Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

 स्वस्थ हुन दिनमा कति कदम हिँड्नु पर्छ ?

 स्वस्थ हुन दिनमा कति कदम हिँड्नु पर्छ ?

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ३१ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ३१ २०८०
  •  स्वस्थ हुन दिनमा कति कदम हिँड्नु पर्छ ?

    काठमाडौँ । पछिल्लो समय स्मार्टवाच लगाउनेको सङ्ख्या तीव्र रूपमा बढ्दो छ । अझ घडी हेर्दै यति स्टेप्स (कदम) त हिँडिएछ भनेर राहतको सास फेर्नेहरू पनि धेरै छन् । आखिर राम्रो स्वास्थ्यका लागि कति कदम हिँड्नु पर्छ त ? यसबारे सधैँ बहस भइरहन्छ । दिनमा १० हजार कदम हिँड्नुपर्छ । यसो गरे स्वास्थ्यलाई लाभ मिल्छ भनेर कुनै बेला व्यापक चर्चा चलेको थियो । 

    images
    images
    images

    तर अब एक नयाँ बहस सुरु भएको छ । यसअनुसार दिनमा ४ हजार कदम हिँड्नु पर्याप्त छ भनिएको छ । 

    एक व्यक्ति स्वस्थ हुनका लागि दिनमा कति कदम हिँड्ने ? १० हजार वा पाँच हजार ? यो प्रश्नले मानिसलाई अलमलमा पारेको छ ।  युरोपियन जर्नल अफ प्रिभेन्टिभ कोर्डियोलोजीमा छापिएको एक शोध अनुसार एक दिनमा तपाईंले कम्तीमा ३९६७ कदम हिँड्नुभयो भने तपाईंको कम उमेरमा मृत्यु हुने खतरालाई कम गर्न सकिन्छ । 

    यो शोधमा यो पनि भनिएको छ कि २,३३७ कदम मात्रै हिँड्दा पनि मुटुरोबाट मृत्यु हुने खतरालाई ५० प्रतिशतसम्म कम गर्न सकिन्छ ।

    अनुसन्धानकर्ताका अनुसार जति बढी हिँड्नुहुन्छ त्यति नै धेरै फाइदा हुन्छ । यो शोध विश्वभरिका २,२६,००० मानिसमाथि गरिएको छ । 

    शोधका अनुसार ४ हजार कदम हिँडेपछि तपाईं जति हजार कदम हिँड्नुहुन्छ, यसले तपाईंको उमेरलाई १५ प्रतिशतसम्म थप बढाउन सक्छ । विश्व स्वास्थ्य सङ्गठनको आँकडा अनुसार कुनै शारीरिक क्रियाकलाप बिना हरेक वर्ष विश्व भरी ३२ लाख मानिसको मृत्यु हुन्छ । यो विश्व भरी हुने मृत्युको चौथो सबैभन्दा ठुलो कारण हो ।

    बेलायतको बेडफोर्डशायर अस्पताल एनएचएस ट्रस्टमा मुटुरोग विशेषज्ञ डाक्टर नरेन्द्र कुमारका अनुसार हिँड्नु सधैँ हाम्रो दिनचर्याको हिस्सा हो । उनी भन्छन्, ‘हामीलाई हाम्रा हजुरबुवा–हजुरआमाले पनि ‘यसो हिँड, तन्दुरुस्त हुन्छौ’ भन्ने गर्नुहुन्छ ।’

    उनी भन्छन्, ‘यस अनुसन्धानले यो कुरालाई पुनः केन्द्रमा ल्याएको छ । यदि तपाईं कुनै प्रकारको व्यायाम गर्न सक्नुहुन्न भने कम्तीमा यति कदम त हिँड्नुहोस् । तौल धेरै भएकाहरूले ‘अरे, हामी कसरी यति धेरै हिँड्न सक्छौँ’ भन्ने गरेको सुनिन्छ । तर यदि तपाईंले कम कदमसँगै यसको सुरुवात गर्नुहुन्छ भने पनि त्यो राम्रो कुरा हो किनभने तपाईंले सुरुवात त गर्नुभयो ।’

