्पतालका अनुसार यसअघि आँखा पाक्ने बिरामी दैनिक करिब ३० जनासम्म हुने गरेको थियो। पछिल्लो समय बिरामीको चाप एकाएक बढेको छ। यही हप्ता मात्रै आँखा पाक्ने बिरामी एक हजार पाँच सय भन्दा बढी रहेको अस्पतालका मेडिकल डाइरेक्टर इलिया श्रेष्ठले बताइन्।

    उनका अनुसार एडिनो भाइरलकन्जंक्टिभाइटिस भाइरसको सङ्क्रमणपछि आँखा रातो हुने, चिलाउने, बिझाउने, आँखामा चिप्रा लाग्ने तथा पाक्ने समस्या हुन्छ।

    ‘हरेक वर्ष मनसुनको समय आँखामा यस्ता समस्या देखिन्छन् यो सरुवा रोग हो। त्यसैले एउटै घरका धेरै व्यक्तिमा आँखा पाक्ने समस्या देखिएको हो। त्यसैले आँखा पाक्ने समस्या भएको व्यक्तिको रुमाल, चस्मा, साबुन जस्ता वस्तुहरू अन्य व्यक्तिले प्रयोग गर्नु हुँदैन’‚ उनले भनिन्।

    उनले आँखामा कुनै समस्या देखिए आँखा अस्पतालका चिकित्सकसँग परामर्श लिएर मात्रै औषधि प्रयोग गर्न सुझाव दिइन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट