शिक्षक, प्राध्यापकलाई मन्त्री पुनको सुझाव - 'चुनाव प्रचारमा लागेर पठनपाठन नछोड्नु’
शिक्षक, प्राध्यापकलाई मन्त्री पुनको सुझाव - 'चुनाव प्रचारमा लागेर पठनपाठन नछोड्नु’
काठमाडौँ । शिक्षक, प्राध्यापक, कर्मचारी राजनीतिक दलमा लागे कारबाही गर्ने निर्णयको आलोचना भएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सोमबार प्रतिक्रिया दिएका छन् ।
चुनाव प्रचारमा लागेर पठनपाठन नछाड्न उनले आग्रहसमेत गरेका छन् । ‘फागुन २१ गतेको चुनाव प्रचारप्रसारमा २४ सै घण्टा लागेर स्कुलमा पठनपाठन गर्न नछोड्नु होला भन्ने विनम्र अनुरोध गर्दछु,’ उनले भने । राजनीतिक दल निकट शिक्षक, प्राध्यापक संघसंगठनका पदाधिकारीले मन्त्री पुनको आइतबारको निर्णय संविधान, ट्रेड युनियन अधिकारविपरीत रहेको दाबी गर्दै आलोचना गरेका थिए । त्यसको जवाफ सामाजिक सञ्जालमा लेख्दै शिक्षामन्त्री पुनले भनेका छन्, ‘संविधानले दिएको अधिकार कसैले खोस्न सक्दै सक्दैन । तर राजनीतिक पार्टीहरुको संरक्षणमा विद्यालय र विश्वविद्यालयहरुको सञ्चालनमा बाधा अड्चन पुर्याउन र विद्यार्थीहरुको भविष्यसँग खेलबाड गर्न पाइनेछैन भनेर सूचना गरेको हो ।’
आइतबार मन्त्री पुनले राजनीतिक दलमा आबद्ध शिक्षक, प्राध्यापक र कर्मचारीका संघसंगठनलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको थिए । मातहतका निकायलाई सर्कुलर गर्दै सरकारी सेवामा कार्यरत शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको र त्यस्तो पाइएमा पदबाट बर्खास्त गरिने जनाएका छन् ।
पुनले जारी गरेको जानकारी र ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘कुनै पनि पेसागत ऐनहरुले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेसागत हकहित र अधिकार प्राप्तिको सौदाबाजी गर्नेबाहेक अन्य राजनीतिक गतिविधिमा संग्लन हुने अधिकार दिएको छैन र राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिनेसम्मको कानुनी कारबाही हुने व्यवस्था रहेको विषयमा ध्यानकर्षण गराउँछु ।’