    नरेन्द्र कुमारका अनुसार समस्या त्यति बेला सुरु हुन थाल्छ जब हामी लामो समयसम्म बसिरहन्छौँ ।

    तर चर्चित डायटिसियन तथा वन हेल्थ कम्पनीकी संस्थापक शिखा शर्मा यसमा विमति राख्छिन् ।

    उनी भन्छिन्, ‘४००० कदम असाध्यै कम हो । यति त जिउँदो रहनका लागि मात्रै ठिक छ । यो न्यूनतम अङ्कले पास हुनु सरह हो । तर यसले तपाईंलाई स्वस्थ राख्दैन, जिउँदो भने राख्छ ।’

    ‘दिनमा ४००० कदम हिँडेर फिट हुन्छु, तौल पनि कम हुन्छ भन्ने सोच्नुहुन्छ भने यो गलत हो । यसका लागि तपाईंले थप मेहनत गर्नुपर्छ ।’

    पोल्यान्डकी लड्ज युनिभर्सिटी र अमेरिकाको जोन हप्किन्स युनिभर्सिटीको स्कुल अफ मेडिसिनको अनुसन्धान टोलीले विश्वको कुनै पनि कुनामा भएका जुनसुकै उमेर समूहका मानिसका लागि हिँड्नु लाभदायी भएको बताएको छ ।

    यो शोधमा संलग्न लड्ज युनिभर्सिटीका प्राध्यापक माचे बनाख भन्छन्, ‘विश्व भरी उपचारका लागि औषधीको उत्पादन बढिरहेको भएपछि औषधी मात्रै पनि उपचारमा प्रभावकारी हुँदैन ।’

    ‘हामीले आफ्नो जीवनशैली फेर्ने कुरामा पनि ध्यान दिनुपर्छ जस्तै – हाम्रो खानपान, व्यायाम । यो हाम्रो अध्ययनको महत्त्वपूर्ण कुरा हो । लामो उमेर र मुटुरोग सम्बन्धी रोगको खतरालाई कम गर्नका लागि हिँड्नै पर्छ । यो औषधी जत्तिकै वा सोभन्दा पनि बढी प्रभावकारी हुनसक्छ ।’ 

    हिँड्नुका फाइदा

    हिँड्नुका फाइदाबारे जानकारी दिँदै डाक्टर नरेन्द्र भन्छन्, ‘मानिसको शक्ति स–सानो कुराले बन्ने गर्छ । कुनै शारीरिक गतिविधि बिना तपाईंको मेटाबोलिजम रेट कम हुन थाल्छ । यसको असर तपाईंको मांसपेशीमा देखिन थाल्छ । ’

    ‘यस्ता धेरै कारक छन् जसले हाम्रो स्वास्थ्यलाई प्रभावित पार्छन् । उदाहरणका लागि हाम्रा आसपासका रङले पनि आफ्नो स्वास्थ्यमा असर पारिरहेको हुन्छ । घर बाहिर टहल्दा हरियाली देखिन्छ, अक्सिजन बढी मात्रामा पाइन्छ । यी सबै कुराले तपाईंको तनाव कम गर्छ । तर बाहिरको वातावरण प्रदूषित हुन्छ भने बाहिर नहिँड्नुहोस् । तर व्यायाम भने गर्नुपर्छ ।’

    उनी भन्छन्, ‘हिँड्दा तपाईंको रक्तचाप कम हुन्छ । यसले मांसपेशीलाई बलियो बनाउन सक्छ । हिँड्दा तपाईंको ऊर्जाको स्तर पनि बढ्छ । नियमित व्यायामले तपाईंको शरीर एन्डोर्फिन, डोपामाइन र सेरोटोनिन हर्मोन रिलिज गर्छ जसले तपाईंको तनावको स्तरलाई कम गर्छ ।’

    शरीरमा व्यायामको फाइदामाथि गरिएको शोधमा हिँड्दा तपाईंको शरीरमा मात्रै होइन मानसिक स्वास्थ्यमा पनि लाभ मिल्छ । मधुमेहका बिरामीका लागि पनि हिँड्नु फाइदाजनक छ । यसले उनीहरूको सुगरको नियन्त्रणमा राख्न मद्दत मिल्छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार