Sep 08 2024 | २०८१, भदौ २३ गते

मुस्ताङका छ स्थानमा पर्यटन पूर्वाधार निर्माण

मुस्ताङका छ स्थानमा पर्यटन पूर्वाधार निर्माण

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन १ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन १ २०८१
  • मुस्ताङका छ स्थानमा पर्यटन पूर्वाधार निर्माण

    म्याग्दी । मुस्ताङका छ पर्यटकीयस्थलमा पूर्वाधार निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पर्यटन तथा उद्योग कार्यालय मुस्ताङले कार्यान्वयन गरेका योजनामार्फत दुई किलोमिटर पदमार्ग निर्माण भएको हो । 

    images
    images

    कार्यालय प्रमुख प्रेमप्रसाद पौडेलले रु ८० लाख बजेट विनियोजन भएका छवटा योजना कार्यान्वयन भएको जानकारी दिए । “मुस्ताङमा पर्यटकको बसाइ लम्ब्याउन र धार्मिक पर्यटकीयस्थलको सौन्दर्यीकरण तथा मर्मतमा बजेट परिचालन भएको छ”, उनले भने ।

    घरपझोङ गाउँपालिका–२ मा पर्ने मार्फा गाउँमा रु ३० लाख बजेटबाट हिसरुङ गुम्बा र स्याउ उद्यान जोड्ने ढुङ्गाको सिँढी बिछ्याएर पदमार्ग निर्माणका साथै सौन्दर्यकरण गरिएको छ । मार्फा गाउँको शिरमा रहेको स्याउ उद्यान जाने पदमार्गको डिलमा बत्ती जडान गरेर रातको समयमा झलमल्ल देखिने बनाइएको छ । 

    बेनी–जोमसोम सडक निर्माणपछि विस्थापित भएको पदमार्गको विकल्पमा थासाङ गाउँपालिकाको पहिरोथाप्ला हुँदै कुञ्जो–लेते जाने भिरमा पदमार्ग निर्माण भएको छ । घासापारिको कालीगण्डकी तिरको भिरमा पहाड प्वाल पारेर रड राखी पर्खाल उठाएर करिब पाँच सय मिटर पदमार्ग बनाइएको हो । 

    थासाङ गाउँपालिकाको कालोपानीदेखि थुले हुँदै स्याकुभ्रासम्म लोपोन्मुख वन्यजन्तु तथा डाफे, मुनाल, चिर कालिज अवलोकन गर्ने साइकलमार्ग बनाइएको छ । रु १० लाख बजेटबाट ढलान, सोलिङ र ग्राभेल गरेर छ सय मिटर साइकलमार्ग निर्माण भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिए । 

    रु १० लाख बजेटबाट जोमसोम विमानस्थलमा निर्माण भएको भवनमा पर्यटक सूचना केन्द्र सञ्चालनको तयारी भएको छ । रु १०/१० लाख बजेटबाट लोमान्थाङ गाउँपालिका–३ को थिङ्गरमा माने निर्माण, लोमान्थाङदेखि ढिकी जाने दुई सय मिटर पदमार्ग र नाख्पा गुम्बाको मर्मत गरिएको कार्यालय प्रमुख पौडेलले बताए । 

    आर्थिक वर्ष २०८१/८२ मा ११ वटा पर्यटकीय पूर्वाधार योजनाका लागि प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मुस्ताङमा रु दुई करोड १५ लाख बजेट बिनियोजन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट