Sep 08 2024 | २०८१, भदौ २३ गते

संसद् भवन निर्माण शीघ्र सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन

संसद् भवन निर्माण शीघ्र सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन ४ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन ४ २०८१
  • संसद् भवन निर्माण शीघ्र सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन

    काठमाडौँ । सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको काम सन्तोषजनक नभएको बताएका छन् ।  तीन वर्षमा सक्ने गरी २०७६ असोज १६ गते निर्माण व्यवसायीसँग सम्झौता भएको संसद् भवनको काम समयमा सम्पन्न नभएपछि आज उहाँले सिंहदरबारमा सरोकार भएका निकायका अधिकारीहरुलाई बोलाएर जानकारी लिएका हुन् ।

    images
    images

    यसअघि निर्माणाधीन संसद् भवनका १२ वटै संरचना मङ्सिर मसान्तसम्म सकेर आगामी हिउँदे अधिवेशन आफ्नै भवनमा गर्ने भनी ‘माइन्युट’ गरिएकाले त्यसैअनुरुप गर्न सभामुख घिमिरेले निर्देशन दिए । 
     
    “भवनमा अहिले सात इञ्चको टेलिभिजन स्क्रीन राखिएको रहेछ, बजारमा १५ इञ्चसम्मको स्क्रीन आइसकेको छ, ठूला स्क्रीनमा अक्षर पनि ठूला आउँछ, यस विषयमा ध्यान पु-याउनुपर्छ, भवन निर्माण प्रगतिका बारेमा एक महिनापछि फेरि समीक्षा बैठक हुन्छ, अब थपिएको समयमा सक्नेगरी काम हुनुपर्छ”, उनले भने । 
     
    बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भवनको म्याद सकिएपछि थप्ने आधार प्रष्ट हुनुपर्ने उल्लेख गर्दै संसद् भवन अन्तर्राष्ट्रिय छविको राष्ट्रिय सम्पत्ति भएकाले आकर्षक रुपमा साजसजावट गरिनुपर्ने बताए । सात इञ्चको टेलिभिजन स्क्रीनमा सांसदको टाउको पनि नदेखिने भएकाले त्यसमा पुनर्विचार गरिनुपर्ने उनको भनाइ थियो ।

    अनामनगरतिरको ढोकाबाट सांसदको प्रवेश गराउने भनिएकाले एकैपटक सयौँ गाडी प्रवेश गर्दा त्यस क्षेत्रमा हुने जामका विषयमा अहिले नै सोच्नुपर्नेमा अध्यक्ष दाहालले जोड दिएका थिए ।
     
    उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद् भवन राष्ट्रिय प्राथमिकताको आयोजना भएकाले यसको काम गुणस्तरीय रुपमा समयमै सकिनुपर्ने बताए । निर्माण व्यवसायीले ठेक्का लिइसकेपछि काममा ढिलाइ गर्ने गरेकाले समस्या आएको उल्लेख गर्दै उनले समस्या समाधानका लागि सरोकार भएका निकायको ध्यान जानुपर्नेमा जोड दिए ।
     
    उपसभामुख इन्दिरा रानाले संसद् भवनको आन्तरिक साजसजावटमा सम्झौता बाहिरका सामग्री राखिनु नहुने बताए । तोकिएका समयमा गुणस्तरीय रुपमा काम सम्पन्न गरिनुपर्ने उनको भनाइ थियो । 

    राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले मङ्सिरसम्म संसद् भवन निर्माण सम्पन्नगरी हिउँदे अधिवेशन त्यहीँबाट गरिनुपर्नेमा जोड दिए । सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले आगामी हिउँदे अधिवेशनसम्म प्रतिनिधिसभा र राष्ट्रियसभाका भवन सक्नेगरी काम गरिने बताए । निर्माण व्यवसायीलाई दैनिक रु पाँच सय कामदार लगाएर काम गर्न निर्देशन दिए पनि हाल करिब एक सय ५० ले मात्र काम गरिरहेको जानकारी पनि उनले दिए ।
     
    सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक मचाकाजी महर्जनले हालसम्म ८१.५ प्रतिशत भौतिक र ७० प्रतिशत वित्तीय प्रगति भएको जानकारी दिए। आयोजनाका सबै काम सम्पन्नगरी हस्तान्तरण गर्न २०८१ चैत १८ गतेसम्मको समय थप गरिएको जानकारी पनि उनले दिए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट